सीके लाललाई अधिवक्ताको प्रश्न :तराईको इतिहास मेट्ने अधिकार तपाईंलाई कसले दियो ?
लेखक सीके लालले अघिल्लो अंकको 'फुर्सद'मा 'मधेसलाई कसरी चिन्ने ? ' शीर्षकको लेखमा सदियौंदेखिको इतिहासलाई नामेट पार्ने प्रयास गरेका छन्। उनले 'तराई' शब्दलाई पञ्चायतको उत्पादन दाबी गरेका छन् । उनले 'मधेस'लाई सम्मानित र 'तराई'लाई कमजोर बनाएर प्रस्तुत गरिदिएका छन् ।
उनका अनुसार तराई दार्जिलिङका गोर्खालीका लागि सिलगुडी तथा असम र त्रिपुराका लागि ब्रह्मपुत्रको मैदान तराई हो । उनले जबरजस्ती उत्तराखण्डको मान्छेका लागि काठ गोदामलाई तराई भन्न लगाएका छन् । मधेसलाई पुरानो शब्द भनेर नयाँ पुस्ताको मानसपटलमा जबरजस्ती घुसाउने कुचेष्टा गरेका छन् । सीके लाल तराई र मधेसबारेको बुझाइमा पूर्णतः गलत छन् । उनले भनेजस्तो नेपालको तराई क्षेत्र मधेस होइन । इतिहासका केही सामग्रीबाटै उदाहरण लिऊँ ।
'प्राचीन भारतका सभ्यताका इतिहास' पुस्तकको ३८औं अध्याय 'फाहियान लिखित भारतको वृत्तान्त' शीर्षकमा चिनियाँ यात्री एवं लेखकको वर्णन प्रस्तुत गरिएको छ । फाहियानले इसाको ३९९ देखि ४१२ सम्म भारत, श्रीलंका र नेपालको भ्रमण गरेका थिए । अर्थात्, उनको वर्णन इसाको तेस्रो शताब्दीतिरको वर्णन हो । त्यो भनेको कम्तीमा १८ सय वर्ष पहिलाको वर्णन हो । सीके लालले सोही लेखको एक ठाउँमा प्रश्न गरेका छन्, 'कति समयदेखिको इतिहास हेर्ने ? ' लौ हजार वर्षकै इतिहास हेरौं । फाहियानको वर्णन यस्तो छ ः
'४०० सय इसापूर्व लगगभ यमुना नदीको मथुरा पुग्दा त्यसको दक्षिणको त्यो बीचको देश जो मध्य देशमधेश हो । राजपुतनाहरूको देश हो त्यो । त्यहाँ भूमिमाथि जनताको कुनै अधिकार छैन ।'
त्यस्तै वामन शिवराम आप्टेद्वारा संकलित एवं लिखित तथा मोतीलाल वनारसी दास पब्लिसर्स प्रालि दिल्लीद्वारा प्रकाशित 'संस्कृत-हिन्दीकोश'को पृष्ठ १२०३ मा उल्लेख छ, 'यो कुश स्थली कोल प्रदेशको राजधानी हो । यो नर्मदा नदीको उत्तरमा तर विन्ध्या पर्वतको दक्षिणमा अवस्थित हुनुपर्छ ।
सम्भवतः यही स्थानलाई अहिले वंदेल खण्डको रामनगर भनिन्छ । राजशेखर यस कुशस्थलका स्वामी थिए । उनलाई मध्यदेश नरेश अर्थात् मध्यभूमि वा वंदेल खण्डको राजा भनिन्थ्यो ।'
मधेस भारतको उत्तर प्रदेशस्थित विन्ध्याचल पहाडदेखि दक्षिणमा नै पथ्र्यो र राजपूत सिंह नै त्यहाँका मूल शासक थिए भन्ने प्रमाणित हुन्छ । त्यहाँ बस्ने या त्यहाँबाट अन्यत्र सरी गएका व्यक्तिहरू नै मधेसी हुन् भन्नेमा दुईमत छैन ।
लालले दाबी गरेजस्तो आर्यहरू पश्चिमबाट पूर्व जाने क्रममा मध्य बिन्दुमा पुगेकाले मध्यदेश भनिएको भन्ने तर्क साँचो होइन । फाहियान र आप्टेको कोश दुवैले इंगित गरेको विन्ध्याचल पहाड क्षेत्र दक्षिणको भूमिमा नेपालको तराई क्षेत्रको सिमानासम्म पनि कहिल्यै जोडिएको इतिहास छैन । आफू अनुकूल परिभाषा गरेर नेपालको तराईलाई 'मधेश' भन्नु विन्ध्याचल दक्षिणसँग जोड्ने नियत होइन कसरी भन्नु ?
