च्याट्ट टुट्न सक्छ यो जिन्दगी

च्याट्ट टुट्न सक्छ यो जिन्दगी

जीवनको पाठशालामा

'बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको' सन् १९३५ जुलाई २ अर्थात् १९९२ साल असार १८ गते मंगलबार भारतको आसाम राज्यको डिब्रुगढ, बर्डबिलको ख्वाङ गेर्‍गेरी गाउँमा जन्मिएका हरिभक्त कटुवाल किस्सैकिस्साका एउटा जिन्दगी हुन् ।

बूढीडिङ नदीमा आएको बाढीले सबथोक बगाएपछि नौ महिनाका हरिभक्तलाई बोकेर बोगिबिल आएको कटुवाल-परिवार ब्रह्मपुत्रको किनारमा आश्रय लिन पुग्यो । सन् १९५० को भुइँचालोले थला परेको बोगिबिल तंग्रिन नपाउँदै ब्रह्मपुत्रमा आएको बाढीले नेपालीभाषीहरूको बस्ती बगरमा परिणत गरिदियो । त्यो त्यही समय थियो, जति बेला हरिभक्त जागुनमा आपैंm विद्यालय खोलेर शिक्षाको ज्योति छरिरहेका थिए ।

उनको लेखनको सुरुआत आसामिया भाषाबाट भयो । महानन्द सापकोटाबाट प्रभावित भएर उनले नेपाली भाषामा कलम चलाउन सुरु गरे । अभाव नै अभावले जेलिएको जिन्दगी बाँच्दा पनि उनीभित्रको नेपाली भाषा साहित्यप्रतिको भोक कहिल्यै मेटिएन । आसामी भूमि, जहाँ उनले नेपाली भाषाका किताबमात्रै पढाएनन्; नाच्न, गाउन, चित्रकला, अभिनय पनि सिकाए आफ्ना विद्यार्थीलाई । उनी विद्यार्थीसँग भन्ने गर्थे, 'तिमीहरूले फूल रोप्नू, रूख रोप्नू ।'

जयकुमारी शाहीसँग प्रेमविवाह गरी वैवाहिक जीवनमा बाँधिएका हरिभक्तका कविता, काव्या, दिगन्त र कल्पना गरी चार सन्तान जन्मिए । एकातिर चरम आर्थिक संकट, अर्कोतिर परिवारप्रतिको दायित्व । यिनै कार्यकारण शृंखलामा उनी भौंतारिरहे । कहिले तरकारी बिक्रेता बने त कहिले रेन्टुरेन्टको मालिक । परन्तु उनको कवि हृदय व्यवसाय वा पेसामा अल्झिन मानेन ।

 

हरिभक्तको सबथोक आसाममै थियो । जंगलमै किन नहोस्, ब्रह्मपुत्रले विस्थापित बनाएकाहरूलाई सरकाले पेङरीमा दिएको जमिन थियो । सानो तर सन्तुष्टिको जागिर थियो । मन लाग्दा गरेको भात-होटेल र तरकारी पसल खोल्ने ढोका खुल्लै थियो । उहीँ थियो, आफूले बनाएको स्कुल, ढकमक्क फुलिरहेका फूलहरू, जसलाई जतनले रोपेका थिए हरिभक्तले । माया नै नलागेर छोडेका त पक्कै होइनन् होला मुटुका टुक्राजस्ता छोराछोरी र हरेक सुखदुःखमा साथ दिने भनेर सात फेरो गरी भित्र्याएकी श्रीमती । बाबु बितेपछि उनकै भरोसामा थिए भाइबहिनी पनि तर हरिभक्तको मनलाई कुनै सांसारिक मायाजालले बाँध्न सकेन । उनलाई बाँध्यो त केवल नेपाली भाषा, कला, साहित्य र संस्कृतिको डोरीले । र, त्यही डोरीको छेउ समोतर उनी आइपुगे-काठमाडौं ।

काठमाडौंको घाउ

काठमाडौं आइपुगेपछि लागेको हो- हरिभक्तमाथि 'रक्सी'को ट्याग र काठमाडौंले नै दिएको हो अनगिन्ती चोट । त्यसैका कारण जन्मिए उनका कालजयी सिर्जना । नेपाल साहित्य संस्थानका कार्यालय सचिव रहेका हरिभक्त संवत् २०२६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको जागिरे बने । हरिभक्त प्रबन्ध सम्पादक रहेर पहिलोपटक प्रज्ञाप्रतिष्ठानले आफ्नो मुखपत्र 'प्रज्ञा' प्रकाशनको सुरुआत गर्‍यो ।

