एउटी वृद्धाको एकान्त

एउटी वृद्धाको एकान्त

सम्बन्ध र स्वामित्व नभएका विषयको पनि माया लागेर आउँदो रहेछ कहिलेकाहीँ । संवेदनाको स्वरूपमा मात्रै पनि जीवनका थुप्रै क्षण, प्रसंग, वस्तु, व्यक्ति, ठाउँ जोडिइने रहेछन् । जीवन हिँडाइ-क्रममा त्यस्ता झिल्काहरू कतै आँखामा ठोकिएर हृदयमा छाल उठाउँदै बिलाएर जाँदा रहेछन् अनि केही चाहिँ यात्रामा ठेस बनेर लामो समयसम्म असर बनाइरराख्दा रहेछन् । सायद यस्तै कारणले पो हो कि असान्दर्भिक र असम्बन्धित थोकहरूको पनि 'माया लागेर आउनु'कै कारण पछि स्वामित्वकरण हुन्छन् वा सम्बन्धित भएर जान्छन् ।

Bijaya-Sapkota_1त्यसो त असामान्य र असाधारण विषय आममान्छेका जीवनसँग कमै साक्षात्कृत हुन्छन् । भइहाले पनि सामान्य मान्छेको जीवनमा त्यो कि त दुर्घटना हुन्छ कि त बेवास्तापूर्वक बिलाएर जान्छ, विशिष्ट भनिएकाको जस्तो विशिष्ट बन्दैन । असामान्य र असाधारण विषय दुनियाँमा प्रतिभाशाली वा शक्तिशाली मान्छेले मात्रै झेल्ने र भोग्ने हो । जगत्का तमाम शक्ति र सत्ताबाट किनारा लगाइएको आम मानिसको जीवनसँग सम्बन्धित कुराहरू जतिसुकै असामान्य र असाधारण नै किन नहुन ती स्वाभाविक नै ठहर्छन् । सामान्य वा असामान्य अनि साधारण वा असाधारण भन्ने कुरा पनि समय, सन्दर्भ र चरित्रको सापेक्षतामा भर पर्दोरहेछ ।

म बस्ने अपार्टमेन्टकोे पारिपट्टि यहुदीहरूको सिनेगगसँगै जोडिएको एउटा पुरानो घर छ । मान्छे बस्न छाडिसकेको जस्तो- बेस्याहारको । त्यहाँ कहिल्यै मान्छे देखेको छैन मैले । घरकोे आँगनमा पलाएका घाँस र जथाभावी बढेका फूलका झाडीले लामो समयदेखि यहाँ कोही बसेको छैन भन्ने बताउँछ ।

मलाई त्यो घरको अवस्थासित लिनुदिनु त केही थिएन । तर, कुनै एक आइतबारको फुर्सदिलो दिन मैले यी सबै कुरालाई पुनर्विचार गरेँ । त्यो दिन म समयजस्तै खाली दिमाग बोकेर झ्यालको सिसाबाट छिरेको घाम ताप्दै लगभग रित्तोजस्तै सडकमा रमिता हेरिरहेको थिएँ । कहिलेकाहीँ यस्तो पनि हुँदोरहेछ, रित्तो सडकमा पनि रमिता । निकैबेरपछि त्यही घरमा गएर आँखा ठोक्किँदा भने मेरा जिज्ञासा फेरि जागृत भएर आए । एउटी वृद्धा घरको सरसफाइमा लागिरहेकी थिइन् । लगभग असी मास्तिरकै उमेरकी तिनलाई यसअघि मैले यतातिर कहिल्यै देखेको थिइनँ ।

मैले हेर्दाहेर्दै तिनले टिन र प्लास्टिकका कन्टेनर, खोल र बोतल सबै एउटा ठूलो झोलामा बटुलेर हालिन् । अनि हाँगाबिगा छिमोल्ने सानो कैँची लिएर जथाभावी झ्याङ्गिएका बिरुवा छाँट्ने र तिनलाई बटुल्ने काममा व्यस्त भइन् ।

म खाली थिएँ, त्यसैले मैले तिनका क्रियाकलाप हेर्नमा केही मिनेट व्यतीत गरेँ । तर, केहीबेरमै मलाई तिनको तन्मयताले अनौठो झट्का दियो । म एक्कासि उद्वेलितजस्तो भएँ र मेरो मनमस्तिष्कमा त्यो घर, त्यो आँगनप्रति एक्कासि मायाको भाव छचल्किएर आयो । त्यो लगभग खण्डहर बन्नै आँटेको घर फेरि घरजस्तै भएको हेर्ने रहर जागृत भएर आयो ।

