पहिरो पीडितलाई महिना पुग्ने खाद्यान्न सहितको राहत
फिदिम: बाढी र पहिरोले सडक अवरुद्ध भई गाँउसम्म सवारी सधान गुड्न नसक्दा खाद्यान्नको अभाव समेत झेलिरहेका फालेलुङका पहिरो पीडितहरुलाई खाद्यान्न सहित राहत प्रदान गरिएको छ।
गत शुक्रबारको पहिरोले विस्थापित बनाएका फालेलुङका एक सय १३ घरपरिवारलाई एक महिना पुग्ने खाद्यान्न सहित राहत प्रदान गरिएको हो।
जिल्ला दैवि प्रकोप उद्धार समितिले फालेलुङ ३ को माङ्लेबुङ, खोलाघारी, बिकटे र फालेलुङ-१ को चुक्पादिनका पहिरो पीडितलाई राहत प्रदान गरेको हो।
३० किलो चामल, तीन किलो दाल, तीन प्याकेट नुन र दुई लिटर तेल सहति पीडितहरुलाई नगद प्रदान गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले बताए।
'सबै पीडितहरुलाई राहत प्रदान गरिएको छ,' खड्काले भने 'जताततै सडक भत्किएर लामो समयदेखि खाद्यान्न ढुवानी गर्न नसकेर भोकमरिको सिकार बन्न लागेका पीडितहरुलाई खाद्यान्न प्रदान गरेपछि निकै राहत महशुस गरेका छन्।'
पहिरोबाट विस्थापित भएका दुई सय दुइ जनलाई २१ सयको दरले रकम समेत प्रदान गरिएको छ। रेडक्रसले पनि एक सय १३ घरपरिवारलाई त्रिपाल सहित लत्ताकपडा लगायको राहत प्रदान गरेको छ।
नेपाली काँग्रेस जिल्ला कार्या समिति पाँचथरले पनि एक लाख रुपैँया पहिरोपीडितहरुलाई सहयोग गरेको छ। काँग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले पहिरो प्रभावित क्षेत्र फालेलुङ ३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले संकलन गरेको २५ हजार र पार्टीका नेताहरुबाट संकलन भएको ७५ हजार गरि एक लाख रुपैँया पीडिहरुका लागि प्रदान गरिएको सभापति केरुङले बताए।
त्यतै पहिरोमा परि ज्यान गुमाएका फालेलुङ-१चुक्पादिनका तिलोचन विकको परिवालाई दैवि प्रकोप उद्धार समितिले दुई लाख रकम प्रदान गरेको छ। बिकको गत शुक्रबारको पहिरोमा परि ज्यान गएको थियो।
शुक्रबारकै पहिरोमा परि ताङ्लेपाको विकटेमा ज्यान गुमाउने गंगामायाको परिवारलाई भने राहत प्रदान गर्न काँकी छ। शुक्रबारको पहिरोले एकै परिवारका तीन जनालाई बगाएको थियो। जसमध्ये बुवा विष्णुभक्त र नातिनी प्रिया राइलाई अझै भेटिएको छैन।
पहिरोमा परि बेपत्ता भएको १५ दिन काटेपछि उनीहरुको परिवारलाई मृतकले पाउने राहत बराबर राहत प्रदान गरिने प्रजिअ खड्काले जानकारी दिए।