भरपर्दो जागिर भएपछि उनले छोराछोरी र श्रीमतीलाई पनि काठमाडौं झिकाए । तर, बिडम्वना प्रज्ञाप्रतिष्ठानको जागिरमा हरिभक्त लामो समय टिक्न सकेनन् । भनौं, प्रतिष्ठानमा हालिमुहाली गरिरहेकाहरूका निम्ति स्वाभिमानी हरिभक्त तगारो बने । गैरनेपाली नागरिक भनी उनीमाथि दुव्र्यवहार गरियो । हरिभक्तले प्रतिष्ठानको 'भतुवा' जागिरलाई तत्कालै लात हाने र पछि प्रतिष्ठानले प्रदान गरेको 'विद्वत्वृत्ति'समेत फिर्ता गरे । तब सुरु भयो एउटा घाउ जिन्दगीको र उनी यसरी पोखिए-

'मलाई नसोध कहाँ दुख्छ घाउ,
म जे छु ठीकै छु बिथोल्न नआऊ ।'

हरिभक्तमै आश्रित थियो सिंगो परिवार । पुतलीसडकको डेरा, बेरोजगार हरिभक्त र भोकभोकै परिवार । साहित्य-सिर्जनामा उनको लगाव र नेपाली भाषा-संस्कृतिप्रतिको मोह देख्दा भन्न सकिन्छ, उनको जन्म नै नेपाली भाषा-साहित्यको श्रीवृद्धिका लागि भएको हो । पुतलीसडकको डेरामा जब उनी लेख्न बस्थे, छोराछोरीलाई भन्थे, 'अब म लेख्न थाल्छु । तिमीहरू एकछिन डिस्टर्ब नगर है !' तर, हरिभक्तको एकछिन कहिलेकाहीँ सिंगै रात बनेर बितिदिन्थ्यो ।

लामो अस्पताल बसाइबाट अलिअलि तंग्रिएका हरिभक्तले एकाएक आसाम फर्कने निर्णय गरे । काठमाडौंदेखि आसामको दूरी नजिक थिएन । साथीहरूसँग धेरैपटक भनेका थिए, 'अब म कहिल्यै काठमाडौं फर्किन्नँ । मलाई आसामसम्म पुर्‍याइदेऊ ।' कुनै दिन हरिभक्तका लागि सबथोक थियो नेपाल । तर, अन्तिम घडीमा उनी किन आसाम फर्किन चाहे ?

बुवासँगको पुतलीसडकको बसाइलाई यसरी सम्झन्छिन् कान्छी छोरी कल्पना 'म कीर्तिपुरको ल्याब्रेटोरी स्कुलमा पढ्थेँ । आमा र भाइ आसाम फर्किसकेका थिए । एक दिन स्कुलबाट डेरामा आइपुग्दा बुवा केही लेख्दै हुनुहुन्थ्यो । बुवाले मलाई भन्नुभयो- छोरी, तिमी एकछिन तल खेल्दै गर । म यति लेखिसक्छु । मलाई त्यो सानो उमेरमा पनि यत्ति कुराको हेक्का थियो, बुवा लेख्न बस्नुभएको छ, मैले डिस्टर्ब गर्नु हुँदैन । म बुवालाई 'हस्' भनेर तल झरेँ । सोचेँ, लेखिसकेपछि बुवा मलाई लिन तल झर्नुहुनेछ । मिनेट बित्यो । घन्टा बित्यो । साँझ ढल्यो । रात छिप्पिँदै गयो । सिंगो सहर निदायो । थाहा छैन, म कति बेला सिँढीमै निदाएछु । सायद बुवा रातभरि लेखिरहनुभयो । बिहान भएपछि बुवालाई पत्तो भएछ र मलाई खोज्दै आउनुभयो । रातभरिको चिसो बुवाको काख पाएपछि मैले सबै बिर्सिएँ । बुवा मेरो खुट्टा ढोग्दै, माफी माग्दै बुवा निकै बेर रोइरहनुभयो । म पनि रोएँ ।'