 

साँच्चै, स्वामित्व र सम्बन्ध नभएका कुरा पनि कति मायालाग्दा भएर आउँदा रहेछन् ! केही क्षण अगाडिसम्म मभित्र त्यो घरप्रतिको भाव जड थियो । तर, एकैक्षणमा त्यो बेग्लै तरलतम बनिदियो । त्यसले मलाई धेरै कुरामा सोचनीय बनाइदियो । ती वृद्धाबारे अनेक जिज्ञासा जन्माइदियो । घरप्रति पनि अनेक जिज्ञासा जन्मिए ।

उपभोक्तावादी यो संसारमा 'माटो बेच्नु नहुने' मेरी आमाको दर्शन, या भनुँ अडान कहिलेसम्म टिक्ला ? चौतर्फी युगजीवनका जटिलताहरूले चेप्टिँदै गएका हामी सन्तानले आमाको त्यो दर्शन, भावनालाई जोगाउन कहिलेसम्म सकौंला ?

धर्मराउँदा वृद्ध हातले कैंची समातेर बिरुवाका हाँगाबिँगा छिमोल्दै गरेको देख्दा आमाको याद आयो । आमा नेपालको सन्दर्भमा बुढेसकालको खुड्किलो टेकिसक्नुभयो, तैपनि उहाँको जाँगरमा किञ्चित कमी आएकै छैन । खेतबारी आमालाई आफ्नो सबैभन्दा नजिकको संसार लाग्छ । सघाउने दोस्रो मान्छे कोही छैन । होस् न त काम गर्न सकिएन, बेचिदिऊँभन्दा रिसाउनुहुन्छ र भन्नुहुन्छ, 'आफ्नो माटो पनि बेच्छन् ? '

आमाको पढाइ छैन, न त उहाँ कुनै सम्भ्रान्त सांस्कारिक परिवारमा जन्मनु-हुर्किनुभएको हो ! तैपनि आमाको माटो-चेत देखेर कायल हुन्छु । राष्ट्रवादको तातो हावा चलिरहेको बेलामा देशको सिमानाको भेउसम्म नपाएकी आमाको माटोप्रेम आफ्नो माटो छोडेर भागीहिँड्ने मजस्ता सन्तानप्रतिको रोष पो हो कि भन्ठानेर झसङ्गिन्छु पनि । आमाको माटोप्रतिको भक्ति, विश्वास या आस्था जे भनुँ त्यसको एक अंश पनि ममा रहेनछ त ? भावनात्मक तहलाई कोट्याएर हेर्दा कहिलेकाहीँ त ग्लानिले पनि भरिन्छ मन ।

यद्यपि हाम्रो युगजीवनका क्रूर जटिलतासँग आमाको साक्षात्कार लगभग हुँदैन र आमाले सोचेको या चाहेको जीवनमा हाम्रो पुस्ताले भोगिआएका या भोग्नुपर्ने जटिलता पनि छैनन् । त्यसैले पनि आमाको माटोप्रेम निर्वाध चलिरहेकै छ । तैपनि आमाको माटोप्रेमले नतमस्तक बनाइरहन्छ । कहिलेकाहीँ भावुकतामय क्षणमा त आत्मग्लानिको कालो-नीलो रङ छ्यापेर पनि भाग्छ । त्यसो त कुनै अपराध गरेको पनि छैन, माटोलाई घात गरेको पनि छैन न त नेतागणको जसरी माटोको नाम जपेर त्यसकै दलाली गर्ने पापमा सहभागी भइएकै छ । त्यो आकांक्षा र हैसियत दुवै छैन पनि ।

यद्यपि आमाको दिनचर्यामा पहिलेजत्तिकै सक्रियता त छैन, तैपनि अहिलेसम्म पनि आमाको विश्वविद्यालय, अफिस या अरू यस्तै जे भने पनि तिनै खेतबारी हुन् । आमाको जीवनका सुखदुःख, खुसी आनन्द जे जति संवेग छन् तिनका सबैभन्दा नजिकका साक्ष्य पनि तिनै हुन् । पत्तै नपाई आएको यौवनका पारिला घामहरूमा कहिलेकाहीँ बेगिएर गीत पनि गाउनुभयो होला आमाले- रुख बुट्यानहरूलाई दर्शक, श्र्रोता बनाएर ।

