देउवाले भगवान पुकारे, मोदीले मधेसको मुद्दा उठाए
नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुनेगरी संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले असन्तुष्ट सबै वर्ग र समुदायलाई समेटेर संविधान संशोधन गर्ने भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाइ आश्वस्त पारे ।
भारतको चासो रहेको संविधान संशोधनको प्रस्ताव संसदमा पुर्याएका देउवा त्यसलाई स्वीकृत गराउन सफल नभएका कारण पनि भारतीय प्रधानमन्त्री मोदीले असन्तुष्ट पक्ष सबैलाई मिलाउन भन्दै संविधान संसोधनप्रति चासो पुन दोहोर्याएका थिए ।
स्थानीय निकायको निर्वाचन सम्पन्न गराएकोमा बधाई दिँदै प्रधानमन्त्री मोदीले संविधान संशोधनको चासो व्यक्त गरेका थिए । मधेस केन्द्रित दलको मागतर्फ संकेत गर्दै उनले देउवालाई सुझाव दिँदै भने, ‘सबै नागरिकसँगको वार्तालाई जारी राखेर उनीहरुको आकांक्षलाई सम्बोधन गरेमा संविधानको कार्यान्वयन सफल हुन्छ ।’
मोदीको चासोलाई आश्वस्त पार्दै प्रधानमन्त्री देउवाले भने, ‘संविधान संशोधनको विषयका केही मुद्दाहरु अझै थाती रहेको छ, राष्ट्रिय जनता पार्टी तथा दक्षिणी भागका जनताको मागलाई सम्बोधन गर्दै संविधानलाई अझ सर्वस्वीकार्य बनाउनका लागि पुनः संशोधनको प्रयास गर्नेछु । निकट भविष्यमा दुई तिहाई बहुमत जुटाएर सबैलाई स्वीकार्य हुने संविधान बनाउँछौं ।’ एक दिन सबै नेपाली जनता सहमत हुने संंविधान बनाउने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गरे ।
स्वतन्त्रता दिवसको ७० औं वार्षिकोत्सव मनाइरहेको भारतका प्रधानमन्त्री मोदीको छिमेक पहिलो नीतिको प्रशंसा गर्दै देउवाले भने, ‘सबका साथ सबका विकास जस्तो छिमेकलाई बढावा दिने नीतिको व्यवहारिक कार्यान्वयनलाई पर्खेका छौ।’ उनले संविधान संशोधन विधेयक पारित नभएपनि राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न निर्वाचनमा सहभागी हुने विश्वास पनि व्यक्त गर्दै भने, ‘थ्याङक गड संविधान संसोधन प्रस्ताव अस्वीकृत भएपनि राजपा आसन्न निर्वाचनमा सहभागी हुँदैछ ।’
प्रधानमन्त्री देउवाले लोकतन्त्र र विकास दुवै देशको चाहना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न नेपाल सधैं लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विगतमा अघिबढ्न नसकेको जलविद्युत आयोजनाको निर्माण कार्यलाई समयमै सम्पन्न गरेर जनस्तरलाई फाइदा हुने गरी कार्यान्वयन तहमा अघि बढनुपर्ने बताए ।
उनले दुई मुलुकबीच विगतामा भएका सहमतिका कार्यान्वयन परिणममुखी हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले नेपालको आर्थिक विकासमा भारतले गरेको सहयोगको पनि खुलेर प्रशंसा गरे । भारतको पाँच दिने राजकीय भ्रमणका क्रममा दुई देशबीचमा आठ वटा सहमति पत्रमा हस्ताक्षर समेत भएको छ।
प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीबीच ४० मिनेट जति ‘वान टु वान टक’ भएको थियो । पत्रकार सम्मेलनको सम्बोधनको सुरुवातमै मोदीले देउवालाई नेपाली भाषामा स्वागत गरेका थिए । उनले भने, ‘प्रधानमन्त्री र भ्रमण दलका सबैलाई हार्दिक स्वागत गर्दा मलाई खुसी लागेको छ । हाम्रो भेट यतिबेला भइरहेको छ, जतिबेला हामी द्विपक्षीय सम्बन्धको ७० औँ वर्षगाँठ मनाइरहेका छौं ।’
दुबै प्रधानमन्त्रीले बहुप्रतीक्षित पञ्चेश्वर परियोजनाको डीपीआरको विषयमा रहेको विवाद सन् २०१७ भित्र जसरी पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।