साउदीआवद्ध हवाई कारबाहीमा ४२ सर्वसाधारणको मृत्यु
जेनेभा: यमनमा गत हप्ता भएको साउदी अरेबियाआवद्ध हवाई कारबाहीमा ४२ सर्वासाधारण मारिएका छन्।
सो कारबाहीमा मारिएका सर्वसाधारणहरुमा बालबालिका पनि रहेका संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालयले शुक्रबार जानकारी दिएको छ।
गत अगस्त १७ बाट २४ सम्म भएका यस्ता हवाई कारबाहीका ५८ जना सर्वासाधारण मारिएका सो कार्यालयले बताएको छ। यद्यपी जसमध्ये ४२ जना भने साउदी अरेबियाआवद्ध हवाई कारबाहीमा मारिएका संयुक्त राष्ट्र संघ मानव अधिकार कार्यालयका प्रवक्ता लिज थ्रोस्सेलले बताउनु भएको छ।
साउदी अरेबियाले हुथी विद्रोहीहरु लक्षित कारबाही गर्दै आएको छ । साउदी अरेबियाको समर्थन रहेको यमन सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच सन् २०१५ बाट जारी युद्धमा हालसम्म आठ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ।
यमनमा हालका दिनमा साउदी अरेबिया आवद्ध हवाई कारबाही बारम्बार हुने गरेको पाइन्छ। यस्ता कारबाहीहरु निर्दोष सर्वसाधारण ज्यान गुमाउने क्रम पनि जारी रहेको छ।
गत जुनमा उत्तरी यमनको बजार इलाकामा भएको हवाई कारबाहीमा परी २४ सर्वसाधारण मारिएका थिए। रासस/एएफपी