कहिलेकाहीँ मन दुःखेको बेलामा चिलाउनेको फेदमा पलाएको झ्याउ कोट्याउँदै सुक्सुकाउनु पनि भयो होला । आमाको जीवनका कतिऔं कति हिउँद, वसन्त यिनैको पेरिफेरिमा बिते । हामी बाँचेको युगको बिडम्बना- लगभग सबै ग्रामीण आमाको पुस्ता यसैगरी बित्यो रूखबिरुवा, बुट्यान, खेतबारी र पानी पधेरोसित मूकसंवाद गर्दै । गहिरिएर सोच्दा पनि कटक्क मन खान्छ ।

गाउँको लगभग सबैभन्दा बूढो उमेरको मेरो घर, भुइँचालोले चरक्कै चिरिएको छ भन्ने सुनेको छु, जान पाएको छैन । मेरी आमाको किशोर र यौवनमय उमेर यही घरको मझेरी र भित्ता लिपपोत गर्दै बितेको छ । आमाको उच्छबास, आँसु, पसिना अनि हाँसो यसका चारदिवारीमा लेप लागेका छन् । अनि अब जीवनको उत्तराद्र्धमा आफ्नो सम्पूर्ण जीवनसँग गाँसिएका प्रिय चीजहरूबाट सम्बन्धबिच्छेद गराउन खोज्दा आमाको मन दुख्दैन त !' आमासित अझै त्यही माटो खनीखोस्री गर्ने सपना छ, तिनै रूखबिरुवा सुम्सुम्याउने रहर छ । त्यही आत्मीयता, उही प्रगाढताले आमालाई कति बलियो भावना दिएको रहेछ, तब न भन्नुहुन्छ- 'आफ्नो माटो पनि बेच्छन् कहीँ ? '

अघिल्तिरकी यी वृद्धा मेरी आमाभन्दा केही नभए पनि पन्ध्र वर्ष त पक्कै जेठी छिन् । सकिनसकी घरको सरसफाइमा लागेकी तिनका क्रियाकलापमा म आमाकै झल्को पाइरहेको थिएँ । सायद, आफ्नोपनको माया हो यो ! यी आमाको पनि त यो घरसँग जीवनका सुखदुःख, संघर्ष सबै गाँसिएकै होलान्, नभए आफू नबस्ने घरलाई स्याहार्न, यहाँका बोट पातलाई सुम्सुम्याउन किन आउँथिन् र तिनी।

भोलिपल्ट, पर्सिपल्ट हप्ताभरि मलाई त्यो हेर्ने फुर्सद भएन । त्यही बाटो भएर बिहान-बेलुकी ओहोरदोहोर गरिरहेँ । बिहान बस पक्रन, बेलुकी फर्कँदा घर पक्रन । त्यही घरकै छेउबाट हप्ताभरि हिँड्दा पनि मलाई त्यो घरतिर हेर्ने फुर्सद भएन, अथवा मेरो ध्यान गएन । तर, फेरि आइतबार आयो । आइतबारको उठाई नै बेग्लै हुन्छ । दिमाग र शरीर दुवै अल्छ्याइलो तर मिठो । अबेर उठेको त्यो आइतबार जब चियाको चुस्की लिँदै गर्दा मेरा आँखा जब त्यही घरमा टाँसिए म झन्डै चित् खाएँ । ओहो, विगत डेढ वर्षदेखि मैले देखेको घर त्यहाँ थिएन ।

छाँटिएका झाडी, काटिएको घाँस, सबै फोहोर सफा गरिएको । अघिल्लो हप्तासम्म परित्यक्त, खण्डहर जमिन जस्तै भइसकेको त्यो घर अब साँच्चै घर भएको थियो । एक्कासि मन भरंग भयो घर सम्झेर । हो रहेछ, मान्छेहरू बस्न छाडेपछि त घरघर कम खण्डहर बढी पो बन्दोरहेछ ।सानोमा सामाजिक शिक्षा किताबमा मानिसका आधारभूत आवश्यकता गाँस, बास र कपास हुन् भनेर पढ्दा यसको कति सजिलै व्याख्या गरिन्थ्यो ।

