राजापुरमा रगरगी

राजापुरमा रगरगी

 

'कति बगे कति !' धोबी सोनाईले दिक्क मानेर भने ।
हामी कैलालीको घुमघामपछि सत्तीघाट तरेर फेरि बर्दिया पसिरहेका थियौं । बिहान छोडेको अहिले फेरि यहाँ भेटियो । कर्णालीकै अर्को हाँगो रहेछ यो सत्तीघाट निरको अपार पानी ।
मैले कर्णाली हेरिरहँदा धोबीले भनेथे, 'अहिले बल्ल पुल बन्यो । कति पो भो र यो बनेको नि ! पुल बन्नुअघि कत्ति बगे कत्ति कर्णालीमा !'

Yubaraj-Nayaghare_1'हरेक साल एकजना न एकजना घरैपिच्छे बगेका हुन्थे । कर्णालीले खान छोडेको त भर्खरै हो नि यहाँका मान्छेलाई !' बहत्तर वर्षका धोबीले धमिलो कर्णाली नियाल्दै भने ।
पश्चिम नेपाल बरालिन पुगेको म एक्कासि राजापुर जाने निधो भएथ्यो । मैले उहिल्यै काँसेघारीको बयान सुनेपछि नै यो भुइँ टेक्ने उत्पात रहर देखाएथेँ । एक खालको छटपटी थियो राजापुर पुगिछाड्ने तिर्सना !

एकपटक दुई जना साथी मिली राजापुर जाने योजना नि बनायौं ।
'तपाईं जाने हो त ? '
'साह्रै जान मन छ !'
'त्यसो भए जंगलकाले दु:ख देलान् । म गोपाल दहितको नाममा चिठी लेखिदिन्छु । उनले तपाईंहरूलाई सबैतिर जोगाउँछन् !' फटाफट सानो चिर्कटे चिठी लेखेर कृष्णराज सर्वहारीले थमाएथे मलाई ।
दोहोरो झडप भइरहने राजापुर जान पूरा तम्तयार भइरहेको थिएँ म साठी सालतिर । साथीले जाने उस्तो मन नगरे पनि मैले झोला मिलाइरहेकै थिएँ । त्यै बेला कोठियाघाटमा ठूलो डुंगा पल्टियो । खोला तर्न नाउ चढ्नेहरू झन्डै सयजना जति घ्वाप्लाक्कै पल्टेर स्वाहा भए कर्णालीको उर्लंदो भेलमा ।
'यस्तो बेलामा राजापुर जाने तपाईं ? '
'मन त छ !'
'तपाईं मूर्खमात्र होइन, पटमूर्खै हो । बर्खामास, के रहर गर्‍या होला ? ' सुनिताले सातै लिइन् मेरो।

त्यसपछि थन्केको थिएँ म । राजापुर जाने रहरमा भुतभुते खरानी परेको थियो । मेरा इच्छाका मुनाहरू पटपट भाँच्चिएका थिए । मेरा चाहनाका पिपिरामा तातो पानी खनिएथ्यो । मेरा चौचौको लहरो प्रचण्ड गर्मीले लल्याकलुलुकिएको थियो, चुँडिएको थियो, मुर्झाएको थियो ।
तिनै दहित केहीपछि राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री नि भए ।
'ओहो, ठूलै मान्छे पो रै'छन् !' खबर सुनेर मन झस्केथ्यो ।

 

