भारतीय व्यवसायीलाई लगानी गर्न आग्रह
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् ।
भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ र भारतीय व्यावसायिक संस्था एसोचेमद्वारा संयुक्त रूपमा आयोजित नेपाल–भारत व्यावसायिक फोरम बैठकलाई सम्वोधन गर्दै राणाले उनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् ।
प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यमा दुवै देशका सरकारी तथा निजीक्षेत्रका उच्च व्यक्तित्व, लगानीकर्ता, उद्यमी व्यवसायी सहभागी थिए । उक्त बैठकमा महासंघका अध्यक्ष राणाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेकी हुन् ।
अध्यक्ष राणाले नेपालमा सञ्चालित भारतीय संयुक्त लगानीका कम्पनीले निकै धेरै नाफा कमाइ रहेको उदाहरण दिएको महासंघले जनाएको छ । नेपालका लागि यतिखेर बाह्य लगानी तथा प्रविधिको अत्यन्त खाँचो रहेकाले यो समय लगानीका लागि निकै उपयुक्त रहेको अध्यक्ष राणाले स्पष्ट पारिन् । नेपाल सरकारले सबै प्रकारका लगानीमा उपयुक्त वातावरण बनाउँदै गएको उनको भनाइ छ ।
परिसंघ र पीएचडी चेम्बरबीच सम्झौता
प्रधानमन्त्रीसँग भारत भ्रमणमा गएको नेपाल उद्योग पसिंघको प्रतिनिधिमण्डल पनि भारतमा आयोजित विभिन्न कार्यक्रममा संलग्न भइरहेको छ । प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका संस्थाहरुले आयोजना गरेका कार्यक्रममा परिसंघ सहभागी भएको छ । भारतको एशोचेमको संयोजकत्वमा बुधबार ताज होटलमा आयोजित कार्यक्रममा परिसंघका उपाध्यक्ष एवं एशोचेम नेपाल च्याप्टरका सभापति निर्वाण चौधरीले नेपाल–भारत आर्थिक एवं व्यापारिक सम्बन्ध बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
बुधबार नै आयोजित भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस सम्बन्धी राज्यमन्त्री, फिक्कीका उपाध्यक्ष, सिआइआइका आर्थिक गतिविधि सम्बन्धी परिषदका सभापति एवं अन्य विशिष्ट व्यक्तिको उपस्थिति भएको एक समारोहमा उपाध्यक्ष चौधरीले नेपालले अघिल्लो आर्थिक वर्षमा ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको जानकारी गराए ।
यस्तो उच्च आर्थिक वृद्धि २०४६ को जनआन्दोलनपछिको सरकारले ल्याएको पहिलो चरणको आर्थिक सुधारका बेलामा मात्रै भएको उनको भनाई थियो । उनले नेपालमा चाँडै लगानी सम्मेलन गर्ने कार्यक्रम रहेको पनि जानकारी गराए ।
यसैगरी, बिहीबार पिएचडि चेम्बरमा भारतले लागू गरेको वस्तु तथा सेवा सम्बन्धी कर (जीएसटी) सम्बन्धी छलफलमा परिसंघको प्रतिनिधिमण्डल सहभागि भयो । सो अवसरमा परिसंघ र पिएचडि चेम्बरबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।