योसँग जोडिएको अर्थशास्त्र बुझ्नु वा झेल्नु नपरेकोले होला । त, त्यही गाँस, बास र कपासको आधारभूत जगमा उभिएर मान्छे इच्छाहरूको बाटो हिँड्दोरहेछ । गाँस, बास र कपासले मान्छेलाई आकांक्षाहरूको अर्को तहतिर उकाल्छन् र त्यसलाई जग हालिसकेपछि मान्छे अनेक किसिमका आवश्यकताहरूको सिँढी चढेर जीवनको अन्तिम सीमासम्म पुग्छ । तर बास अर्थात् घर आधारभूत आवश्यकता र त्यसभन्दा अझ पर पनि केही रहेछ ।

मैले दिनभरि त्यहाँ कोही मान्छे देखिन्छन् कि भनेर चियाउने प्रयत्न पनि गरेँ तर त्यहाँ कोही थिएन । साँझमा अनि रातमा त्यहाँ बत्ती बलेको देखिएन । भोलिपल्टदेखि मेरो नियमित रुटिन सुरु भयो, सायद मनबाट त्यो विषय, प्रसंग ओझेलमा पर्‍यो । तैपनि कहिले केही भावले कहिले निष्पृह मेरा आँखा त्यस घरमा परि नै हाल्थे । तर, त्यहाँ मान्छेको कुनै संकेत देखिएन ।

बस स्टपदेखि अपार्टमेन्टसम्म आइपुग्न लगभग पाँच मिनेट लाग्छ । यति छोटो दूरीमा हप्तैपिच्छे स्टेट एजेन्सीका अनेक रङका बोर्डहरू लगाइरहेको देखिन्छ ः कुनै बिक्रीमा छ भनेर, कुनै बिक्री भइसक्यो भनेर । मलाई लाग्यो, ती बूढी मान्छेले पनि घरमर्मत गरेर बेच्न राख्दैछिन् । मान्छे नबस्ने भएपछि घर त्यतिकै खालि राख्नुमा केही फाइदा पनि छैन । तर, लगभग दुई महिनासम्म न त्यहाँ कोही आएर बसेको देखियो, न त वरपरका अन्य घरहरूमा जस्तो स्टेट एजेन्सीका बोर्डहरू लागेको नै देखियो ।

यो नचाहिँदो चासोले एकदिन मलाई टर्किस पसलेसम्म पुर्‍यायो । टर्किस पसले यो सानो र शान्त गाउँको न्युज च्यानल नै थियो । उसको पसलका नियमित ग्राहक हुन् अथवा उसको पसल अगाडिको बस स्टपमा नियमित बस कुर्ने मानिसहरू हुन् सबैसँग नबोली बस्न सक्दैनथ्यो । सामाजिक, सांस्कृतिक अथवा अन्य कुनै पनि कारणले एकआपसमा बिल्कुलै नगाँसिएका मान्छे बस्ने यो ठाउँमा उसले बताउने समाचार एउटै हुन्थ्यो कि को यो गाउँमा बसाइँ सरेर आयो, को यहाँबाट गइरहेको छ।

खासमा यो बसाइँ सराइ यति तीव्र देखिन्थ्यो कि एक दुई महिनामै छरछिमेकमा बिल्कुलै नयाँ मान्छे देखिन्थे । बाँकी चाहिँ को मान्छे कहाँ काम गर्छ भन्ने कुराको सामान्य ज्ञान पनि उसले राखेको हुन्थ्यो । त्यस्तो मान्छेलाई नजिकैको घर र ती बूढी आइमाईको बारेमा पक्कै थाहा हुन्थ्यो ।
उसका अनुसार, यो घर ती बूढी आइमाईको छोराको थियो, जो विगत ११ वर्षदेखि बेपत्ता छ, कुनै खोजखबर बिना । छोरो बेपत्ता भएपछि आमाचाहिँ मानसिक रूपमा थलिएकी छिन् । दुई वर्षसम्म त उनलाई केयर सेन्टरमा पनि राखियो । अहिले बिसेक भएपछि घर आएकी छिन् । उनलाई एकदिन छोरो फर्किएर आउँछ भन्ने विश्वास छ, त्यसैले यो घरको स्याहारसुसारमा लागेकी हुन् । सायद अब केही दिनपछि उनी आफ्नो अपार्टमेन्ट छाडेर यतै बस्ने गरी आउँदैछिन् । पसलले अगाडि थप्यो, 'एउटा कुरा तिमीलाई थाहा छ, यो तिन्को जन्म घर नभए पनि बाल्यकाल यही घरमा बितेको हो ।

