विश्वास बहुउद्देश्यीय सहकारी १९औं वर्षमा
काठमाडौं: विश्वास बहुउद्देश्यीय सहकारी संस्था १९औं वर्षमा प्रवेश गरेको छ। २०५६ सालमा २९ लाख १४ हजार ७१७ रुपैया संकलन गरी कारोबार सुरु गरेको संस्थाले आर्थिक वर्ष २०७३/७४ सम्म आइपुग्दा १९ करोड ३४ लाख सेयर पुँजी संकलन गरेको संस्थाका अध्यक्ष रमेश गौतमले जानकारी दिए।
कार्यक्रममा पूर्वअर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थालाई व्यवस्थित गर्न सहकारी नीति बनाउँदा विज्ञलाई समेट्नुपर्नेमा जोड दिए। नीतिनियम बनाउँदा विज्ञलाई नसमेटिएकाले रहेक निकायको नीति फितलो भएको मन्त्री पाण्डेले बताए। जनताको पैसा जोखिममा पर्न नदिन लगानीको विकल्प खोज्न पनि सहकारीलाई उनले आग्रह गरे।
कुनै पनि व्यक्तिले आफूलाई आवश्यक पर्ने धन आफै कमाउनुपर्ने र पुर्खाको धनको भर पर्न नहुने उनले बताए। प्रत्येक व्यक्तिलाई व्यवसायी बन्नसमेत उनले आग्रह गरे। कुनै पनि देशको आर्थिक उन्नति हुन त्यस देशका मानिस उद्यमी र व्यावसायिक बन्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा संस्थाका सल्लाहकार नारायण घोरासैनीले राज्यका तर्फबाट सहकारीलाई अन्यायमा पारेको आरोप लगाए। उक्त अवसरमा विभिन्न संस्थाका क्रियाशील कर्मचारी तथा प्रतिनिधिलाई नगदसहित सम्मानसमेत गरिएको थियो।