आज धेरै वर्षपछि राजापुर पुग्दा पुरानो चित्रमा रङ थपेर उज्यालियो मनको इन्द्रेनी । चिठी लेखेको झन्डै चौध वर्षपछि म पुगेँ राजापुर ।
पुल तरेपछि बाक्लै लहरे वन भेटियो ।
हामीसँग थोरै समय । धेरै कुरा हेर्ने मन । मन र समयसँग शरीरको तालमेल मिलाउन खोजिरहेका छौं ।
राजापुर अनौठो खालको भूआकारमा रहेछ । माथिबाट दुईतिर फाटेर बगेको कर्णालीले राजापुरलाई चारैतिर घेरेको रहेछ । पश्चिमतिरको सत्तीघाटबाट छिरेका हामी पूर्वतिरको कोठियाघाट पुग्दा कर्णालीकै लहरसँग, कर्णालीकै किनारसँग र कर्णालीकै पानीसँग भेटघाट हुने रहेछ ।
ठ्याक्कै पीपलको पात आकृतिको रहेछ राजापुरको अनुहार ।

कर्णालीको भयानक भँगालो यतातिर उर्ली-उर्ली बगिरहेथ्यो । गोधूलिको राजापुरमा जीवनको उत्साह बेग्लै थियो, अलग्गै थियो र उन्मादी थियो ।

सिमका जंगल निकै नाघेपछि हामी पूर्वउत्तर भएर लम्कियौं । मसँग सुधन पौडेल, नगेन्द्र रेग्मी, गणेश शाह थिए । बाटो देखाउन कांग्रेस चौधरी र चक्र अधिकारी नि अघिपछि थिए । हाम्रा खुल्दुलीमा उत्तर आइहाल्थे कांग्रेस र चक्रबाट ।
मुसा मारिरहेका केटाकेटीको हूल देखेपछि कांग्रेसले भनेथे, 'हाम्रा दाङतिरका झैं बर्दियाका थारूले नि मुसा रुचाउँदा रै'छन् !'

'यो त शाकाहारी हो । यसको मासु त्यत्तिको कैफियत नहोला !' शाकाहारी सुधनले तर्क दिए ।
'यो तर्क ठीक हो !' रेग्मीले सही थापे ।
ठाउँ-ठाउँमा मुसा मारिरहेका केटाकेटीहरू खेतमा असिनपसिन देखिन्थे । घामले सबै खुइल्याइसकेको थियो हाम्रो नि ज्यान । एक त मधेस, फेरि घामले धेरै मदानी मथ्ने क्षेत्र पर्‍यो पश्चिम नेपाल । हामी यो बेला उम्लिरहेका थियौं भकभकी ।
'हेर्नुस्, राजापुर अन्नको भण्डार हो !'
'धान, गहुँ र मकैको रास-रास भेटिन्छ । लक्ष्मीको डेरा हैन, घरै यता होला !' सुधनको बोली सुनिरहेको छु म ।

हुन पनि बाह्रै काल बग्दो रहेछ यहाँ कर्णालीको कलकल पानी । त्यै अमृत जलराशिले हराभरा पार्दो रहेछ राजापुरको गरा-गरा । त्यै रसिलो पानीले मलिलो पार्दो रहेछ राजापुरको फाँट । त्यै पहाडी निर्मल जलले यहाँको धर्ती सधैं उर्वर पार्दो रहेछ ।

हामी पुग्दा कतै मकै लहलह थिए । कतै धान रोप्न हिल्याएका थिए गराहरू । कतै गहुँ काटेर छ्वाली डढाइँदै गरिएको कुइरीमण्डल छरिएको थियो खेतैभरि । तरकारीका झाङ नि झन् जताततै ।
एकपछि अर्को बस्ती नाघ्दै हामी राजापुरको माभैmतिर पुगिसकेथ्यौं ।
'यो टापु हो भने नि हुन्छ !' चक्रले बखान गरे ।
'बर्खामा चारैतिर कर्णालीले घेर्छ । हाम्रो सम्पर्क कतै हुँदैनथ्यो । भर्खर-भर्खर यो सत्तीघाटको पुल बनेपछि सजिलो भा'को !'
'सारा देशसँग सम्बन्ध तोडेर दुईतीन महिना राजापुरका मान्छे बस्थे !' कुराले लम्काइरहेको छ बेस्सरी ।

