भारतमा ७२ घण्टाका लागि मोबाइल र इन्टरनेट बन्द
चण्डिगढ : भारतका चण्डिगढ, हरियाणा र पञ्जाबमा ७२ घण्टाका लागि मोबाइल फोन र इन्टरनेट सेवा बन्द गरिएको छ। यौन शोषणको आरोप लागका डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहिममाथि शुक्रबार सिबिआई अदालतको सुनुवाइ गर्दै छ।
अदालतको हुनुपूर्व रहिमका हजारौं अनुयायीले विरोध गरेपछि मोबाइल र इन्टरनेट सेवा बन्द गर्नुपरेको सरकारले जानकारी दिएको छ। उनीहरूले रहिमलाई फसाइएको बताउँदै आएका छन्। उनीहरूबाट हुनसक्ने दंगा नियन्त्रणका लागि अर्धसैनिक सुरक्षाबल तैनाथ गरिएको छ। १ सय ६७ वटा कम्पनी अपुग भएको बताउँदै थप १० वटा कम्पनी माग गरिएको छ।
प्रत्येक कम्पनीमा अधिकृतसहित १ सय जवान हुन्छन्। चण्डिगढ, हरियाणा र पञ्जाबमा कफ्र्यु लगाएजस्तो अवस्था छ। हरियाणा र पञ्जाबका प्रान्तीय सरकारले भारतीय सेना पठाउन केन्द्र सरकारलाई आग्रह गर्दै पत्र लेखेका छन्। सेनाले स्थानीय सरकारको सम्पर्कमा रहेको बताएको छ।
रहिमले आफूले कानुनको सम्मान गर्ने बताउँदै अदालतमा उपस्थित हुने समाजिक सञ्जालमार्फत बताएका छन्। भगवान्ले आफूलाई साथ दिने बताउँदै आफ्ना समर्थकलाई शान्त रहन अनुरोध गरेका छन्।
सिबिआई अदालत भएको स्थान पञ्चकुला बाहिर ५० हजारभन्दा बढी समर्थकले धर्ना दिइरहेका छन्। उनीहरू तीनचार दिनलाई पुग्ने खाना ल्याएर आएका छन्। एक साध्वीलाई यौन शोषण गरेको आरोप रहिममाथि लागेको छ। सरकारले हरियाणाको सीमा बन्द गरिदिएको छ। बिहीबार ६ वटा रेलसेवा बन्द गरिएको छ भने शुक्रबार २२ वटा रेलसेवा स्थगित गरिएको छ।