हरेक मान्छेको आआफ्नै स्वभाव हुन्छन् । हरिभक्तको अन्तिम गीतमा संगीतसमेत गरेका बुलु मुकारुङ सम्झन्छन्, 'त्यति बेला नेपालमा क्रिकेटको खासै क्रेज थिएन । न कसैले क्रिकेट हेर्थे । कमैले मात्रै खेल्थे । हरिभक्तसँग एउटा सानो रेडियो थियो । प्रायः उनीसँग नछुट्ने । नेपालमा त्यति बेला अल इन्डिया रेडियोको प्रसारण राम्रैसँग सुनिन्थ्यो । हरिभक्त खुब चाख लगाएर रेडियोमा सुन्थे- क्रिकेट कमेन्ट्री । उनी भाषा-साहित्यमा मात्र होइन खेलकुदमा पनि उत्तिकै चासो दिन्थे । मैले त्यो बेला हरिभक्तबाहेक रेडियोमा क्रिकेटको कमेन्ट्री सुन्ने अर्को मान्छे भेटिनँ ।'

सम्बन्धले पनि मान्छे-मान्छे बीचको दूरी निर्धारण गर्दो रहेछ । केही यस्ता मान्छे थिए काठमाडौंमा जो आफूलाई जत्तिकै माया गर्थे हरिभक्तलाई । २०३७ साल जेठ १३ गतेको साँझ हरिभक्तको अन्तिम बिदाइका लागि पुतलीसडकको संगम लजमा थिए, नगेन्द्रराज शर्मा, अम्बर गुरुङ, गोविन्द गिरी 'प्रेरणा', अनिता तुलाधर, अशेष मल्ल, शिव अधिकारी, धीरेन्द्र मल्ल, ध्रुव मधिकर्मीलगायत । अम्बर गुरुङले सोधे, 'तपाईं एक्लै जानुहुन्छ ? कि अरू पनि कोही छन् साथमा जाने ? ' हरिभक्तले दबिएको स्वरमा भने, 'म एक्लै जान्छु अम्बर । आउँदो जेठको २२ गते बाको पैंतालीस दिनको मासिक छ । म जेठो छोेरो नगए आमा रुनुहुन्छ । मलाई जसरी पनि पुग्नु छ ।'

बिस्तारै हरिभक्तको आवाज भक्कानियो, 'अन्तिम अवस्थामा बाको मुखसम्म हेर्न पाइनँ', कटुवाल बिस्तारै अम्बर गुरुङलाई भन्दै जान्छन्, 'अम्बर, तिम्रो यहाँ कुनै कदर छैन । एकेडेमीले तिमीप्रति गरेको कुव्यवहारले मेरो हृदय साह्रै दुखेको छ । त्यहाँ तिमी अटाउँदैनौ । हामी अटाउन सक्दैनौं । आसाम काठमाडौंभन्दा धेरै ठूलो छ । तिमी पनि उतै हिँड । त्यहाँ म तिमीलाई पाल्न सक्छु ।'
'हरिभक्तका आँखाबाट आँसुका धारा बग्छन् । हामी सबै मौन भएर उनी रोइरहेको हेरिरहन्छौं', प्रस्तुत घटनाका साक्ष्य दिव्य गिरी भन्छन्, 'के यहाँ साहित्यको सेवा गर्न, कलम चलाउनु पनि अपराध हुन्छ ? '

हरिभक्तले रक्सी पिए कि रक्सीले हरिभक्त ?

मदिरा पिउनेहरूको लहर हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । यस्तै एक पात्र हरिभक्तको जिन्दगी रक्सीको किस्साबाट कहिल्यै मुक्त हुन सकेन । हरिभक्तका केही समकालीन भनाउँदाहरू अहिले आएर हरिभक्तसँगका रक्सीका किस्सा जोडेर आफूलाई लेखक हरिभक्तसँग तुलना गर्न खोजिरहेका छन् । हरिभक्तसँगै बसेर पिउने साथीहरूले कहिल्यै स्वीकारेनन् आफू जँड्याहा हुँ भनेर । एउटै टेबुलमा बसेर पिउने चारजनामध्ये तीनजना चैँ सज्जन तर हरिभक्तमात्र जँड्याहा ?