एकोहोरो उत्तर पुग्यौं ।
तराईको सुन्दरतामा गरा, किसान, बालीले सुन्दरता दिएथ्यो । त्योभन्दा बढ्ता सङ्ला कुलेसाले सौन्दर्य पस्किरहेथे । पूर्व, उत्तर र दक्षिणतिर अनेक पारामा बटारिएर गएको बाटोलाई समातेका छौं । तराईको अद्भुत सौन्दर्य बस्ती, वन र क्षितिजका तह-तहमा बसेको देख्छु सिँगारिएर ।
मुरैयामा पानी खायौं ।

आँगनमा रहर झारिरहेका सोनाईहरू थुप्रै थिए । बालुवा चालेर सुन संकलन गरी जीवन धानिरहेका पुरानो जाति रहेछ सोनाई । तिनका झुप्रा नाघी हामी निकै परसम्म पुग्यौं । हरेक आँगनमा पाखुरा सुर्किरहेको देखिन्थ्यो गरिबीले ।
'बाह्र गाविस यीँ छन् !'
'एक लाख छ यहाँको जनसंख्या !' चक्र भनिरहेका छन् ।
म सुनिरहेको छु कान ठड्याएर, मन बिउँझाएर ।
राजापुर बजार पनि नाघियो । जताततै धान मिल र चामलका गोदाम टुप्लुकिए निरन्तर । ठूला-ठूला लामसिँगे गोरुगाडाका लस्कर नि देखिए ।

'उसिनेका चामल एक पाथी लाने कि ? ' मैले हकुवाको हस्को नाकमा ठोक्किए लगत्तै भनेँ । मेरा कुराले हाँसे साथीहरू । तर मैले नक्कली कुरा गरेको थिइनँ । काँचो त मुक्र्याउँछु म । उसिनाकै चामलको भात पाए मेरा लागि ठूलो गल्तीमा समेत ठूलै क्षमादान !
अलिक मास्तिर देखियो— दशरथ चन्द प्राथमिक विद्यालय ।
'यो त थारूको बस्ती पो हैन र ? ' मेरो खसखस ।
मेरा कुरोकन्थो सुनिरहेका कांग्रेस चौधरीले मुख फोरे, 'कुनै बेला त थारूमात्र बस्थे यो औल र गर्मीमा !'

'तर पछि कर्णाली माथिका पहाडेहरू थपिए । अहिले त दैलेख, मुगु, अछाम, जुम्ला र कालीकोटेहरू मनग्गे छन् यहाँ !' चौधरीले वृत्तान्त कहे ।
कर्णालीको दुई भँगालोले घेरेको रहेछ राजापुरलाई । पूर्व र पश्चिम दुईतिरबाट फाटिएर कर्णाली बगेपछि टापु बन्न पुगेको रैछ राजापुर । त्यै टापुमा खेती र पशुपालन गरी जनमन बस्न थालेछन् ।
तर, पनि कर्णाली बेला-बेलामा बस्तीभित्र नि पस्दो रै'छ । कुनै बेला मध्यरातमा, कहिले एकाबिहानै, सम्साँभैm, बौलाहा भएर कर्णाली पस्दो रहेछ । अनि सुरु हुन्छ नदीको ताण्डव लीला ।

पहिला-पहिला जुम्ला, हुम्ला, कालीकोटेहरू कपडा, नुन र चामल किन्न राजापुर झर्दा रै'छन् । कर्णालीको तीरैतीर महिनौं लगाएर उनीहरू बजार भर्न राजापुर पुग्थे । दौलतपुर र कोठियाघाट भएर राजापुर पस्ने मूल नाका रहेछ त्यो बेला ।

तर, अहिले बाटो र साधनले डोल्पा, मुगु, जुम्ला र हुम्लाकै आँगनमा ती सबै सामान पुर्‍याइसकेपछि पहाडकाहरू तल झर्न छोडे किनमेलका लागि । धेरैले त खेती गर्ने जग्गा नि यतै जोडेछन् ।
'पहाडको घना उपस्थिति यहाँ छ भन्ने यो उदाहरण !' रेग्मी बोले ।
'पहाड मधेसको हार्दिकताको एउटा नमुना हो नि यो !' शहीद दशरथको नाउँको विद्यालय देख्दा मैले अरू थपेँ ।