निश्चय पनि नेपालको तराई क्षेत्र वर्तमान आकारभन्दा ठूलो (पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म)तीन गुणा बृहत् क्षेत्रमा फैलिएर राज्य विस्तार भएको इतिहास सबैसामु स्पष्ट छ । यहाँका मूलवासी सबैभन्दा पुराना आदिकालदेखि बसोबास गर्दै आएका थारूहरू नै हुन् भन्ने तथ्य ऐतिहासिक ग्रन्थले मात्र नभई आनुवंशिक विज्ञानले सम्म पुष्टि गरेको छ । तराई क्षेत्र र थारू जातिको इतिहासलाई दुराशयपूर्ण तरिकाले मधेस र मधेसीमा गाभेर लालले थारू जातिको इतिहास र मौलिक संस्कृतिमाथि धावा बोलेका छन् ।
थारू जातिको उत्पत्ति र तराई
थारूलाई कहिले, कसरी थारू भन्न थालियो र तराईसँग यो जातिको कस्तो अन्तरसम्बन्ध छ भन्ने नबुझी नेपाल-तराईको सिंगो इतिहासबोध हुँदैन । एक प्राचीन संस्कृत लेखमा 'स्थरु' शब्दको अर्थ 'थारू' उल्लेख गरिएको छ । टेकनाथ गौतमले 'थारू जातिको इतिहास पुराण'को पहिलो पृष्ठमै भारतीय विद्वान् डा. जगदीशनारायण सिंहको अप्रकाशित शोधपत्र 'द थारू अफ तराई'बाट उद्धृत गर्दै थारू शब्द हिन्दी भाषाको ठहरना अर्थात् सदियदेखि एकै ठाउँमा बसिरहने, इमानदार मेहनती भएर काम गर्नेबाट निर्माण बनेको उल्लेख गरेका छन् ।
सीके लाल तराई र मधेसबारेको बुझाइमा पूर्णतः गलत छन् । उनले भनेजस्तो नेपालको तराई क्षेत्र मधेस होइन ।
इतिहासशिरोमणि बाबुराम आचार्यले 'नेपालको सांस्कृतिक परम्परा'मा ग्राम प्रमुखबाट थारू शब्दको व्यूत्पत्ति भएको मानेका छन् (पृ.१३) । उनले थारू शब्दको सम्बन्ध संस्कृत भाषाको स्थल शब्दसँग जोडिएको उल्लेख गरेका छन् ।
त्यस्तै जनकलाल शर्माले 'हाम्रो समाज एक अध्ययन'मा लेखेका छन्, 'थारू शब्दको व्यूत्पत्तिका विषयमा भन्नुपर्दा भगवान गौतम बुद्धले निर्वाण प्राप्त गरेको सय वर्षपछि बौद्ध धर्ममा महासांघिक र स्थविरवाद नामक दुई हाँगामा विभाजित भए । यिनै दुई हाँगामध्ये एक हाँगा स्थविर सम्प्रदायतिर शाक्यवंशीहरूको झुकाव भएको हुनुपर्छ, जसले गर्दा ती स्थविरवादमा आस्था राख्ने शाक्यवंशको नाम नै स्थविरवादी वा छोटकरीमा स्थवीर रहन गयो । जनजिब्रोमा पछि उच्चारणका कारण थविर भएर थारू हुन आयो (पृ. ३५८) ।'
यसैगरी नेपालमा सबैभन्दा लामो समय महान्यायाधिवक्ताका रूपमा जिम्मेवारी सम्हालेका थारू विद्वान् रामानन्दप्रसाद सिंहले 'हिस्ट्री अफ थारुज'मा थारू जातिलाई बुद्धको वंशजका रूपमा उल्लेख गरेका छन् । यसैगरी थारूविद् तेजनारायण चौधरी र भुलाई चौधरीले थारू संस्कृति नामक पत्रिकामा लेखेका छन्, 'था र रूबाट बनेको छ, जसको अर्थ था भनेको तराई र रू भनेको स्थायी रूपमा बसोबास गर्दै आएका मूलवासी ।'
