बनिसक्नुपर्ने बेलामा बल्ल शिलान्यास

बनिसक्नुपर्ने बेलामा बल्ल शिलान्यास

काठमाडौं: सरकारको प्रतिबद्धता र अखिल नेपाल फुटबल संघ (एन्फा) को सक्रियता देखिएको भए ललितपुरस्थित च्यासल फुटबल स्टेडियमको निर्माणकार्य यतिबेलासम्म सम्पन्न भइसक्नुपर्ने थियो। तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा र विश्व फुटबल महासंघ (फिफा) को त्रिपक्षीय सहयोगमा निर्माण गर्न लागिएको च्यासल स्टेडियमको नियति हालसम्म पनि उस्तै छ।

दुई वर्षअघि नै च्यासल मैदान निर्माणका लागि तत्कालीन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे पनि निर्माणकार्य अझसम्म सुरु हुन सकेको छैन। सम्झौतापत्रमा हस्ताक्षर भएको दुई वर्षसम्म पनि निर्माणकार्य सुरु नभएको च्यासल रंगशालाको बुधबार युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले शिलान्यास गरेका छन्।

नेपालको एकमात्र दशरथ रंगशाला भूकम्पका कारण दयनीय अवस्थामा पुगेपछि दुई वर्षअघि च्यासललाई वैकल्पिक रंगशाला बनाउने सम्झौता भएको थियो। त्यतिबेलाको सम्झौताअनुसार १५ महिनाभित्र च्यासल स्टेडियमको निर्माणकार्य सम्पन्न भइसक्नु पर्ने थियो। मैदानको शिलान्यास गर्दै मन्त्री केसीले नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलकुदको भौतिक संरचनाको निर्माणकार्यलाई तीव्रता दिने क्रम सुरु भएको बताए।

मन्त्री केसीले यसअघि नै बनिसक्नुपर्ने संरचना प्राविधिक कारणले रोकिए पनि अब निर्माण कार्यले तीव्रता पाउने बताए। ‘बजेटको अभावमा नेपाली खेलकुदको कुनै पनि निर्माणकार्य रोकिने छैन। खेलकुदको विकासका लागि म कुनै पनि कसर नराखी काम गर्नेछु। १३औं सागलाई भव्य र सभ्य बनाउन सबै खेलप्रेमी एकजुट भएर काम गर्नु आवश्यक छ', केसीले भने।

च्यासल मैदानलाई १३औं सागमा खेल्न योग्य बनाइने प्रतिबद्धतासमेत खेलकुदमन्त्रीले व्यक्त गरे । हालै खेलकुदको जिम्मेवारी सम्हालेका मन्त्री केसीले आफू जिम्मेवारीमा आएपछि भौतिक संरचना निर्माणका लागि गरेको यो चौथो शिलान्यास हो। जिम्मेवारी सम्हालेलगत्तै उनले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हिटिङ पौडी पोखरीको शिलान्यास गरेका थिए।

यसैगरी एक साताअघि मन्त्री केसीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा बहुउद्देश्यीय कभर्डहलको शिलान्यास गरेका थिए। त्यसको दुई दिनपछि नै उनले राखेपको प्रशासनिक भवनको शिलान्यास गरेका थिए।

१५ हजार दर्शक क्षमताको च्यासल स्टेडियम निर्माणका लागि ३३ करोड ५० लाख रुपैयाँ खर्च हुने बताइएको छ । निर्माणका लागि डीपीआरसहित टेन्डरको कामसमेत सकिएकोले एक दुईदिनभित्रै निर्माण कार्य सुरु हुने राखेपका सदस्यसचिव केशवकुमार विष्टले बताए।

‘एउटामात्र रंगशाला भएको काठमाडौंमा च्यासल मैदानको निर्माणपछि फुटबल खेलको गतिविधि सञ्चालनका लागि सहज हुनेछ। सागमा हामी यही मैदानमा खेल खेलाउन सक्नेछौं।अभ्यासका लागि एपीएफ र आर्मीको मैदान उपयोग गर्न सकिन्छ। च्यासल मैदानको जग्गा ललितपुर महानगरपालिकाको भएकाले यो मैदान महानगरको गहना पनि हो', विष्टले भने।

मैदानको पश्चिम भागमा गाडी पार्किङको व्यवस्था गरिनेछ। यसअघि उक्त मैदानमा सानातिना फुटबल खेल आयोजना हुँदै आएको थियो। एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले च्यासलको स्टेडियम र मैदान निर्माणमा फिफाको समेत ठूलो सहयोग हुने बताए। ‘यो मैदान कृत्रिम घाँस र प्रकाश (एस्ट्रो टर्फ र फ्लड लाइट) सहितको हुनेछ। च्यासल रंगशालाका लागि फिफाका प्राविधिकले माटोसमेत परीक्षण गरिसकेकाले यो मैदान स्तरीय हुनेछ,' श्रेष्ठले भने।

मैदान निर्माणका लागि फिफाले १० करोड रुपैयाँ सहयोग गर्नेछ। फुटबल रंगशालासँगै च्यासलमा छुट्टै फुटसल कोर्ट पनि निमार्ण गरिनेछ। एन्फाले च्यासल मैदानमा रहेको जग्गा ललितपुर महानगरपालिकासँग २५ वर्षका लागि लिजमा लिएर फुटबल गतिविधि सञ्चालन गर्दै आएको छ। नयाँ रंगशाला बन्ने भएपछि एन्फाले महानगरपालिकासँग थप ३० वर्षका लागि सम्झौता गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.