रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
बुटवल : महेन्द्र राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह, भलुही नजिकै भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विपरीत दिसाबाट गुडिरहेका दुई मोटरसाइकल ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते छन्।
मृतकमध्ये एक जना युवक रुपन्देहीको सैनामैना नगरपालिका पर्रोहाका खेमराज थापा हुन् । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्का युवकको पहिचान हुन सकेको छैन ।
घाइते हुने सुनवल नगरपालिका खुनहवा नवलपरासीका दिवाकर यादव र सुमन कुँवर रहेको प्रहरीले जनाएको छ । कुँवर मृतक थापाले चलाएको बाइकको पछाडि बसेका थिए । लु ३३ प ७०८३ र लु २३ प १०२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
ठोक्किएका मोटरसाइकल नै क्षतविक्षत भएकाले तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घाइते दुई जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।