पुँजीगत लाभकर उठाउँदा करोडौं राजस्व छुट

पुँजीगत लाभकर उठाउँदा करोडौं राजस्व छुट

काठमाडौं : काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका मालपोत कार्यालयहरूले घरजग्गा दर्ता (रजिस्ट्रेसन) गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले विभिन्न मालपोत कार्यालयमा यससम्बन्धी छानबिन थालेको थियो । छानबिनका क्रममा पुँजीगत लाभकर उठाउँदा साढे दुई करोड रुपैयाँभन्दा बढी छुट दिएर हिनामिना गरेको देखिएपछि मन्त्रालयले त्यससम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । गत आर्थिक वर्ष देशभरबाट २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसमध्ये पुँजीगत लाभकरबाट ४ अर्ब ६२ करोड मात्र उठेको थियो । मन्त्रालयले पुँजीगत लाभकर बढी उठ्नुपर्नेमा कम भएपछि अनियमितता भएको आशंका गर्दै छानबिन थालेको हो ।

महालेखा परीक्षकको कार्यालयले मालपोत कार्यालयहरूको आर्थिक वर्ष २०७३÷७४ को महालेखा परीक्षण गर्दा पुँजीगत लाभकर उठाउन नसककेको भन्दै १ अर्ब ३६ करोड बेरुजु निकालेको थियो । महालेखाले बेरुजु औंल्याएपछि मालपोत कार्यालयहरूमा पुँजीगत लाभकर उठाउँदा अनियमितता हुने गरेको खुलासा भएको हो । मालपोतहरूले उठाउने राजस्वबापतको पुँजीगत लाभकरमा करोडौं अनियमितता भएको देखिएपछि मन्त्रालयले घरजग्गा बढी बिक्री हुने जिल्लामा छानबिनलाई तीव्रता दिँदै आएको छ ।

पुँजीगत लाभकरबापत ५ प्रतिशत राजस्व उठाउनुपर्नेमा २.५ प्रतिशत मात्र उठाएर करोडौं छुट दिएको पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो चरणमा पाँचवटा टोली गठन गरी उपत्यकाका चाबहिल, कलंकी, डिल्लीबजार, मनमैजु, टोखा, ललितपुर, भक्तपुर, साँखु मालपोत कार्यालयमा अनियमितता भएको हुन सक्ने आशंकामा छानबिन गरेको थियो ।

छानबिन टोलीले आव २०७३÷७४ मा घरजग्गा बिक्रीबापत उठाउनुपर्ने पुँजीगत लाभकरमध्ये साढे २ करोड रुपैयाँ नउठेको निष्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएका थिए । टोलीले छानबिन गर्दा ५ प्रतिशत पुँजीगत लाभकर उठाउनुपर्नेमा २.५ प्रतिशत मात्र उठाएको, उक्त कार्यमा खरिदार, नायवसुब्बादेखि अधिकृतसम्मका ८० कर्मचारीको संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।

छानबिनमा संलग्न एक सदस्यले उपत्यकामा पुँजीगत लाभकरमा साढे २ करोडभन्दा बढी छुट दिएको पाइएको जानकारी दिए । राजस्व छुटको विवरणका साथै ८० कर्मचारीमाथि छानबिन माग गर्दै प्रतिवेदनसहितको फाइल मन्त्रालयले केही समयअघि अख्तियारमा पठाएको हो । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले करोडौं पुँजीगत लाभकर छुट दिएर गम्भीर लापरबाही गरेको पाइएपछि छानबिनका लागि प्रतिवेदन नै अख्तियारमा पठाइएको जानकारी दिए । ‘कर्मचारीहरूले गम्भीर लापरबाही गरेको पाइयो, जसका कारण करोडौं पुँजीगत लाभकर गुमेको देखिएको छ', सचिव देवकोटाले अन्नपूर्णसँग भने ।

जग्गाका कारोबार गर्ने व्यक्ति, लेखनदास र कर्मचारीको मिलेमतोमा पँुजीगत लाभकरमा अनियमितता हुने गरेको उनले खुलाए । अख्तियारका प्रवक्ता जीवराज कोइरालाले पनि पुँजीगत लाभकरमा छुट दिएको, त्यसमा ८० कर्मचारी संलग्न रहेको भनिएको फाइलका बारेमा अनुसन्धान थालेको जानकारी दिए । ‘कर्मचारीहरूसँग बयान लिने क्रम सकिएको छ, अब चाँडै यसले उपयुक्त निकास पाउनेछ', प्रवक्ता कोइरालाले भने । यद्यपि, अख्तियारले छानबिनलाई तीव्र गतिमा अघि बढाउन भने सकेको छैन ।


– साढे २ करोड हिनामिना भएको फाइल अख्तियारमा
– ८० कर्मचारी छानबिनको घेरामा
– राजधानीबाहिर पनि छानबिन टोली खटिए

उनका अनुसार अख्तियारले १८ टोली बनाएर पुँजीगत लाभकर छुटका सम्बन्धमा छानबिन गरिरहेको छ । एक अनुसन्धान अधिकृतका अनुसार कतिपय अवस्थामा कर्मचारी र घरजग्गा बिक्री गर्ने व्यक्तिबीचको मिलेमतोमा लाखौं कर छुट दिएको पाइएको छ । ‘कानुनमा स्पष्टसँग ५ प्रतिशत पुँजीगत लाभकर उठाउनुपर्ने व्यवस्था हुँदाहुँदै विभिन्न बहानामा २.५ प्रतिशत मात्र उठाएको पाइयो, त्यसरी उठाउनेहरू कारबाहीको दायरामा पर्छन्', ती अधिकृतले भने ।
केही कर्मचारीले भने कारबाहीमा पर्ने डरका कारण जागिरबाट राजीनामा दिएका छन् । अख्तियारले छानबिन थालेसँगै कतिपयले घरजग्गा विक्रेतालाई पुनः पुँजीगत लाभकर तिर्न ताकेता गर्न थालेका छन् ।

