कतारद्वारा इरानसँग कूटनीतिक सम्बन्ध कायम : खाडी मुलुकलाई चुनौती

कतारद्वारा इरानसँग कूटनीतिक सम्बन्ध कायम : खाडी मुलुकलाई चुनौती

दोहा : कतारले इरानसँग बिहीबार कूटनीतिक सम्बन्ध कायम गरेको छ । साउदी अरेबियालगायतका खाडी मुलुकले आफूमाथि नाकाबन्दी लगाउँदै आएका बेला उसले यस क्षेत्रकै शक्तिशाली मुलुक इरानसँग सम्बन्ध गाँसेको छ ।

साउदी, संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्ट लगायत मुलुकले इरानसँग सम्बन्ध तोड्न भनेर दबाब दिइरहेका बेला कतारले यस्तो निर्णय लिएको हो । कतारले आफूले इरानसँग कूटनीतिक सम्बन्ध राखेको घोषणा गरेको छ ।

यद्यपि उसले अरेबियालगायतका मुलुकले आफूमाथि लगातार नाकाबन्दी गरेका कारण इरानसँग नजिकिएको संकेत पनि गरेको छैन । ती मुलुकले नाकाबन्दी हटाउन गत जुनमा कतारसामु १३ बुँदे शर्त अगाडि सारेका थिए ।

कतारी टेलिभिजन च्यानल अलजजिरा बन्द गर्नुपर्ने, इरानसँगको सम्बन्ध दूर गर्नुपर्ने, कतारी भूमिबाट टर्कीको फौज हटाउनुपर्ने र मुस्लिम ब्रदरहुड लगायतका समूहसँगको सम्बन्ध तत्काल अन्त्य गर्नुपर्ने प्रमुख माग थिए । कतारले भने ती शर्त पूरा नहुने खालका भएको र सार्वभौम राष्ट्रले पूरा गर्न नसक्ने पनि बताएको थियो । कतारले खाडी क्षेत्रका देशहरूसँग जुन महिनादेखि चलिरहेको संकटका बारेमा पनि केही बताएको छैन । जुनमा एक्कासी साउदीलगायतका मुलुकले कतारसँग जल, स्थल, वायु सबैखाले सम्बन्ध सकिएको घोषणा गरेका थिए ।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कतारले इरानसँग हरेक क्षेत्रमा द्विपक्षीय सम्बन्ध मजबुत बनाउने छ ।’ इरानको सरकारी सञ्चारमाध्यमले यो विषय आफूलाई थाहा भए पनि विस्तृत जानकारी दिएको छैन ।

कतारले आफूमाथि लगाइएको नाकाबन्दीविरुद्ध विश्व व्यापार संगठन,(डब्ल्युटिओ)मा पनि उजुरी गरेको थियो । कतारले आफू कहिले पनि आतंकवादी घटनामा नमुछिएको स्पष्ट पारेको थियो । इरानसँग कतारको सिमाना करिब चार किलोमिटर छ ।

कतारमाथिको नाकाबन्दी हटाउन कुवेत सरकारले मध्यस्थता प्रयास गरेको थियो । यसैगरी टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले उठाएका कदम पनि निरर्थक बनेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.