अघि जाँदा गएको बाटोभन्दा अर्कै बाटो भएर हामी मुरैया आएथ्यौं । धान, गहुँ फलेर पनि खेतमा मलले तह थपेथ्यो । पानीको कलकलले अरू उर्वरता थपेथ्यो । फाट्टफुट्ट घर आए पनि हामी त्यता पस्दैन्थ्यौं । तातो गर्मीले शरीर डाम्न छोडेन । हामीले स्वीकार्न नि छोडेनौं उसको हाँक । रूख, घरमा बसेको शीतलतासँग परिचय हुनै पाएन हाम्रो ।

'पसिनासम्म झार्ला । रगत त हैन नि !' मनमनै भन्थेँ म ।
तातो गर्मीले सबै पुछपाछ गरिरहेथ्यो शरीर । कर्णालीकै भँगाला भएर कुदिरहेथे ज्यानभरि ।
गोरुगाडा र राँगागाडाले राम्राराम्रा बाटाहरू चुइँकिइरहेथे । स-साना घरका लस्कर थिए जताततै । बाँसघारी र आँपघारीले बस्तीको तातोलाई धपाएको लाग्थ्यो । हपहपी गर्मीले चिथोर्न छोडेन ।
नदीभन्दा तल रहेछ बस्ती । त्यै भएर बस्तीमा कर्णालीको पानी बर्खामा ह्वात्तै पसिहाल्दो रहेछ । पानीको तह माथि, बस्तीको सतह तल रहेछ । कति ठाउँमा बाँध कसे पनि नदीको तागतलाई के रोक्न सक्नु र मान्छेले !

'बहानाकै के पानी खाइली !' सोनाई भाषामा बोले पतिराम ।
सरकारले थारू जातिमै यो सम्प्रदायलाई गाभिदिएकोमा उनको घोर गुनासो रहेछ ।
'पानी खाने निहुँमा यी आएका !' मैले पतिरामको कुरा बल्ल बुझेँ । उनले हाम्लाई सरकारी मान्छे हुन् भन्ठानेका रहेछन् ।
भने तिनले, 'हाम्रो भाषा नै फरक छ । बेग्लै भाषा भएकोलाई यसरी एकै ठाउँमा गाभेर हाम्रो परिचय बिलाइदिन मिल्छ र ? '
राजापुर कर्णालीको सुन्दर काँसेघारी । यो प्रसिद्धिभित्र धेरै असजिला, अप्ठ्यारा, अररिएका ठाउँ नि रहेछन् ।

सोनागाउँ, नयाँगाउँ, बिहानी बजार, पाताभार, दौलतपुरले घेरिएको राजापुर अन्नपातका लागि कुवेरै रहेछ, धनधान्यै रहेछ र अन्नपूर्णै रहेछ ।
'काठमाडौं पनि छ नजिकै । जाने हो ? ' चक्रले यसो भन्दा एकछिन रनभुल्ल भयौं हामी ।
पछि थाहा भो— राजापुरभित्रै काठमाडौं नामको एउटा बस्ती नै रहेछ । त्यो नाउँले हामी एकाएक उज्यालियौं ।

कर्णालीको तुजुग निकै देखिने रहेछ राजापुरमा । कर्णालीले आफ्नो पूmर्ति खुब देखाउने रहेछ । कर्णालीको निष्ठुरता हेर्न राजापुर पुग्नैपर्ने रहेछ ।
बाटैको खोल्सोमा माछाका भुरा भेला पारिरहेकी मच्छरमर्नी थारूले भनिन्, 'आँखाले देखेसम्म पानी हुन्छ यता त !'
'माछा मार्दामार्दै कम्मरसम्म पानी बढेर गएको कतिपटक थाहै पाइन्न !' थारूकी छोरी मुर्गिनियाले औंल्याउँदै भनेकी थिइन् ।