शैलेन्द्र साकार भन्छन्, 'हरिभक्त आफैंमा एउटा मिथक थिए । उनीसँग गुनासो राख्ने सम्पूर्ण प्रियजनहरू, उनलाई लाचारीको गीत गाउन बाध्य तुल्याउने उनका सुविधाभोगी मित्रहरू, उनलाई सडकमा आफैंसँग लिएर हिँड्न गर्व गर्ने युवापिँढी, भट्टीपसलमा उनका मुक्तकहरू सुनेर अरू रक्सी खान रुचाउने साहित्यप्रेमी उनका जँड्याहा साथीहरू..., सबैले कटुवाललाई आफ्नो जिन्दगीभर सम्झिरहनेछन् । ...अनि त्यो इतिहासमा कहिल्यै नलेखिने घरबेटी, जसले कटुवालका गुन्टा र भाँडाकुँडा सडकमा फ्याँकिदिएको थियो । उनी भित्र जे थिए, सायद बाहिर त्यै थिए । उनलाई ढल्नका लागि हामीले एउटा ओछ्यानसम्म पनि दिन सकेनौं ।'

हरिभक्तले संसार छाडेर गएको पनि चार दशक हुन लागिसक्यो, अपितु हरिभक्तलाई रक्सीसँग तुलना गरेर यत्ति ठूलो किस्सा किन बनाइन्छ ? के हरिभक्त रक्सीकै पर्याय हुन् त ? हरिभक्तका सिर्जनाहरू निकम्मा हुन् भने किन पढाइन्छ विश्वविद्यालयमा ? के हरिभक्तका सिर्जनामा समाज कम, ज्यादा रक्सी भेटिन्छ ?

यस्तो लाग्छ, हामीले हरिभक्तको व्यक्तिगत चरित्रलाई मात्र पढिरहेका छौं । उनको सिर्जनाभित्रको समाज पढिरहेका छैनौं । अझ भनौं, उनले नेपाली भाषा-साहित्यमा पुर्‍याएको योगदानको अवमूल्यन गरिरहेका छौं । उनले छोडेर गएका सिर्जना आजसम्म जीवित छन् । हरिभक्तलाई रक्सीले बदनाम गरायो । रक्सी कम, ज्यादा समाजले बदनाम गरायो । त्योभन्दा बढ्ता उनका समकालीनले बदनाम गराए । वर्तमान पुस्ताले हरिभक्त चिनेको रक्सीले होइन, उनको सिर्जनाले हो ।

अज्ञात एउटा रातो डायरी

हरिभक्तका समकालीनले बारम्बार भन्दै आएका छन्- हरिभक्त डायरी लेख्थे । उनको एउटा 'रातो डायरी' थियो, जुन हरायो । हरिभक्त आफैंले पनि साथीहरूसँग बेलाबखत डायरी देखाउँदै भनेका थिए, 'मेरो सबथोक यही डायरीभित्र छ ।' समकालीनहरूको आकलन छ- रातो डायरीभित्र हरिभक्तले आफ्नो सिंगो जीवनको ऊहापोह लेखेको हुनुपर्छ । उनले पीडामा लेखेका कैयन सिर्जना रातो डायरीमै थिए ।

हरिभक्त बिरामी भएर थला परेको समयमा उनको रातो डायरी चोरियो । हरिभक्तको रातो डायरीलाई लिएर विक्रमवीर थापाले 'हत्या रातो डायरीको' शीर्षकमा किताब लेखे तर हत्यारा किटान गर्न सकेनन् । काठमाडौं छोड्ने अन्तिम दिनसम्म पनि साथीहरूसँग हरिभक्त भनिरहेका थिए, 'मेरो रातो डायरी हरायो । मेरो जिन्दगीको दस्तावेज हरायो ।'

रातो डायरीमा कवि हरिभक्तले जीवनको अन्तिम घडीमा लेखेका अप्रकाशित सिर्जना थिए । तर, रातो डायरी आजसम्म पनि रहस्यकै गर्भमा छ 

रातो डायरी भेटिने झिनो आशा हरिभक्तमा जीवनको अन्तिम समयसम्म पनि थियो । घर पुगेपछि हरिभक्तले रातो डायरी हराएको आफ्नी जेठी छोरी कवितालाई सुनाए । रातो डायरी हराएको पीडाबाट विक्षिप्त बुवासँगको कुराकानी सम्झिन्छिन् कविता । 'अनि हरिभक्त फर्किएनन्' नामक वृत्तचित्रमा कविताले भनेकी छन्, 'बुवा ओछ्यानमा हुनुहुन्थ्यो । मलाई छेउमै बोलाएर भन्नुभयो- छोरी मेरो सबथोक हरायो । मैले सबै गुमाएँ । एक्कासि बुवा भक्कानो छाडेर रुनुभयो । मैले सान्त्वना दिँदै भनेँ- बुवा, किन यस्तो हरेश खानुहुन्छ ? तपाईंको साथमा हामी सबै छौं त । तपाईंले केही गुमाउनुभएको छैन । बुवाले बरर आँसुका ढिका झार्नुभो र भन्नुभयो- म तिमीहरूको हुन सकिनँ ।