उपत्यकाबाहिर पनि छानबिन

उपत्यकाबाहेक घरजग्गाको बढी कारोबार हुने जिल्लाका मालपोत कार्यालयमा पनि पाँचवटा टोली छानबिनका लागि खटिएको छ । मन्त्रालयले झापा, मोरङ र सुनसरीमा, भरतपुर र बुटवलमा, बाँके र कास्कीमा छानबिन गर्न छुट्टाछुट्टै टोली परिचालन गरेको छ । मन्त्रालयका सचिव देवकोटाले पुँजीगत लाभकर छुटका सम्बन्धमा जिल्लामा गएको टोलीले गम्भीरतापूर्वक छानबिन गरिरहेको जानकारी दिए । राजधानीबाहेक बाहिरी जिल्लामा भने पुँजीगत लाभकरमा छुटका घटना न्यून मात्र देखिएको उनले सुनाए ।

 

सरकारले २०६६ सालमा मालपोत कार्यालयमार्फत अचल सम्पत्ति (घरजग्गा) निसर्ग ((बिक्री) गर्दा पुँजीगत लाभकर असुल गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नै देशभरका मालपोत कार्यालयले पुँजीगत लाभकर उठाउँदै आएका छन् । भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक टीकाराम घिमिरले भने आन्तरिक राजस्व विभागले समयमै पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई स्पष्ट नगरेकाले मालपोतहरू लामो समय अन्योलमा परेको बताए । व्यक्ति आफैंले घोषणा गरेको करका आधारमा मालपोत कार्यलयले पुँजीगत लाभकर लिएको । केही अवस्थामा अञ्जानमा सामान्य गल्ती भएको महानिर्देशक घिमिरेको दाबी छ । यद्यपि, देशभरमा अधिकांश मालपोत कार्यालयबाट पुँजीगत लाभकर जिम्मेवारीपूर्वक नउठाएको मन्त्रालयकै टोलीको निष्कर्ष छ ।

के हो पुँजीगत लाभकर ?

३० लाख वा सोभन्दा बढीको कारोबारमा पुँजीगत लाभकर तिर्नुपर्छ । घरजग्गा विक्रेता तथा व्यवसायीले सरकारलाई नाफाबापत तिर्नुपर्ने कर हो यो । व्यवसायी तथा विक्रेता आफूले घरजग्गा किनेको पाँच वर्षभित्र बिक्री गरेको अवस्थामा कुल फाइदाको ५ प्रतिशत रकम राजस्वस्वरूप तिर्नुपर्छ । घरजग्गा किनेको पाँच वर्षपछि बिक्री गरे फाइदाको २.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

यसरी हुन्छ अनियमितता ?

नियमानुसार ५ प्रतिशत पुँजीगत लाभकर लिनुपर्ने कानुनी व्यवस्थालाई बेवास्ता गर्दै मालपोतका कर्मचारीले विक्रेतासँगको मिलेमतोमा २.५ प्रतिशत मात्र लिने गरेका छन् । किनेको पाँच वर्ष नपुग्दै घरजग्गा बिक्री गर्ने व्यवसायीबाट कुल नाफाको ५ प्रतिशत राजस्व लिनुपर्नेमा २.५ प्रतिशत मात्र लिएको पाइएको छ, जुन सरासर अनियमितता हो । भूमिसुधार तथा व्यवस्था मन्त्रालका सचिव कृष्णप्रसाद देवकोटले पनि ५ प्रतिशत रकम लिन छाडेर २.५ प्रतिशत मात्र लिएको सूचना प्राप्त भएकाले छानबिन थालेको जानकारी दिए ।

यसका साथै विक्रेताले क्रेतासँग मिलेर कम मूल्यमा बिक्री गरेको बहाना बनाउने गरेका छन् भने नापी र मालपोतका कर्मचारीसँगको मिलेमतोमा कम मूल्यांकन गराउने र कम मूल्यांकन गराएर कम राजस्व तिर्ने गरेका छन् । मालपोत कार्यालयमा यसअघि घरजग्गा किनबेच गर्दाको मूल्य रहेको कागजातसमेत लुकाउने गरेको पाइएको छ । त्यस्ता कागजात लुकाएर बढी तिर्नुपर्ने पुँजीगत लाभकर हचुवामा कम तिराउने गरेको छानबिनले देखाएको छ ।

आधुनिक सफ्टवेयरको व्यवस्था

भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अनियमितता रोक्न अब सफ्टवेयरमार्फत घरजग्गा बिक्रीको विवरण राख्ने प्रणालीको विकास गर्न लागेको जानकारी दिए । ‘अब घरजग्गा रजिस्ट्रेसनसम्बन्धी सबै विवरण कम्प्युटरमै व्यवस्थित गरेर राख्ने प्रणालीको विकास गरेका छौं', सचिव देवकोटाले भने, ‘जसका कारण कागजात लुकाएर हुने खालका अनियमितता स्वतः रोकिनेछ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.