बाढीपीडितको कन्तबिजोग

बाढीपीडितको कन्तबिजोग

विराटनगर : बिहीबार बिहान १० बजे मुसलधरे वर्षा भइरहँदा विराटनगर महानगरपालिका-४ की ८० वर्षीया कुस्मी शर्मा टहरोमुनि आत्तिँदै रोइरहेकी थिइन्। दुई नाबालक नातिलाई दुईतिर च्यापेर बसिरहेकी शर्मा छेउमा गएर कसैले बोलाउँदा पनि बोल्न सक्ने अवस्थामै थिइनन्। बिहान ९ बजेदेखि परेको वर्षाका कारण उनको होसहवास नै उडेको थियो। ‘हामीलाई बचाइदेऊ हे भगवान् !' भन्दै चिच्याइरहेकी उनका आँखाबाट आँसु बगिरहेका थिए। त्रिपाल टाँगेर बनाएको टहरोले झरी थेग्न सकिरहेको थिएन । त्रिपालले ओत दिन नसक्दा आकाशबाट बर्सिएको पानी उनी बसेकै ठाउँमा खसिरहेको थियो। नातिहरूसहित उनी भिजेर निथ्रुक्क बनेकी थिइन्।

दृश्य कम दर्दनाक थिएन । उनीसँग कम्मरमाथि ढाक्ने कपडासमेत रहेनछ। दुईमध्ये एक नाबालकको शरीरले कपडा नपाएको १२ दिन भइसक्यो। ‘वर्षासँगै आएको बाढीले टाटीले बारेर बनाएको घर र घरमा भएका सबै कुरा बगाएर लग्यो', उनले भनिन्, ‘अहिले मसँग एक छोरो र उसकै दुई छोरा (नाति) मात्रै छन् ।' घरसँगै बाढीले लुगाफाटा पनि बगाएर लगेपछि कम्मरमाथि ढाक्ने कपडासमेत आफूसँग नभएको दुखेसो उनले गरिन्। ‘भएका सामान बाढीले बगाएका कारण कम्मरमाथि लगाउने कपडा नै छैन', उनले भनिन्, ‘फेर्ने लुगा नै छैन।'

उनका तीन छोरामध्ये एकजनाको अकालमा मृत्यु भएको रहेछ। ‘अर्को अलग्गै बस्ने भएकाले मेरो वास्तै गर्दैन', आँसु पुछ्दै उनले भनिन्, ‘मलाई अब यी दुई नाति कसरी हुर्काउने भन्ने चिन्ता छ ।' आफूसँगै बस्ने छोरो २४ वर्षीय दीपक कामको खोजीमा दुई दिनअघि सुनसरीको दुहबीतिर गएको उनले सुनाइन्। छोराले मजदुरी गरेर परिवार पाल्दै आएको सुनाउँदै उनले बाढी गएदेखि मजदुरी गर्न जान नपाउँदा भोकभोकै बस्नुपरेको बताइन्। ‘छोरो (दीपक)लाई बुहारीले छोडेपछि दुई नातिको बिचल्ली नहोस् भनेर मैले नै स्याहार गर्दै आएको थिएँ', उनले भनिन्, ‘बाढीले बिजोग बनाइदिएका कारण नातिहरूलाई कसरी हुर्काउने चिन्ता थपिएको छ।'


-त्रिपालको ओतले छेकिएन झरी
-बादल मडारिँदा आत्तिनुपर्ने अवस्था
-कतिपय पीडित राहतबाट वञ्चित
-राहत, उद्धार र पुनर्वासको पर्खाइ

राहतस्वरुप अहिलेसम्म १० किलो चामल र एउटा त्रिपाल पाएको उनले बताइन्। ‘राहतमा पाएको चामल खाएर सकियो। अहिले खान नपाएर नातिहरू भोक लाग्यो भन्दै छट्पटाइरहेका छन्', उनले दुखेसो गर्दै भनिन्, ‘राहतको त्रिपालले पानी पनि नओताउने भएकाले हामीलाई कहाँ बसेर र के खाएर ज्याउन जोगाउनु भन्ने चिन्ता छ। हाम्रा लागि सरकार छैनजस्तो भएको छ ।'

