ढलेका श्रीमान् र परिवार पाल्ने चिन्ता

ढलेका श्रीमान् र परिवार पाल्ने चिन्ता

 प्युठान : प्युठान नगरपालिका-३ विजयनगर चक्रिवाङका ज्ञानबहादुर कुमाल ओछ्यानमै दिसापिसाब गर्छन्। साढे दुई वर्ष भयो उनी यसैगरी ओछ्यानमै मुत्युसँग संघर्ष गरिरहेको। छोराछोरी साना छन्। श्रीमतीले उनको दिनहुँ स्याहारसुसार गर्छिन्। घरमूली नै यसरी थलिएपछि पीडामा छट्पटिएको छ कुमाल परिवार। मलेसिया गई पैसा कमाउने सोचका साथ ज्ञानबहादुर भिसा लगाएर कुरिरहेका थिए।

भिसा नआउन्जेलको फुर्सदको समय सदुपोग गर्न उनी ट्र्याक्टरमा काम गर्न थाले। भिसा आउन एक साता बाँकी हुँदा उनी चढेको ट्र्याक्टर २०७२ वैशाखमा स्वर्गद्धारीस्थित खोलमा दुर्घटनामा पर्‍यो। ज्ञानबहादुरको मेरुदण्ड भाँचियो। काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचार गर्दा करिब आठ लाख रुपैयाँ खर्च लाग्यो। गाडी धनीले एक लाख रुपैयाँ खर्च दिए पनि बाँकी सबै खर्च ऋण खोजेर उनको उपचार भयो। कुमालको विदेश जाने सपना अधुँरै रह्यो नै कहिल्यै नउठ्ने गरी ओछ्यानमै थलिए। ‘खाउँखाउँ र लाउँलाउँ' को उमेरमा घरमूली नै ओछ्यानमा थलिएपछि कुमाल परिवारलाई दैनिकी चलाउन मुस्किल परिरहेको छ।

दुई वर्षअघि आएको विनाशकारी भूकम्पले कुमाल परिवार बस्ने घर चर्किएको थियो। आर्थिक अभावले गर्दा चर्किएकै घरमा कुमाल परिवार बसिरहेको थियो। घरका दुई भाइमध्ये उनी दाइसँग छुट्टिएर एउटै घरमा अलगअलग बस्छन्। ज्ञानबहादुरले बिहीबार बिहान फेरि मृत्युलाई जितेर नयाँ जीवन पाएका छन्। बिहान ओछ्यानमै हुँदा उनी बस्दै आएको घर भत्कियो। आफू बस्दै आएको घरको भाग भत्किएर छियाछिया भयो। जसोतसो श्रीमतीले उनलाई बाहिर ल्याएर ज्यान बचाइन्। ‘ श्रीमती र छोराछोरीसँगै एउटै कोठामा सुतिरहेको थिएँ', ज्ञानबहादुरले भने, ‘झन्डै मरिएन। श्रीमतीले बाहिर ल्याइन्। ढोकाबाहिर आउनु र घर भत्किनु सँगसँगै भयो।'

श्रीमती र छोराछोरीसँगै एउटै कोठामा सुतिरहेको थिएँ', ज्ञानबहादुरले भने, ‘झन्डै मरिएन। श्रीमतीले बाहिर ल्याइन्। ढोकाबाहिर आउनु र घर भत्किनु सँगसँगै भयो। ज्ञानबहादुर कुमाल, प्युठान नगरपालिका-३ विजयनगर

बस्नै नमिल्ने गरी घर भत्किएको छ। पाँच छोराछोरीसहित सातजनाको परिवार बिचल्लीमा परेको छ। होटेलमा काम गरेर जसोतसो घरखर्च धानेकी श्रीमती गोमा श्रीमान्को रेखदेख गर्नमै व्यस्त हुनुपरेको छ। ‘दुःख जति गरिबलाई नै पर्दोरहेछ', गोमाले भनिन्, ‘ श्रीमान् ओछ्यानबाट उठ्न सक्नुहुन्न। फेरि यस्तो विपत्ति आइलाग्यो।' ओछ्यानमा थलिएका श्रीमान्, चार छोरी र काखमा भएको दुई वर्षीय छोराको पालनपोषण गर्न धेरै संघर्ष गर्नुपरेको उनले दुःखेसो गरिन्।



‘डाक्टरले औषधि नियमित खानु र नियमित चेकअप गर्न काठमाडौँ आउनु भन्नुभएको थियो', उनले भनिन्, ‘पैसा नभएपछि काठमाडौँ जान सकेका छैनौँ। औषधि पनि छैन।' भत्किएकै घरको आधा भागमा बसेका दाइ शिवबहादुरको कोठमा आ श्रय लिएर बसिरहेको उनले सुनाइन्। ‘दुई भाइको गरेर १२ जनाको परिवार एकै ठाउँमा बसेका छौँ', उनले भनिन्, ‘पानी पर्दा बँचेको भाग पनि भत्किन्छ कि भन्ने डर छ।'

पढ्दै गरेका चार छोरी विद्यालय जान पाएका छैनन्। जेठी छोरी पूजा, माइली परान्ती चारमा, साइली अनिसा तीन र कान्छी विनीता एक कक्षामा पढ्छन्। घरको अवस्था दयनीय भएपछि उनीहरूको पढाइमा समेत बाधा पुगेको छ। ‘होटेलमा काम गरेर जसोतसो घरपरिवार धानेकी थिएँ', गोमाले भनिन्, ‘बस्नै नमिल्ने गरी घर भत्कियो। रात कसरी गुजार्ने भन्ने चिन्ता छ।' श्रीमान्को विदेश जाने सपना अधुँरै भएपछि संघर्ष गरेर घरपरिवार धान्नु परेको उनले पीडा सुनाइन्। ‘छोराछोरी साना छन्। सासूससुरा धेरै वर्षअघि नै बित्नुभयो', आँसु खसाल्दै उनले भनिन्, ‘सबै पीडा मै माथि खनियो।

ओछ्यानमा ढलेका श्रीमान् र छोराछोरीलाई कसरी पाल्ने होला ? ' आर्थिक अभावमा श्रीमान्को नियमित चेकजाँच र औषधि खुवाउन नसक्दा रातभर निद्रा नै नलाग्ने उनले दुःख सुनाइन्। ‘डाक्टरको सल्लाहअनुसार दुई वर्षअघि काठमाडौँ जानुपर्ने हो', उनले भनिन्, ‘जाने भाडा पनि छैन। उपचार कसरी गराउनु ? ' प्युठान नगरपालिकाभित्रै मृत्युसँग संघर्ष गरिरहेका कुमाल परिवारको पीडा कसैले देखेको छैन। घर भत्किएको तीन दिन बितिसक्दासमेत सम्बन्धित निकायले राहत र उद्धारमा चासो देखाएको छैन।

जोखिममा रहेको भत्किएको घरमा कुमाल परिवारले आ श्रय लिइरहेको छ। ठूलो पानी पर्दा पूरै घर भत्किने अवस्थामा छ। जोखिममा रहेको परिवारलाई उद्धार गर्नतर्फ सम्बन्धित निकायले प्रभावकारी कदम चालेको छैन। सबैका दिदीबहिनी माइती घरमा आएर तीजको रमाइलो गरे पनि यस परिवारलाई तीजभन्दा पनि जीवन कसरी बिताउने भन्ने पिरलो छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.