तिमीहरू सधैं मेरो भइरह्यौ । तर, मेरो बहुत मूल्यवान् चिज हरायो छोरी । मैले सोधेँ- हामीभन्दा मूल्यवान् के छ र बुवा, तपाईंका लागि ? बुवाले भन्नुभयो- मैले पछिल्लो समय लेखेका रचनाहरूको एउटा रातो डायरी थियो, त्यो हरायो । चोरी भयो । पछि मैले अविनाश श्रेष्ठसँग रातो डायरीको विषयमा सोधेँ । उहाँ हाम्रो लागि सबैभन्दा नजिकको मान्छे हुनुहुन्थ्यो काठमाडौंमा । उहाँले भन्नुभयो- खै हरिभक्तले डायरी पनि लेख्थे र ? मलाई त थाहा छैन । तर, बुवाले मैसँग भन्नुभएको हो, रातो डायरी हराएको कुरा ।'

आखिर के लेखेका थिए हरिभक्तले रातो डायरीभित्र ? आफ्नै जिन्दगीको आरोह-अवरोह ? कसैप्रतिको आग्रह-पूर्वाग्रह ? अन्तिम समयमा आफूभित्र गुम्सिएका भावना ? अथवा कटुवालले भनेजस्तै जिन्दगीको अन्तिम समयमा लेखिएका बहुमूल्य रचनाहरू ?
समकालीनहरूको ठम्याइ पनि यही छ । रातो डायरीमा हरिभक्तले जीवनको अन्तिम घडीमा लेखेका अप्रकाशित सिर्जना थिए । रातो डायरी आजसम्म पनि रहस्यकै गर्भमा छ ।

अन्तिम श्वास

लामो अस्पताल बसाइबाट अलिअलि तंग्रिएका हरिभक्तले एकाएक आसाम फर्कने निर्णय गरे । काठमाडौंदेखि आसामको दूरी नजिक थिएन । साथीहरूसँग धेरैपटक भनेका थिए, 'अब म कहिल्यै काठमाडौं फर्किन्नँ । मलाई आसामसम्म पुर्‍याइदेऊ ।' कुनै दिन हरिभक्तका लागि सबथोक थियो नेपाल । तर, अन्तिम घडीमा उनी किन आसाम फर्किन चाहे ? 

नेपाल छँदा बिरामी भएका हरिभक्तको उपचारका लागि अहोरात्र खटिएका नगेन्द्रराज शर्मा भन्छन्, 'कुनै पनि व्यक्तिले इमानदारीका साथ एउटा साथीले अर्को साथीका लागि गर्नुपर्ने न्यूनतम सहयोगसम्म पनि गरिदिएको भए आजको युगमा जाबो टीबी र अल्सरजस्तो मामुली रोगले हरिभक्त कटुवाललाई कदापि खान सक्ने थिएन । मैले हरिभक्त बिरामी छन्, तपाईंहरू सहयोग गर्नोस् भनेर प्रज्ञाप्रतिष्ठान, साझा प्रकाशनलगायतका संघसंस्थामा चिठी काटेँ । केहीले सहयोग त गरे तर त्यो पर्याप्त थिएन', निकै भावुक हुँदै शर्मा सम्झन्छन्, 'दिन त के सक्यौं र हामीले हरिभक्तलाई ? अन्तिम समयमा उनले भनेका थिए, मलाई एउटा मम पकाउने भाँडो किनिदेऊ ।

म मम खान्छु । त्यति बेलाको काठमाडौंमा मम पकाउने भाँडो कतै पाइएन । हामीले उनको अन्तिम इच्छा पनि पुर्‍याउन सकेनौं । भन्न त धेरैले भने मैले कटुवाललाई खुवाएँ, पिलाएँ, पैसा दिएँ, सहयोग गरेँ तर ती सबै भूmठा हुन् । कसैले केही गरेनन् । सँगै खाइयो, खेलियो, रमाइलो गरियो । मैलेमात्र होइन, उसले पनि त्यत्तिकै गरेको छ । यो कुराको हेक्का कसैलाई रहेन ।'

अनगिन्ती सपना बोकेर काठमाडौं आएका हरिभक्तका सपनाहरू कति बाग्मतीमा बगे । कति टुकुचामा मिसिए । कति आफैंले पिइदिए पुतलीसडकका भट्टीहरूमा र कति सपनाहरू जले होलान् अभावको भुंग्रोमा । फर्कंदा हरिभक्त रित्तो थिए । प्रायः शून्यशून्य थिए । जाने बेलामा उनले बडो जतनका साथ लगेको यौटै वस्तु थियो— काँडैकाँडाको सिउँडी फूल ।

