पाशुपत क्षेत्रमा तीजको रौनक (फोटोफिचर)
काठमाडौं: हरितालिका (तीज) का अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा तीजको रौनक छाएको छ। पशुपतिनाथको पूजा र दर्शनका लागि तीज ब्रतालु महिला भक्तजनको भीड लागेको छ भने तीज गीतमा नाचगानले उत्साह थपिएको छ।
विशेषगरी ब्रतालु महिलाहरुले पशुपति परिसर र आसपासमा तीजको गीत गाउँदै नाँचगान गरिरहेका छन्। उनीहरुले नाचगानले पशुपति दर्शनार्थीहरुलाई उमङ भरिदिएको छ।
भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले बताए।
पहिलो लाम बनकाली-पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी-भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट-उमाकुण्ड-रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था छ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार साँझ ६ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ।
तस्बिरहरु: सुलभ श्रेष्ठ/ सरोज बैजू