बर्खा लाग्न थालेपछि राजापुरका घरबस्तीमा डरले मुटुमा ढ्यांग्रो ठोक्दो रहेछ बेस्सरी । ती हरपल आँखा च्यातेर कर्णालीको भेल हेर्न कुदिरहँदा रहेछन् । आकाश कालो हुन थालेपछि राजापुरका घरदैलोमा अत्यासको बादल मडारिँदो रहेछ ।
'धेरैपटक कर्णाली पसेको छ !' धनीरामले भनेथे ।
मंगली थारूले अरू थपे, 'हप्तौं पानीमात्र खाएर बसेको काँ बिर्सनु !'
हामी तातो गर्मी खेप्न आँपका रूखमुनि बसेका थियौं । नजिकै थियो बडघर । बडघर भनेको थारू र सोनाईको सरसल्लाह गर्ने मूलघर । त्यै घरको निर्णयले नै गाउँ चल्दै थियो— व्यक्ति र समुदायको गतिविधि, संस्कृति ।

मुरैयाबाट निकै माथि लागेपछि एउटा अग्लो टाँडेघर टुप्लुकियो । मचानजस्तो सिमेन्टको बलियो घरमा छाना थियो, अरु चैं ह्वांग ।
पछि बुझ्दा थाहा भो, बर्खामा कर्णालीको बाढी उर्लेर बस्ती पस्न थाल्दा गाउँलेहरू हत्त न पत्त त्यै टाँडेघरमा उक्लिँदा रहेछन् । अनि जोगाउँदा रहेछन् आफ्नो ज्यान ।
टाँडेघरमा पानीसम्म खान मिल्ने गरी दमकल नि जोडिएको थियो माथ्लो तलासम्म । राजापुरका निकै ठाउँमा यस्ता मचानघर रहेछन् । सयजना जति बस्न मिल्ने ती घरमा ओखती र अरू अत्यावश्यक खित्रिङमित्रिङ सामानका बाकस थिए । त्यस्तै पौडेर बाँच्न लगाइने लुगा नि थिए एक छेउमा ।
'म त पौडेरै बाँचेको !' धोबी सोनाईले भनेथे ।
उनका आँखामा कर्णालीको बाढी अहिले पो देखियो । 'एकपटक बालुवा चालेर सुन खोज्दाखोज्दै बगेँ । त्यतिखेर यस्ता घर काँ बनेका थिए र !'
सोनाईहरू अचेल माछा मार्छन् । सुन पाइन छोड्यो रे कर्णालीमा ।
'यति धेरै धान, गहुँ, मकै फल्ने राजापुरमा किन बालुवा चालेर सुन खोज्न जानु परेको नि ? ' मेरो गनगन उस्तै ।
लोहोरा थारूले जाल बुनिरहेको हात हटाएर मेरा अगिल्तिर तेस्र्याएर भने, 'लुगा, चप्पल किन्नु केले ?'
'बिमार परेको परेकै गर्छ । टैब्लेट केले खानु ? ' लोहोराले यत्ति भनिसक्दा मेरा साथीहरू धेरै पर पुगिसकेथे ।

राजापुरले तान्न छोडेन । हामी यताबाट उता, उताबाट यता कुदिरहेका छौं । घाँसे आलीमा आँखा गाढ्नुअघि नै खुट्टाले चिनेको गोरेटो हिँडेभैmँ गर्थे । मन रमाएर भएको होला यस्तो ।
खेतको माटोले दिएको वासना । वासनाले तानेको मन । हृदयका तरेलीमा उम्रिएका लहलह बाली । यी धेरै संगमले एक रात राजापुरमा बस्न खोजिरहेको थिएँ म ।
'यो गर्मी जित्ने कुनै मेसिन यहाँ छ ? ' रेग्मीले सोधे ।
'भए पाऊँ !' पौडेलले थपे ।
रुमाल खल्तीबाट झिकेर गणेशले बिस्तारै भने, 'जे हो, यै हो !'
हामी एकछिन हाँस्यौं । हाम्रा कुरा सुनिरहेका वृद्धले एक अम्खोरा पानी दिएर भने, 'ठूलो ओखती यै हो !'

