झरी त्रासदी
आजकल यात्रामा निस्कन लाग्दा नजिकका आफन्त र इष्टमित्रहरू जोड लगाएर 'शुभयात्रा' भन्छन् । पहिलेपहिले पनि यस्ता कामना नगरिने होइनन् । तर, आजकल सडक र हवाई दुर्घटनाको संख्या दिनप्रतिदिन बढ्दै गएकाले त्यो 'शुभ' शब्दमा निकै जोड लगाएको अनुभूति हुने गर्छ । यात्रामा निस्केको मान्छे फेरि कहिल्यै फर्केर नआउने हो कि भन्ने नजानिँदो त्रासदी मनमा बोकेर उनीहरू 'शुभयात्रा' दोहोर्याइरहन्छन् ।
त्यस दिन पनि 'शुभयात्रा'का अनेक कामनासहित बिदा भएका असंख्य मानिस जोखिमको भय मनमा बोकेर यात्रा गरिरहेका थिए । एकोहोरो वर्षा भइरहेकाले पूर्वी तराईमा डुबान भएका खबर आउँदै थिए । केही मानिसको ज्यान गइसकेको थियो । मोबाइलमा सामाजिक सञ्जाल खोलेर डुब्दै गरेका मैदान र घर, रूखमा चढेर ज्यान जोगाउन खोजिरहेका मान्छे, खोलाले बगाएर बिचल्ली बनाएका वृद्धवृद्धा र बालबालिकाका तस्बिर हेरेर डराउँदै हामी मुग्लिन, नारायणघाट हुँदै सुर्खेत पुग्न माइक्रो चढेका थियौं । त्यस रात सुर्खेत बास बसेर भोलिपल्ट अछामको कालिकास्थान जाने योजना थियो । सुभास दर्नाल अवार्डले आयोजना गरेको कार्यक्रममा पश्चिमका विभिन्न जिल्लामा सक्रियतापूर्वक काम गरिरहेका दलित अभियन्ताका अनुभव सुन्न यो पंक्तिकार र यहाँ समावेश फोटोकी स्रष्टा उमा विष्टसहित १० जना काठमाडौंबाट हिँडेका थियौं ।
अविरल वर्षाले हिलाम्मे बनाएको मुग्लिन-नारायणघाट छल्ने सल्लाह थियो । तर, दामन उक्लेर हेटौंडा हुँदै जाने हाम्रो योजनालाई नबोलेरै खारेज गरिदिएका थिए भाडामा लिइएको माइक्रोका चालकले । मुग्लिनतर्फ गाडी सोझिएपछि गाडीभित्र सबैको अनुहार मैलिएको थियो । अघिल्तिरको ऐनामा चालकको अनुहार पनि उति चहकिलो देखिन्थेन । अप्ठ्यारो भीरमा गाडी चलाइरहेका चालकको चित्त दुखाउनु दोब्बर जोखिम बढाउनु हो । हामी उनका मौन आदेशपालक बन्यौं ।
बाटामा पानीले भरिएका खाल्डा कत्रा हुन्, अनुमान लगाउन गाह्रो थियो । सधैं यो बाटो छिचोल्ने गरेका चालक पनि बडो अन्दाज लगाई-लगाई, अघिल्तिरका गाडीको डोब हेरी-हेरी गाडी हाँकिरहेका थिए ।
नारायणघाट पुग्दानपुग्दै बुटवल जाने बाटो दाउन्नेमा पहिरो गएर सडक अवरुद्ध भएको खबर सुनियो । केही घन्टामा पहिरो पन्छाएर सडक सुचारु गरिने सूचनामा भर परेर हामी बुटवलतर्फ लाग्यौं । मध्यबिन्दु नगरपालिकामा पर्ने जंगल कट्दै गाडीका ताँती देखिन थाले । चतुर माइक्रो चालकले अरूलाई उछिन्दै, कतै खाली ठाउँमा एकछिन साइड लगाउँदै, फेरि अघि बढ्दै गरेर दुम्किबास नजिकै लगेर अब अगाडि बढ्न नसकिने सूचना दिए ।
यति बेला झमक्क साँझ परेको छ । हामी दुम्कीबासतर्फ पैदल हिँड्न थाल्यौं । कमसल चिनियाँ छाताको प्रभावहीन ओतमा आआफ्ना भारी बोकेर लगभग आधा घन्टा पैदल हिँड्यौं । बाटाका दुईपट्टि ताँती लागेका गाडीका बीचबाट पैदल यात्रुसँग कुम जुधाउँदै हिँड्नु उति अप्ठ्यारो थिएन । अनिश्चयको कोपराई भने बरु अलि बढी नै थियो ।
