कलेजको अर्बौं सम्पत्ति व्यक्तिका नाममा ल्याउने प्रयास
काठमाडौं : सामाजिक संस्थाको रूपमा दर्ता भई सञ्चालनमा आइरहेको भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको अर्बैाँ रुपैयाँको सम्पत्ति व्यक्तिका नाममा ल्याउने प्रयास भएको छ । चाँगुनारायणस्थित कलेजको ३९ रोपनी जग्गा, त्यसभित्र बनेको आधुनिक भवन, राज्यबाट कर छुटमा ल्याइएको प्रयोगशालाका सामग्रीलगायत चल अचल सम्पत्ति व्यक्तिगत बनाउने प्रयास गरिएको हो । कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले कलेज सञ्चालन बोर्डका सदस्यलाई जानकारी नगराई निजी स्वामित्वको संस्था दर्ता गराएर सम्पत्ति 'ट्रान्सफर' गराउन लागेका हुन् ।
०५१ सालमा स्थापना भएको उक्त कलेज ०६० मा विधिवत् रूपमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रूपमा दर्ता भएको छ । दर्ता नम्बर ५५२ रहेको उक्त कलेजको विधानमा नै 'मुनाफारहित उद्देश्यले स्थापना गरिएको' उल्लेख छ । कानुनी व्यवस्थाअनुसार सामाजिक संस्थाका रूपमा स्थापित कुनै पनि संस्था सञ्चालन गर्न कठिन भएको अवस्थामा सम्पूर्ण सम्पत्ति राज्यलाई बुझाएर बन्द गर्नुपर्ने हुन्छ । व्यक्तिको नाममा कुनै पनि हालतमा ल्याउन मिल्दैन।
न्यौपानेले आफूखुसी निजी कम्पनी दर्ता गरी कलेजको सम्पत्ति आफ्नो नाममा ल्याउन लागेको थाहा पाएपछि अन्य सदस्यले विरोध गरेका छन् । कलेज सञ्चालक समितिमा ७ जना सदस्य छन् । न्यौपानेले कम्पनी रजिस्टारको कार्यालयमा आफ्नो कम्पनी दर्ता गरेर जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय भक्तपुरमार्फत सम्पत्ति ट्रान्सफर गराउने प्रक्रिया सुरु गरिसकेका छन् ।
न्यौपानेको यस्तो प्रयासबारे जानकारी पाएपछि कलेज सञ्चालक हरिप्रसाद पाण्डे, शलिल भट्टराईलगायतले मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत रोक्का गरिपाऊँ भनी निवेदन दिएका छन् ।
सामाजिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका सम्पूर्ण सम्पत्ति सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेको नाममा लैजाने प्रयास
सञ्चालक पाण्डेले भने, 'कलेज सामाजिक संस्थाका रूपमा दर्ता भएको विधानमा उल्लेख छ । तर, न्यौपानेले अन्य सदस्यलाई प्रलोभनमा पारेर आफ्नो नाममा ल्याउने प्रयास गरेका छन् । जुन गैरकानुनी मात्र होइन, यो आपराधिक काम हो ।'
कलेजमा हाल २ हजार हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । न्यौपानेले आफूले दर्ता गरेको निजी कम्पनीमा कलेजका सम्पूर्ण ब्रान्डसमेत हस्तान्तरण गर्न खोजेका छन् । अर्का सञ्चालक शलिल भट्टराईले व्यक्तिका नाममा दर्ता भएको कम्पनीमा सम्पत्ति लैजान खोज्नु न्यौपानेको बद्मासी भएको बताए । 'सामाजिक संस्थाका रूपमा दर्ता भएको नाताले विगतमा कलेजले विभिन्न उपकरण किन्न राज्यबाट कर छुट पाएको छ ।
सामाजिक संस्था भएकै कारण कलेज स्थापनाका क्रममा चाँगुनारायण क्षेत्रको १ सय ७४ रोपनी जग्गा कलेजलाई भोगचलन गर्न दिइएको थियो', भट्टराईले भने, 'यी सबै सुविधा भोगचलन गरेर कलेजलाई विद्यार्थीको आकर्षणको केन्द्र बनायौं । अहिले नाफा हुन थालेपछि व्यक्तिको नाममा लैजान मिल्दैन । हामी कुनै पनि हालतमा यो काम हुन दिँदैनौं ।'
न्यौपाने अध्यक्ष भएपछि कलेजको आर्थिक गतिविधि पारदर्शी नभएको, बोर्ड सदस्यको नाममा करोडौं रकम कुनै हिसाबविनै निकासा भइरहेको लगायत आरोप भट्टराईले लगाए ।अध्यक्ष न्यौपानेले चाहिँ बोर्ड बैठकले नै कलेजको सम्पत्ति अर्को संस्थाको नाममा लैजान आफूलाई अधिकार दिएको दाबी गरे । आफ्नो नाममा नयाँ संस्था दर्ता भए पनि यो सजिलोका लागि मात्र भएको र उक्त कलेजमा हालका बोर्ड सदस्य सबै सदस्य रहने न्यौपानेले बताए ।
न्यौपानेले नयाँ कम्पनी दर्ता गरेर पोखरा विश्वविद्यालयको हालको सम्बन्धनलाई समेत समाप्त पारी मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धनमा पठनपाठन सञ्चालन गर्ने तयारी गरेका छन् । मध्यपश्चिमाञ्चलको सम्बन्धन भने अहिले विवादित बनेको छ । विश्वविद्यालय प्रशासनले भौतिक पूर्वाधार नभएका कलेजलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थी संगठन र विश्वविद्यालयकै केही प्रतिनिधिसमेत आन्दोलनमा छन् । जसकारण अहिले सम्बन्धन प्रक्रिया रोकिएको छ ।
कलेजले सम्बन्धन नै परिवर्तन गर्ने सम्भावना रहेपछि विद्यार्थी पनि चिन्तामा छन् । 'अब नयाँ सम्बन्धनका कारण पुरानो सम्बन्धनका हामीलाई माथिल्लो स्तरको पढाइमा असर पार्ने हो कि ? ' एक विद्यार्थीले भने ।