भलिबल खेलेरै मनाइयो तीज

भलिबल खेलेरै  मनाइयो तीज

पोखरा : नेपाली नारीको महान् चाड तीजमा धेरै महिला व्रत बस्ने र नाचगान गरेर चाड मनाउने गर्छन् । तर, नेपालका चर्चित महिला भलिबल खेलाडीले पछिल्लो आठ वर्षदेखि भलिबल खेलेरै तीज मनाउँदै आएका छन् ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा खेलमा व्यस्त भएका खेलाडीले खेलका कारण तीज मनाउन नपाए पनि खेल सकेर साथीभाइसँग बसी मीठो खाना खाएर मनाउने गरेको बताए । ‘दिदीबहिनीहरू तीजमा गीत गाउँदै नाच्दै रमाइलो गर्छन्, हामी भने राष्ट्रिय भलिबल खेलमा जित निकाल्नुपर्ने प्रेसरमा हुन्छैाँ । त्यसैले खेलअघि तीजमा नाचगान गर्न फुर्सद मिल्दैन । हाम्रो लागि विपक्षीविरुद्ध सट् हान्नु र विपक्षीको प्रहारलाई निस्तेज गर्नुमै तीजको मज्जा छ’, पश्चिमाञ्चल क्षेत्रीय भलिबलकी क्याप्टेन तथा राष्ट्रिय खेलाडी मञ्जु गुरुङले भनिन् ।

स्कुले जीवनदेखि नै तीजभरि भलिबल खेल्नुपर्ने भएकाले नाचगान गरेर तीज मनाउन नपाएको पनि मञ्जुले बताइन् । ‘तीजमा गीत गाएर रमाउने मन त हुन्छ । त्योभन्दा पनि खेलाडीका लागि खेल ठूलो भएकाले खेलमै ध्यान दिएर जित निकाल्नेतर्र्फ केन्द्रित हुन्छु । तीजको रहरलाई फुर्सदको समयमा गीत गाएको सुन्ने र नाचेर मेट्ने गरेको छु’, मञ्जुले थपिन् ।

अर्की राष्ट्रिय खेलाडी तथा सशस्त्र प्रहरी बलको एपीएफकी क्यप्टेन विनीता बुढाथोकीले पनि तीजमा नाचगान गरेर रमाउने इच्छा हुँदाहुँदै पनि संस्था र राष्ट्रका लागि खेलिने खेल ठूलो भएकाले तीजमा भलिबल खेलमै ध्यान दिने गरेको सुनाइन् । खेलपछि भने रमाइलो गर्ने वातावरण क्लबले व्यवस्था गर्ने भएकाले साथीभाइ तीजको गीत गाएर मीठो खाएर रमाउने गरेको उनले सुनाइन् ।

अरू दिदीबहिनीले जस्तै व्रत बस्ने मन भए पनि स्कुलदेखि नै तीजमा कुनै न कुनै भलिबल प्रतियोगिता पर्ने भएकाले नाचगान गरेर तीज मनाउने अवसर नमिलेको उनले सुनाइन् । ‘हरेक वर्ष तीजको दिन भलिबलको फाइनल पर्छ । व्रत बस्ने, नाचगान गर्ने दिनमै खेल पर्ने भएकाले अहिलेसम्म व्रत बस्न पाएको छैन । व्रत बसेर खेल्नसक्ने कुरा पनि भएन’, विनीता भन्छिन् । राष्ट्रिय खेलाडी तथा सशस्त्र प्रहरी बलको एपीएफकी खेलाडी सरस्वती चौधरीले पनि भलिबल खेलका कारण तीज मनाउन नपाएको सुनाइन् ।

महिलाहरूको महान् चाड तीजमा महिला भलिबल खेलको थप विकास गर्ने उद्देश्यले तीज महोत्सव आयोजना गरेर भलिबल खेलसमेत राखिएको आयोजक नवआदर्श सामुदायिक विकास समाज लामाचौरका अध्यक्ष बमबहादुर गुरुङले बताए । २०५४ सालदेखि तीज महोत्सव गर्दै आएको समाजले १४ वर्षदेखि तीजका अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको हो । ६ वर्ष विद्यालयस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको समाजले आठ वर्षदेखि राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गरेको उनले सुनाए ।

पोखराको लामाचौरमा हुने राष्ट्रिय महिला भलिबल तथा तीज महोत्सव पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गएको छ । देशभरका भलिबलप्रेमी यहाँ खेलको मज्जा लुट्न र तीज महोत्सव अवलोकन गर्न आउने गर्छन् ।

एपीएफले जित्यो उपाधि

साविक विजेता शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै विभागीय टोली एपीएफ क्लबले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौरमा तीज महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको बिहीबार भएको फाइनलमा एपीएफले न्यु डायमन्डलाई २५-१८, २५-१८, २५-१२ ले हरायो । प्रतियोगितामा एपीएफकी स्पाइकर सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यसैगरी पश्चिमाञ्चलकी पवित्रा बीसी उत्कृष्ट ब्लकर, अरुणा शाही उत्कृष्ट सर्भर, एपीएफकी विनीता उत्कृष्ट सेटर, नेपाल पुलिसकी कमला पुन उत्कृष्ट लिबेरो र एपीएफकी उषा विष्ट उत्कृष्ट क्विकर भए ।

उपाधिसँगै एपीएफले नगद ७५ हजारसहित ट्रफी आफ्नो पोल्टोमा पार्‍यो । नवआदर्श सामुदायिक विकास समाजद्वारा लामाचौरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चारवटा उपाधि जितेको डिफेन्डिङ च्याम्पियन न्यु डायमन्डले ५० हजार रुपैयाँसहित उपविजेतामा चित्त बुझायो । प्रतियोगिताको तेस्रो स्थान नेपाल पुलिस क्लबले हात पार्‍यो । पुलिसले पश्चिमाञ्चल भलिबल संघलाई ३-१ को सेटमा हरायो । तेस्रो हुनेले २० हजार र चौथो हुनेले १५ हजार रुपैयाँमा प्राप्त गरे ।

खेलपछि एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले डिफेन्स र ब्लक राम्रो भएकाले उपाधि जित्न सहज भएको बताए । ‘हामी यहाँ सधैं हार्ने गरेका थियौं । यसपटक खेलाडी नर्भस भएनन् । पहिलो सेटमै राम्रो गर्दा जित सम्भव भयो’, विष्टले भने । न्यु डायमन्डका प्रशिक्षक कुमार राईले रेफ्रीको गलत निर्णयले खेलमा असर गरेको बताए । ‘रेफ्रीले विनीता बुढाथोकीको फललाई बेवास्ता गरे । त्यसले हाम्रो खेलाडीलाई असर गर्‍यो । रेफ्रीले सामान्य कुरामा ध्यान नदिँदाको असर खेलाडी र टोलीमा पर्छ । खेल सुधार गर्न रेफ्रीको स्तरमा पनि ध्यान दिनुपर्छ’, राईले भने । विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.