दुम्कीबासको सानो बजार यात्रुहरूले भरिसकेका थिए । भएका केही लज भरिए, खाना पकाउने साना रेस्टुरेन्टमा पाकेका सबै खाना सकिए भन्दै हल्ला गर्नेहरू थुप्रै थिए । कार्यक्रम आयोजकले केही स्थानीय चिनारुसँग सम्पर्क गरेर खाने र बस्ने ठाउँको जोहो गरे । गएकामध्ये एक साथीले उति आइजाई नगरेका ससुराली सम्झेर फोन गरे । तीनजनाको एउटा टोली उनै मित्रका ससुरालीसँग साइनो गाँसेर बास बस्यो । महिलाहरूको टोलीले मूल सडकछेउ पसल भएको घरमा बास पाएको थियो । सुत्ने बेला सहयात्री एक साथीलाई महिनावारी भएको घरमूलीले थाहा पाएपछि घरभित्र नपस्न उर्दी जारी गरिन् । एकछिनपछि तिनले जात पनि सोध्न थालिन् भने अर्को बितन्डा होला भन्ने ठानेर साथीहरूले राती नै त्यो घर छाडे । अर्को एक टोली सुतेको ठाउँमा महिला साथीहरूलाई जसोतसो सुत्ने व्यवस्था मिलाइयो ।
रातभरि दर्के पानी पर्यो । जति बेला ब्यूँझँदा पनि पानी परिरहेकै सुनिन्थ्यो । बिहान उसैगरी पानी परिरहेको छ, हामी बुटवलतर्फ जाने निधो गर्छौं । आधा बाटो गाडीमा जाने र आधा बाटो पैदल छिचोल्ने निर्णय हुन्छ । पछिल्तिर डाली भएको जिपमा चढेर हामी बर्दघाटतर्फ लाग्छौं । वर्षाले थामिने कुनै छेकछन्द देखाउँदैन । सबैसँग उही मझौला छाता छन्, एकजनासँग रेनकोट छ, अर्को एकजनाले प्लास्टिक जोहो गरेर ओत बनाएका छन् ।
जिपबाट आधा बाटोमा ओर्लेपछि हिँडाइ सुरु हुन्छ । दोकाँधे पारेर पिठ्यूँमा बोक्ने ब्यागलाई सबैले अघिल्तिर ल्याउँछन् । काँधमा उनेर पेटमा ब्याग अड्याउने, त्यही ब्यागमाथि छाताको डन्डी अड्याएर हातले समाउने अनि हिँड्ने । धेरैले एउटा हातले छाता र अर्को हातले केही सामान बोकेका छौं । जसै पैदल सुरु हुन्छ, पानीको घनत्व बढ्दै जान्छ । आठ किलोमिटरमा चार किलोमिटर पार नगर्दै पानीको रूप हाँडीघोप्टे बन्छ । हाँडीबाट ह्वारह्वार खन्याएजस्तो पानी दर्किन थालेपछि छाताको काम औपचारिकतामा मात्रै सीमित हुन्छ । चप्पल र जुत्तामा पहिरोसँगै खसेको रातो माटो चप्परी भएर टाँसिन्छ, हिँड्न अझै सकस हुन्छ ।
हाम्रै हविगतमा पैदल हिँडिरहेका यात्रुमध्ये अधिकांशले दुम्कीबासदेखि बिहान ५ बजेदेखि नै पैदल यात्रा थालेका थिए । सयौं मान्छे घनघोर वर्षा छेक्ने निम्छरो प्रयत्न गर्दै हिँडिरहेको देखिन्थ्यो । कसैले नीला-राता प्लास्टिकका रेनकोट बनाएका थिए, कसैले जुत्ता चप्पलले हिँड्न असहज भएकाले खोलेर बाटामा मिल्काएका थिए, कोही भने बालबच्चालाई पानीबाट जोगाउने असफल यत्नमा लागेर सुस्तरी बाटो नापिरहेका थिए । विदेशबाट फर्केका युवाले त्यो हिलाम्मे बाटामा आफ्ना ट्रली सकीनसकी तानिरहेका दृश्य अप्ठ्यारो मान्दै हेर्नुबाहेक गर्न सकिने केही थिएन । कतारबाट जोगाएर ल्याएको एलसीडी टीभी र माइक्रो वोभन ओताउन उनीहरूलाई परेको हम्मे हेरिनसक्नु थियो ।
दसौं ठाउँमा सानाठूला पहिरो लडेको देखिन्थ्यो । वर्षा बढ्दै गएपछि माटो र ढुंगा बुरुरु झर्छ, यात्रुको भागाभाग चल्छ । छाता यसो कोल्ट्याएर पैरो हेर्दै भाग्नु सहज कहाँ हुन्छ र ? फेरि भएन आतुरीमा जति चाँडो भाग्न खोज्यो, त्यति नै ढिलो चल्छ पाइला । प्रत्येक पैरो कटेर बाटामा बगेको पानीमा चप्पल पखाल्दा अर्को पहिरोमा बितिने पो हो कि भन्ने भयले मुटु गाँज्छ । त्यसरी केही डरलाग्दा पैरोहरू छिचोलेर बर्दघाटको मैदानी सडकमा पुगेपछि ढुक्क हुन्छ । अछाम पुग्ने तोडमा हिँडेका सबै साथी बुटवलबाट अघि बढ्न नसकिने निधो गर्छन् । दाउन्नेका पहिरोहरू नै यात्रा शुभ नहुने पर्याप्त संकेत थिए ।
मझौला चुरे पहाडमा बनाइएका पक्का सडकको अवस्था त यस्तो छ भने डोजर इन्जिनियर भनिने सिकारुहरूले बाटोको रहर गरेर अक्करिला भीरमा जथाभावी खनेका सडकको के कुरा ! कामना मात्रले जीवन जोगिने भए !