 

बाढीपछि विस्थापित जीवन बिताइरहेका मोरङको जहदा गाउँपालिका- १ का राजन यादवले भने, ‘अहिलेसम्म हामीले बस्ने ठाउँ र राहत पाउन सकिरहेका छैनौं ।' जनता समस्यामा पर्दा सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा आफूलाई सरकार नभएजस्तो महसुस भइरहेको यादवले बताए। ‘त्रिपाल टाँगेर बसिरहेका छौं । यसले घाम मात्र छेक्छ', उनले भने, ‘पानी परे चुहिन्छ । हाम्रो बिजोग भइसक्यो ।' उनले आकाशमा बादल मडारिँदा पानी परेर बाढी आई बगाउने हो कि भनेर आत्तिनुपर्ने अवस्था रहेको बताए। ‘आकाशमा बादल मडारिँदा आत्तिएर होस नै हराउँछ', लोहन्द्रा खोलाको बाढी गाउँमा पसेर मच्चाएको वितन्डा सम्झिँदै उनले भने, ‘पानी पर्न थाल्यो भने त झन् सातोपुत्लो उड्छ ।'

अर्का बाढीपीडित विनोद महतोले ‘त्रिपालमुनि भोकभोकै कति बस्नुपर्ने हो' भन्दै प्रश्न गरे । ‘गाँस, बाँस सबै गुमाएर हामी भोकभोकै परेको १२ दिन भइसक्यो । तर, सरकारले देख्दैन कि देखेर पनि नदेखेझैं गर्छ ? ', उनले प्रश्न गर्दै भने, ‘राहतमा पाएको त्रिपाल पनि घाम लागेको बेलाबाहेक अरू समय कामै लाग्दैन ।'
बाढीका कारण विस्थापित भएकाहरूको जनजीवत कष्टर बन्दै गएको छ । वर्षाका कारण उनीहरू थप समस्यामा पर्न थालेका छन्। गाँस र बाँस अनि कपास नै गुमाएर त्रिपालमुनि बस्न बाध्य बाढीपीडितको अवस्था दयनीय बन्दै गएको पीडितको उद्धारमा खटिएका युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीले बताए। ‘बाढीपीडितहरू खान र बस्न नपाएर समस्यामा परिरहेका छन्', उनले भने ।

कोही नयाँ मान्छे पुग्दा राहत लिएर आए कि भन्ने आस बाढीपीडितले गर्ने गरेको उनले सुनाए । ‘पीडितहरू राहत, उद्धार र पुनर्वासको पर्खाइमा छन्', उनले भने, ‘आकाशमा बादल लाग्दा र पानी पर्न थाल्दा उनीहरुको सातो उड्छ । अहिलेसम्म सरकारले प्रभावकारी रूपमा पीडितको उद्धार र उनीहरूलाई राहत वितरण गर्न सकिरहेको छैन।' उनका अनुसार पीडितहरू त्रिपालमुनि, खुला चउर, नहरको डिल, सार्वजनिक स्थल, विद्यालय र धर्मशालामा आ श्रय लिएर बसिरहेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पीडितलाई पहिलो चरणको राहत वितरण अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘पहिलो चरणको राहत वितरण सकिन लागेको छ', प्रजिअ आचार्यले भने, ‘त्यसपछि पीडितलाई अन्य राहत वितरण र उनीहरूको उद्धारतर्फ केन्द्रित हुनेछौं ।' पहिलो चरणको राहत वितरणपछि वासस्थानको व्यवस्था गर्नेतर्फ केन्द्रित हुने उनले बताए। मोरङमा बाढीले आठ हजार पाँच सय घर डुबानमा परेका थिए । प्रहरीका अनुसार बाढीका कारण तीन हजार दुई सय एक घरका ११ हजार चार सय २० जना विस्थापित भएका छन् । ६० घर बाढीले बगाएको छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.