माओवादी बुर्जुवा समावेशी लोकतन्त्रलाई टेकेर अघि बढ्न चाहन्छ : नारायणकाजी
सुर्खेत : प्रदेश नम्बर ६ को प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले माओवादी बुर्जुवा समावेशी लोकतन्त्रलाई टेकेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘माओवादीले सामन्तवादको अन्त्य र पूँजीवादी संघीय लोकतन्त्र स्थापित गर्यौ। यो बुर्जुवा समावेशी लोकतन्त्र नै हो। यसमा टेकेर माओवादी अघि बढ्न चाहन्छ’, श्रेष्ठले भने, ‘हामी गर्व गरेर भन्न सक्छौँ, गणतन्त्र, समावेशी लोकतन्त्र, संघीयता, संविधान माओवादीले ल्याएको हो। अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि संविधान कार्यान्वयनले गति लियो, स्थानीय तह बन्यो र स्थानीय तहको चुनाव सम्पन्न भयो।’
श्रेष्ठले संविधान कार्यान्वयका लागि तिनै तहको निर्वाचन हुनैपर्नै बताएका छन् । ‘संविधान कार्यान्वयनका लागि तिनै तहका चुनाव हुनैपर्छ साथै परिवर्तनका उपलब्धि जोगाउन माओवादीले जित्नैपर्छ। अहिले हाम्रो मुख्य कार्यभार चुनाव गर्नु र जित्नु नै हो’, नेता श्रेष्ठले भने, ‘संसदवाद र शान्तिपूर्ण प्रतिस्पर्धा एउटै कुरा होइन। हामी संसदवादको विरुद्धमा छौँ। तर, शान्तिपूर्ण प्रतिस्पर्धालाई कार्यनीति बनाएका छौँ ।’