द्वन्द्वोत्तर पुनर्निर्माणको मुद्दा

द्वन्द्वोत्तर पुनर्निर्माणको मुद्दा

सरकारले जति नै पुनर्निर्माणको मुद्दालाई आफ्नो मुख्य प्राथामिकता बताउँदै आए पनि धेरै ध्वस्त संरचना अलपत्रै छन् । महाभूकम्प र बाढीपीडितमा परेका जनताले मात्रै पुनर्निर्माण र पुनस्र्थापनाको अनुभूति गर्न नपाएका होइनन्, द्वन्द्वोत्तर पुनर्निर्माणले समेत ओेझेलमा परेको छ । माओवादी द्वन्द्वका समयमा द्वन्द्व संरचना बनाउन र शान्ति प्रक्रियालाई व्यवस्थित ढंगले अघि बढाउन शान्ति तथा पुनर्निर्माण मन्त्रालय नै गठन गरे पनि अहिले बजेटेको अभावमा द्वन्द्वोत्तर पुनर्निर्माण ओझेलमा परेको हो । अहिले पाँच हजार पाँच सय ५७ संरचना पुनर्निर्माणको काम बाँकी छ । १० वर्षको अवधिमा चार हजार दुई सय ६९ सरकारी संरचनाका पुनर्निर्माण भएको छ ।

५ मंसिर २०६५ मा सरकार र एक दशकभन्दा बढी सशस्त्र संघर्ष गरेको तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको थियो । यो सम्झौताले एक दशकभन्दा बढी चलेकोे सशस्त्र संघर्ष रोकेर नेपालमा दिगो शान्ति स्थापनाको लक्ष्य राखेको थियो । तत्पश्चात् सशस्त्र द्वन्द्वका कारण मुलुकको जीवनको विविध क्षेत्रमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न र दिगो शान्ति स्थापनाको लागि चाहिने आर्थिक, भौतिक, सामाजिक आधार तयार गर्न विभिन्न प्रयास भए ।

पुनर्निर्माण तथा पुनस्र्थापन कार्यक्रम, भौतिक पूर्वाधार पुनर्निर्माण, राहत तथा पुनस्र्थापन, शान्ति प्रक्रिया सहयोग आयोजना, स्थानीय शान्ति समिति, द्वन्द्वप्रभावित क्षेत्रमा विशेष कार्यक्रम, शान्तिका लागि विकास कार्यक्रम र माओवादी लडाकुहरूको पुनस्र्थापनजस्ता कार्यक्रम पनि लागू भए । लडाकुहरूको पुनस्र्थापनालगायतका केही काम सम्पन्न भए पनि शान्ति स्थापनाका अन्य कार्यक्रम अझै पनि कार्यान्वयनकै चरणमा छन् ।

राज्य र माओवादीबीच भएको सशस्त्र संघर्षका बेला अर्बौं रुपैयाँबराबरका भौतिक संरचना क्षति भएका थिए । ती संरचनाको पुनर्निर्माणको लागि चालू आर्थिक वर्षको लागि १७ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिए पनि सरकारले यो प्रयोजनको लागि जम्मा ७४ करोड रुपैयाँ विनियोजन गरेको छ । यसले गर्दा द्वन्द्वोत्तर पुनर्निर्माण बन्द हुने अवस्थामा पुगेको छ । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १० वर्षको अवधिमा सरकारले चार हजार दुई सय ६९ सरकारी संरचनाको पुनर्निर्र्माण सकेको छ भने पाँच हजार पाँच सय ५७ संरचनाको पुनर्निर्माण बाँकी छ । अझै पनि द्वन्द्वमा भत्काइएका आधाभन्दा बढी भौतिक संरचनाको पुनर्निर्माण हुन सकेको छैन ।

शान्ति सम्झौतापछि सरकारले श्रीकान्त रेग्मीको अध्यक्षतामा बनाएको कार्यदलले क्षति भएका सरकारी भौतिक संरचना पुनर्निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्ने जनाएको थियो । अहिले लागत बढेर २५ अर्ब पुगेको छ । यस्तै गतिमा काम हुने हो भने अझै वर्षौंसम्म पुनर्निर्माणको काम सकिँदैन । मुलुक संघीयतामा गएसँगै र स्थानीय निकायलाई स्थानीय सरकारको रूपमा स्वीकार गरिएसँगै यस्ता क्षति पुगेका भौतिक संरचना निर्माणको जिम्मा ‘शान्तिका लागि विकास कार्यक्रम’ मार्फत स्थानीय निकायमार्फत गर्ने सरकारको कार्यक्रमपछि थप अन्योल उत्पन्न भएको छ । अझ यसमा नागरिकका व्यक्तिगत भौतिक संरचनामा भएका क्षति समेटिएका छैनन्, जुन राज्यले बेवास्ता गर्न पाउँदैन ।

शान्ति स्थापनाका अन्य गतिविधिमा पनि सरकारी समय र राज्यकोषको लगानी भएको छ, तर भौतिक संरचनाको पुनर्निर्माणजस्तो आधारभूत कामको आधा हिस्सा पनि नसकिनु राम्रो होइन । सरकारले अध्ययन गरी पुनर्निर्माण गरिनुपर्छ भनेका संरचना बन्न नसक्दा राज्यको प्रतिबद्धतामा विश्वास गर्न नसकिने परिस्थिति बन्छ । यसमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्छ । शान्ति प्रक्रियाको पूर्ण कार्यान्वयनसँग जोडिएको ध्वस्त भौतिक संरचना पुनर्निर्माणको मुद्दालाई बेवास्ता गरिनु हँदैन । द्वन्द्वोत्तर पुनर्निर्माणले पूर्णता पाउन सके मात्रै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको अनुभूति हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.