बाढीपीडित बालबालिका पढाईबाट वञ्चित
विराटनगर: बाढीले बेघर भएका अभिभावक आफुसहित सन्तानलाई के खुवाउने भन्ने चिन्ताले पिरोलिन्छन्। तर विराटनगर १ गंगाटोलका रोहित सिँह भने पानीले कामै नलाग्ने भएका किताव कसरी जोडौँ भन्ने चिन्ताले छट्पटिएका छन्।
विराटनगरको कान्तिपुर सिटि कलेजमा कक्षा ११ मा अध्यनरत उनी बाढीले कामै नलाग्ने भएको कम्प्युटर र किताब सुम्सुम्याइरहेका छन्। उनी बाढी आए देखि कजेल गएका छैनन्।
सिँह बस्तीका प्रतिनिधि पात्र हुनु्। टोलमा रहेका एक सय सात परिवारका ६० विद्यार्थी अहिले विद्यालय जाँदैनन्। अभिभावकको मनमा जमेको पिडाको दह महशुस गर्न नसकेका वालवालिका बाढीले पुरिएको घरको भंनावशेषमा खेलिरहेका भेटिन्छन्।
पढ्न जाने समय अहिले खोलाको बगरमा विताइरहेका छन्। उनीहरुसँग न किताब छ, न पोसाक। दाताले दिएको अन्नले पेट भर्न धौउधौउ पर्ने उनीहरुलाई न किताब तिर ध्यान छ, न टोलछिमेकका अगुवालाई पढाइ छुटेका बालबालिकाको।
छिमेकको निजि विद्यालय सनसाइन बोर्डिङमा दुख गरेर छोरीलाई नर्सरीमा भर्ना गरिदिएका बाढीपीडित पप्पु देवलाई समेत छोरीको पढाइको चिन्ताले पिरोल्छ। 'पेटको जोहो त जसोतसो गरौँला', देव भन्छन्, 'छोरीलाई सक्षम बनाउन पढाउन शुर गरेको थिएँ, स्कुल छुट्दा पढाइ बिग्रिन्छ कि भन्ने चिन्ता लागेको छ।'
बस्तीका अर्का पीडित हुन विजय सहनी। उनका दुइ सन्तान विद्यालय जान्थे। मुनाल पथमा रहेको क्याफे स्कुलमा कक्षा एकमा पढ्ने छोरा र एलकेजीमा पढ्ने छोरी अहिले वालुवा खेलाएर बसिरहेका छन्। 'दुइ हप्ता हुन लाग्यो स्कुल छुटेको, उनीहरुको पढाइको प्रबन्ध खोइ कसरी गर्नु !' सहनीले भने।
सिंघिया खोला किनारमा रहेको यो बस्तीमा अनेकौं पीडा छन्। मजदुरी गरेर पेट पाल्ने भूमिहीनको बसोबास भएको यो स्थानका धेरैले दुखसुख गरेर सन्तानलाई निजि स्कुलमा पढाएका छन्।
परिवारको आर्थिक अवस्था नाजुक रहेका कारण पढ्ने उमेरमा मजदुरी गर्न विभिन्न फ्याक्ट्री र मिलमा जाने अभिभावक सन्ताले पढेर सुख पाएको हेर्न चाहन्छन्।
सन्तानले राम्रो शिक्षा प्राप्त गरे उनीहरुको भविष्य आफ्नो जस्तो अन्यौल नरहने सोचेका पीडित अहिले चिन्तामा छन्। 'बाढीले बेघर भएको भन्दा पनि सन्तानको पढाइले सताइरहेको छ।' अर्का बाढीपीडित शम्भु मारकाण्डेले भने, 'यतिका दिन पढाइ छुटि सक्यो कसैले बस्तीमा आएर पढाइ दिने व्यवस्था गरिदिए हुन्थ्यो।'
घरमा खोलाको भेल छिरेर स्कुलजाने विद्यार्थीका किताब कामै नलाग्ने गरि भिजेको पीडितको गुनासो छ। अन्न, लत्ताकपडा जोगाउन नसकेका पीडितले अहिले सन्तानका किताब र पोसाक ल्याइदिएर सहयोग गर्न आग्रह गरेका छन्।
चार सन्तान विद्यालय जान नसकेको भन्दै बस्तीकी गीता सहनी भन्छिन्, 'स्कुल जाने मेरा चार जना केटाकेटीको किताबसँगै पोसाक समेत छैन, कसैले ल्याइदिन्थ्यो की !'