१८ सिँचाइ आयोजनामा क्षति

१८ सिँचाइ आयोजनामा क्षति

राजविराज : सप्तरीमा साउन अन्तिम साता आएको बाढीले नौ हजार हेक्टर खेतीयोग्य जमिनमा सञ्चालित १८ वटा सिँचाइ आयोजनामा पूर्णरूपमा क्षति पुगेको छ । सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीद्वारा सञ्चालित नयाँ तथा पुराना सिँचाइ आयोजनाको करिब ४० करोड रुपैयाँबराबरको क्षति भएको कार्यालयले जनाएको छ । यसले सिँचाइको काम पनि प्रभावित भएको छ ।

कार्यालय प्रमुख अशोक साहका अनुसार जिल्लाको खाँडो, महुली, जिता, खडक, बिहुल र त्रियुगा तथा सप्तकोसी नदीको बाढीसँगै बालुवा, ढुंगा तथा माटोले सिँचाइ आयोजना पुरिँदा ४० करोड रुपैयाँको क्षति भएको हो । कार्यालयबाट प्राप्त विवरणअनुसार खडक सिँचाइ आयोजना कल्याणपुरमा बाढीले हेडवर्क तथा गाइड बैंक भत्केको, पाची सिँचाइ आयोजना अर्नाहामा बालुवा पुरिएर क्षति पुगेको, सहिद गोविन्द दह सीतापुर आयोजनाको बैंक फुटेको र रिटेलिङ वाल भत्केको, बलान सिँचाइ आयोजना मल्हनिया बालुवाले पुरिएको तथा बैंकसमेत बगाएको, बिहुल सिँचाइ आयोजना हेडवर्क भत्केको र पश्चिम तर्फबाट बैंक भत्काइ खोला पसेको छ ।

त्यस्तै क्षतिग्रस्त आयोजनामा सुरुंगा सिँचाइ आयोजना पोखरिया बालुवाले पुरेको, महुली सिँचाइ आयोजना जन्डौलमा खोला सिफ्ट भएको, बिघना सिँचाइ आयोजना कुशहाको हेडवर्क ओभरटर्न भएको, अमसोत सिँचाइ आयोजना प्रसवनीको हेडवर्क ओभरटर्न भएको, खडक सिँचाइ आयोजना मैनासहस्रबाहुको बैंक कटान भएको छ ।

 

त्यस्तै बलान सिँचाइ आयोजना हर्दिया, देवधार सिँचाइ आयोजना जमुवा, पौडा सिँचाइ आयोजना, सुन्दरी सिँचाइ आयोजना धर्मपुर कुलोले पुरिएको र ठाउँ-ठाउँमा भत्केको, सिरेला बाँध सिँचाइ आयोजना बनौलीको बाँध बगाएको, भोक्रादह सिँचाइ आयोजना शम्भुनाथ ३ डगराहीको स्यिपल वे भत्केको र कुलो पुरिएर फुटेको, अमहा सिँचाइ आयोजना मल्हन्मा बाँधमा पूर्णरूपमा क्षति पुगेको, डुम्बर जोर सिँचाइ आयोजना हरिहरपुरको हेडवर्क र बैंक क्षतिग्रस्त भएको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ ।

कार्यालयका अनुसार क्षतिग्रस्त आयोजना तत्काल सञ्चालन गर्न १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पूर्णरूपमा आयोजना सञ्चालन गर्न ४० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने बताइएको छ । उक्त १८ वटा आयोजनाको सञ्चालनबाट सप्तरीको नौ हजार हेक्टर खेतीयोग्य जमिन सिँचाइ हुँदै आएको कार्यालय प्रमुख साहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.