जिब्रो छेड्ने जात्रालाई २५ हजार सहयोग
मध्यपुर : जिल्लाको मध्यपुर थिमि नगरपालिकामा इन्द्रजात्राको भोलिपल्ट मनाइने जिब्रो छेड्ने जात्राको लागि आर्थिक सहयोग घोषणा गरिएको छ । स्थानीय कान्छाकाजी नायो पमा र चिनीमाया स्मृति कोषले उक्त जात्रा सञ्चालन गर्न २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
कोषका प्रमुख श्यामकाजी श्रेष्ठले आर्थिक समस्याले रोकिएको जात्राको निरन्तरताको लागि उक्त सहयोग सुरुवात गरिएको जानकारी दिए । आर्थिक समस्याकै कारण विगत ११ वर्ष उक्त जात्रा रोकिएको थियो तर यसवर्ष स्थानीयको पहलमा उक्त जात्रा सञ्चालन हुने भएको छ ।
उक्त जात्रालाई नेपालभाषामा येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा भनिन्छ । उक्त जात्राको नियमित सञ्चालनको लागि चन्द्रकृष्ण श्रेष्ठको अध्यक्षमा जात्रा व्यवस्थापनसमेत गठन गरिएको छ ।
समितिका अध्यक्ष श्रेष्ठले स्थानीय नगरबासी र नगरपालिकाको आर्थिक सहयोगमा यसवर्ष जात्रा सञ्चालन गरिने बताए । उनका अनुसार उक्त जात्रा सञ्चालन गर्न एकलाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । उक्त कोषमा मध्यपुर थिमि नगरपालिकाबाट एक लाख र वडा नं. ४ का अध्यक्ष कुमार श्रेष्ठले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
आउँदो भदौ २१ गते हुने उक्त जात्रामा यस वर्ष मध्यपुर थिमि नपा ५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेड्ने घोषणा गरिसकेका छन् । एघार वर्षअघि पनि उनैले जिब्रो छेडाएका थिए ।
पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरूले दुःख दिएपछि त्यसबाट छुटकारा पाउन स्थानीयले आफ्ना आराध्यदेवी बालकुमारीको साधना गरेपश्चात् भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरूले दुःख दिन छाड्ने जनविश्वासले ११ वर्षअघिसम्म निरन्तर ज्रिबो छेड्ने जात्रा भएको थियो ।
मध्यपुर थिमिकै बोडेमा भने बिस्केट जात्राअन्तर्गत बैशाख २ गते अर्को जिब्रो छेड्ने जात्रा भने अहिलेसम्म निरन्तर सञ्चालन हुँदै आएको छ ।