त्यसैले पनि उनलाई यो घरको अत्यन्तै माया लाग्छ रे ! मैले घर बेच भनेको त, के भनिन् थाहा छ ? यो घर मेरो जीवनको पहिलो प्रेम हो । पहिलो प्रेम जतिको आत्मिक अरू केही हुनै सक्दैन ।'
टर्किस पसलेको कुरा सुन्दा आफ्नै आमाको अनुहारले आँखामा पीडाको गुलेली ताक्छ, पटक-पटक । 
त्यो घरको ठाउँमा आफ्नै घर आएर ठडिन्छ बारम्बार, मन आफ्नैे मझेरी, चोटाकोठा र बुइँगलतिर चहार्न थाल्छ । अनि कहिल्यै आमनेसामने नपरेकी ती बूढी आइमाई पनि आफ्नै आमाजस्तै लाग्छ । कतै पढेको जस्तो लाग्छ- 'जब तिमी आफ्नो पुरानो घरमा फर्किएर जान्छौ, त्यहाँ तिमीले आफ्नो पुरानो घर होइन बिर्सिइएको बाल्यकाल पाउनेछौ ।' आफू जन्मेहुर्केको घर सम्झेर मन भावुक हुन्छ । घरतिर लाग्ने बेलामा बूढी आइमाईले जतनले स्याहारेको त्यो घरलाई पुलुक्क हेर्छु- माया, इष्र्या एवम् नियास्रिएको अनुभूतिले ।

त्यसो त मसित कुनै स्वामित्व अथवा सम्बन्ध थिएन त्यो घरको । मसित आफ्नो मनमस्तिष्कमा टाँगेर हिँड्न आफ्नै नित्य सिंगाने जीवन थियो, मेरो वैयक्तिकताभित्रका सुखदुःख वा शून्यताहरू थिए अथवा मसित गाँसिएका पात्र, घटना वा परिस्थिति थिए । यो परदेशमा कुनै भावुकतावश त्यो परित्यक्तजस्तो घरलाई सफा, सुग्घर गरी सिहारीबस्ने फुर्सद, इच्छा अथवा सायद अधिकार मलाई केही पनि थिएन । त्यसैले एक-दुई हप्तामै यस्ता कुरालाई चटक्कै बिर्सिएर म फेरि त्यसकै अघिल्तिरबाट दैनिक ओहोरदोहोर गरिरहेँ । अरु घरहरूजस्तै, अघिल्तिरका चर्च र सिनेगग अथवा छेउको चाइनिज रेस्टुराँ या टर्किस पसलजस्तै त्यो घर पनि मेरो आँखाका लागि स्वभाविक र नियमित बन्यो लामो समयसम्म ।

सांसारिक जीवनका अप्ठ्याराहरू मानिसका भावनात्मक केन्द्रलाई भत्काउँदै छन् । मानिसहरू असाध्यै धेरै व्यावहारिक बन्दैछन्, बन्न बाध्य पनि छन् । अब संवेग, संवेदना या भावनात्मक पक्षहरूको कुनै औचित्य र अर्थ नहुने अवस्था देखा पर्न थालिसकेको छ । यस्तो लाग्छ, कुनै क्षण यस्तो पनि आउनेछ दुनियाँमा मान्छेसँग यो भाव पक्ष नै हराएर जाओस् । बेगिएको मान्छेको जगत् देख्दा यो उतिसारो स्वैरकल्पना जस्तो पनि लाग्दैन ।

उपभोक्तावादी यो संसारमा 'माटो बेच्नु नहुने' मेरी आमाको दर्शन, या भनुँ अडान कहिलेसम्म टिक्ला ? चौतर्फी युगजीवनका जटिलताहरूले चेप्टिँदै गएका हामी सन्तानले आमाको त्यो दर्शन, भावनालाई जोगाउन कहिलेसम्म सकौंला ? यो प्रश्न तात्कालिक रूपमा अनुत्तरितजस्तो देखिएता पनि यसको इमानदार उत्तर प्रष्टै छ- सायद नसकौंला । 'आफ्नो माटो बेच्न नहुने' धारणा राख्ने मेरी आमा र जीवनको अन्तिम घडीमा सुविधा सम्पन्न आधुनिक अपार्टमेन्ट छाडेर आफू जन्मिए, हुर्किएकै पुरानो घरमा अन्तिम दिनहरू गुजार्न चाहने बेलायती आमाको ज्ञान, विद्वता या जीवनशैलीमा आकाशपातालको भिन्नता पक्कै छ । तैपनि ती आमा र मेरी आमामा मैले एउटा समानता भेटेँ । ती बेलायती आमामा पनि मैले मेरै आमाको मन देखेँ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.