थारू जाति नेपालको आदिवासी, मूलवासी तथा तराईका धर्तीपुत्र हुन् । डा. हर्क गुरुङले 'फेसेस अफ नेपाल'मा लेखेका छन्, 'थारूहरू तराईका सम्भवतः सबैभन्दा पुराना र आदिवासी जाति हुन् ।'
थारू जातिबारे अध्ययन-अनुसन्धान गर्ने विदेशी विद्वान्हरूले पनि थारूबारे विविध वर्णन गरेका छन् । जे.सी. नेस्फिल्डले 'डिस्क्रिप्सन अफ म्यानर्स, इस्न्टिच्युट्स एन्ड रिलिजन अफ द थारुज एन्ड भोग्सा ट्राइब्स अफ अपर इन्डिया'मा उल्लेख गरेअनुसार भित्री मधेसको उत्तरी भेगमा बस्ने थारू प्राचीन जाति हो । मूलतः मंगोल यस जातिमा विभिन्न जातिको रक्त मि श्रण भएको बताइएको छ । कोल किराँत आदिको रक्त मि श्रणका कारण यिनको शारीरिक बनोट विशिष्ट खालको छ ।
यस्तै पार्जिटरले 'हिस्टोरिकल ट्रेडिसन अफ इन्डिया'मा दाबी गर्छन्, 'संसारमै कतै सिद्धार्थ गौतम बुद्धका सन्तती छन् भने ती थारू हुन् ।'
नालन्दा पाली इन्स्टिच्युटमा बुद्ध धर्मका प्राध्यापक टिस्टा काश्यपा केनेथ मोर्गनद्वारा सम्पादित 'हिस्ट्री अफ बुद्धिज्म'मा लेखिएको छ, 'थारूहरूको संस्कार र संस्कृति बुद्ध धर्मको धरोहर हो ।'
यस्तै विलियम कुक्स 'ट्राइबल एन्ड कास्टस् अफ दी नर्थ वेस्टर्न अफ इन्डिया'को भोल्युम ४ मा उल्लेख गर्छन्, 'थारूहरूले गंगा यमुनादेखि हिमालयको काखसम्म जग्गा आवाद गरी गुल्जार गरे । थारूहरू सभ्यताका प्रतीक हुन् ।'
यसैगरी ब्रायन एच हड्सन 'एसेज अन द ल्यांग्वेज लिटरेचर एन्ड रिलिजन अफ नेपाल एन्ड तिब्बत'मा उल्लेख गर्छन्, 'डीएनए परीक्षणका आधारमा थारू जाति औलो निरोधक जाति हुन् र यो निरोधात्मक गुण प्राप्त गर्न औलोयुक्त हावापानीमा नै कम्तीमा तीन हजार वर्ष बसेको हुनुपर्छ ।' उनले तराईमा थारूबाहेक अन्य जाति पछि आएको दाबी गरेका छन् ।
त्यस्तै जर्मन पुरातत्र्वविद फुहररले सन् १५६२ मा 'एन्टिकविटिज अफ बुद्ध शाक्य मुनिज बर्थ प्लेस इन नेपलिज तराई द मोर्डन डिसेन्डेन्स अफ द शाक्यज्'मा तराईका आजका बासिन्दा थारूहरू नै शाक्यहरूका आधुनिक सन्तान हुन् भन्ने उल्लेख गरेका छन् ।
यी सबै मतबाट एउटै निष्कर्ष निस्कन्छ— थारू जाति तराईको घामपानी, प्रचण्ड गर्मी, डरलाग्दो औलो, विषालु सर्प, बिच्छी, हिंस्रक जनावरसँग जुध्दै आफ्नो स्वतन्त्र अस्तित्व जोगाएर प्रागऐतिहासिक कालदेखि तराईमा बसोबास गरिरहेको आदिवासी हो ।
थारू जाति नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई र चुरे छोइएको भित्री भूभागको समतल फाँटमा बसोबास गर्दै आइरहेका छन् । थारू जातिको प्रमुख विशेषता मेहनती, सोझोपन तथा इमानदार स्वभाव हो ।