निकै बेर सोनाई बस्ती बरालिएपछि साँझतिर बाँधतिर उक्लियौं हामी । साथीहरू तल सत्तीघाटबाटै कर्णाली तर्ने भन्दै थिए ।
'फेरीबाट चाँडो होला !' चक्रले सुझाए जुक्ति ।
अनि हामी फेरि बस्ती भएर दौलतपुर घाट पुग्यौं । कर्णालीको भयानक भँगालो यतातिर उर्ली-उर्ली बगिरहेथ्यो । गोधूलिको राजापुरमा जीवनको उत्साह बेग्लै थियो, अलग्गै थियो र उन्मादी थियो ।
वारिपारि गर्ने ठूलो फेरी थियो । त्यसैबाट दाउरा, भारीतारी, मोटरसाइकल, गाईबस्तुसम्म तार्ने गाउँलेको ठूलो हूल पारि पनि थियो, वारि नि ।
'यताकालाई बोकेर पारि तार्छ । अनि पारिका बोकेर यता झार्छ !' दौलतपुरमा कर्णालीको भँगालो हेरी वाल्ल परिरहेका बेला बुधी थारूले भने ।
फेरि आयो पारिबाट । घाट तर्ने अरूहरूसँगै हाम्रो बगाल नि बस्यो ।
गौरीशंकर अहिले फेरीका मालिक छन् । उनी पहिला यसका कामदार थिए । तुलाराम थारू पहिला यो फेरीका साहू थिए । अहिले कामदार छन् यसका ।
मालिक भए नोकर । नोकर भए मालिक ।

समयको यो चक्र पनि कत्ति अनौठो । सबैको परीक्षा लिँदो रहेछ समयले । कर्म भन्ने कि, परि श्रम ! मिहिनेत भन्ने कि, भाग्य ! संयोग भन्ने कि, स्वाभाविक !
एकछिन मन अमिलियो— निकै धमिलियो । ती दुवैको अवस्था देखेर, कल्पेर ।
ठेकेदार गौरीशंकरको हाँसो कर्णालीको लहरमा उत्रिरहेथ्यो । कामदार तुलारामको आँसु कर्णालीको छालमा भित्र-भित्र दबिइरहेथ्यो । ती दुवै वारिपारि गर्दै अतीत केलाउँदा होलान् । वर्तमान पर्गेल्दा होलान् ।
माघी थारूले केहीअघि भनेको सम्झिरहेको थिएँ म, 'मेरो ससुराको एक दिनभरि हिँड्दा नसकिने खेत थियो, धान र गहुँ फल्ने । अहिले एक मिनेट हिँडे पुग्नेमात्र खेत छ, तैपनि बालुवा भरिएको । अरू खेतमा नदी कुदिरा'छ !'
एक छिन अँध्यारा-उज्याला रेखाले मुटुलाई तारबेरा गरे । आँखामा अनौठो लहर दगुरिरह्यो...दगुरिरह्यो ।
कर्णालीका छालमा सङ्ला र धमिला पानी वेगिन छोडेन, दगुर्न छोडेन, हेलिन छोडेन । मेरो मनजस्तै अशान्त ।
दौलतपुर घाटपारिको कैलालीले सुटुक्क मेरा कानमा भन्यो, 'आज यतै बस र मधेस बुझ !'
मैले 'हुन्छ' भनेँ मनैदेखि ।
बल्ल खुट्टा लागे टीकापुरतिर ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.