साउदी गएकी महिला ११ वर्षदेखि बेपत्ता
धादिङ: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गएकी उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत साबिकको झार्लाङ गाउँ विकास समिति १ च्याम्थलीकी मरिमाया तामाङ ११ वर्षदेखि घरपरिवारसँग सम्पर्कमा आएकी छैनन्।
मरिमाया २०६३ साल माघमा रोजगारीका लागि गाउँकै एक महिलाको सम्पर्कमा साउदी गएको परिवारले जनाएको छ । साउदी गएको ६ महिनापछि परिवारसँग सम्पर्क भए पनि त्यसयता बेखबर भएको मरिमायाका बुबा बैछिरिङ तामाङले बताए। उनले भने, ‘साउदी पुगेको ६ महिनापछि हामीलाई फोन गरेर काम गर्न थालेको बताएकी थिइन्, साहुको घरमा एकजना अपांग छोरीको हेरविचार गर्ने काम हो, काम पनि सजिलै छ भनेकी छोरी त्यो दिनदेखि बेखबर छिन्।'
११ वर्षदेखि दिनहुँ छोरी सम्झिरहेकी हुन्छिन् मरिमायाकी ५६ वर्षीया आमा सात्री तामाङ। २० वर्षको कलिलो उमेरमा विदेश गएकी छोरी ११ वर्षसम्म सम्पर्कमा नआएपछि तामाङ परिवार चिन्तित बनेको छ। रोजगारीका लागि घरकी जेठी छोरी विदेश गएपश्चात् परिवार नै समस्यामा परेको छ।
मरिमायाकी आमा सात्रीले भावुक हुँदै भनिन्, ‘नेपाली बोल्न राम्रोसँग जानेकी पनि थिइनँ, तामाङ भाषा भने सबै आउँथ्यो, विदेश पुगेर काम गर्न थालेकी छु भनेर फोन गर्दा खुसी लागेको थियो तर त्योपछि अहिलेसम्म छोरीको आवाज सुन्न पाएको छैन।' कमाउन गएकी छोरीको कुनै अत्तोपत्तो नलागेपछि आमा चिन्तित छिन्। सात्री छोरी सम्झेर दिनहुँ रुन्छिन्।
‘आफैले घरबाट विदा गरेर विदेश पठाएकी छोरी घर फर्किन, बेखबर भई भनेर भन्न पनि कहाँ जाने ? ' मरिमायाका ६८ वर्षीय बुबा बैछिरिङले भने, ‘कमाएर बुबालाई घर चलाउन सघाउँछु भनेकी थिई, अहिलेसम्म आइन, के गर्ने, के नगर्ने भइरहेका छौं।' छोरी खोजी गरिदिन निवेदन दिन जिल्ला सदरमुकाम धादिङबेसी आइपुगेकी सात्रीले छोरी फर्केर आउने विश्वास गर्दै भनिन्, ‘छोरी आउने बाटो हेरेको पनि ११ वर्ष भइसकेछ। छोरी जहाँ भए पनि केही पनि नभएको होस्।'
छोरीलाई विदेश पठाउने सम्पूर्ण व्यवस्था मिलाइदिएका गाउँकै शेरबहादुर तामाङ पनि अहिले जेलमा छन्। धादिङबेसी आएर पासपोर्ट बनाउनेदेखि सबै काम शेरबहादुरले नै गरिदिएकाले छोरीका बारेमा उसलाई केही थाहा हुनसक्ने बैछिरिङले बताए। शेरबहादुर भने गाँजा ओसारपसार मुद्दामा अहिले जेल सजाय भुक्तान गरिरहेका छन्।
छोरी साउदी पठाउँदा बैछिरिङलाई ३० हजार रुपैयाँ ऋण लागेको थियो जुन आजसम्म तिरिसकेको छैन । मरिमायाकी आमाले मामासँग २० हजार र काकासँग १० हजार गरी जम्मा ३० हजार रुपैयाँ ऋण खोजेर छोरीलाई साउदी पठाएका थिए।
मरिमायाले विदेशबाट फोन गरेको ००९६६५०२०६९१४५ नम्बर तामाङ दम्पतीसँग अहिले पनि सुरक्षित छ तर अहिले यो नम्बरमा फोन गर्दा केटा मानिसले उठाउने र अरेबियन भाषामा कुरा गर्ने गरेको आमा सात्रीले बताइन्।
बैछिरिङले भने, ‘छोरीले विदेशबाट कमाएर पठाउछु भनेकी थिई तर अहिलेसम्म आफैं बेपत्ता छे।' छोरीको खोजीका लागि धादिङबेसीमा रहेको सूचना तथा परामर्श केन्द्रमा तामाङ दम्पतीले निवेदन दिएका छन्। सूचना तथा परापर्श केन्द्री संयोजक गंगा सुवेदीले भनिन्, ‘मरिमायाको पासपोर्ट साइजको फोटोबाहेक विदेश गएको अरू कुनै पनि डकुमेन्ट छैन । त्यसैले उनको खोजीकार्यमा समस्या भइरहेको छ । तर पनि हामीले हाम्रो माध्यमबाट सबै ठाउँमा मरिमायाको सूचना पठाएका छौं।'