जेठ १४ गतेको बिहान ४ बजे काठमाडौंबाट काँकडभिट्टाका लागि छुटेको कन्काई यातायातमै भेट्टाए हरिभक्तले आसाम पुग्ने सहयात्रीहरू, जसले बिरामी हरिभक्तलाई सुरक्षित रूपमा पुर्‍याइदिए गन्तव्यसम्म ।
हरिभक्तसँगै आसाम पुग्यो एउटा भरिएको टिनको बाकस । बाकसमा थियो— शुभचिन्तकले दिएका केही थान उपहार । काठमाडौंले दिएको भोक, रोग, शोक र तिस्कार पनि हरिभक्तसँगै पुग्यो आसामसम्म । महँगो र सुविधासम्पन्न अस्पतालमा उपचार गराउने हैसियत थिएन कटुवाल परिवारसँग । त्यसैले उनलाई डिब्रुगढको सरकारी अस्पतालमा भर्ना गरियो । अन्तिम अवस्थामा रहेका हरिभक्तलाई अस्पतालकै शय्यामा भेटेका विजय ढुंगेल सम्झन्छन्, 'हरिभक्त कटुवाललाई मेडिकल वार्डको ८ नं. बेडमा राखिएको रहेछ ।

म मेडिकल वार्डमा छिरेर हेर्दै गएँ । ८ नं.मा कुनै एउटा बालक सुतिरहेजस्तो लाग्यो । फर्किन खोज्दा पछाडिबाट आवाज आयो— ए विजय ! मैले जुन बालक सुतिरहेको सम्झेको थिएँ त्यो बालक नभएर हरिभक्त कटुवाल रहेछन् । उनले मलाई भने— विजय तिम्ले मेरो घर गएर भन्नु है— फूलहरूमा पानी हालिदिनू, लहराहरू नकाटिदिनू । अस्पतालबाट पेङरीस्थित कटुवालको घर फर्कंदै गर्दा मेरो मनमा एउटै कुरा खेलिरह्यो— हरिभक्त कस्ता मान्छे होलान्, आफू मृत्युसँग पौंठेजोरी खेलिरहँदा समेत आफूले रोपेका फूलहरूको चिन्तामा छन् । मलाई लाग्छ, हरिभक्तलाई सच्चा सम्मान गर्ने हो भने उनको श्रद्धाञ्जलिमा प्रत्येक वर्ष दुईदुईवटा फूल रोपिदिए पनि पुग्छ ।'

जीवन र मृत्युको दोबाटोमा लामो समय अल्झिएर अस्पतालको शय्यामा सुतेका हरिभक्त २०३७ साल भदौ २५ गते यसरी निदाए, त्यसपछि कहिल्यै ब्यूँझिएनन् । उनको पार्थिव शरीरलाई डिब्रुगढस्थित चौकीढिङको बस्तीको बीचमा रहेको मसानघाटमा दाहसंस्कार गरियो । कति थिए होलान् उनका कविता सुनेर 'वान्स मोर' भन्दै चिच्याउनेहरू ? कति थिए होलान् उनका गीत सुनेर भावुक हुनेहरू ? कति थिए होलान्, उनलाई मनमा सजाउने फ्यानहरू ? उनका सिर्जनामा जोडिएका लाखौं शुभचिन्तकमाझ पनि उनले जीवनको अन्तिम अवस्थामा जम्माजम्मी १३ जना मलामी पाए ।

जुन माटोमा उनले पहिलोपटक आँखा उघारे, त्यही माटोमा अन्तिमपटक चिम्लिए आँखा । जहाँ उनले पहिलो श्वास फेरे त्यहीँ फेरे अन्तिम श्वास । के-के गर्छु भनेर सोचेका थिए होलान्, हरिभक्तले जिन्दगीमा ? उनले सोचेजस्तो भयो कि भएन उनको जिन्दगी ? आफ्नै जिन्दगीमाथिको दूरदृष्टि जस्तो लाग्छ यी हरफहरू :
पसलमा सोकेसभित्र सजाइराखेको
काँचको चुराजस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी
रबरका सस्ता चप्पलजस्तै यो जिन्दगी
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी
यो जिन्दगी खै के जिन्दगी ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.