धरहराको झल्को दिने पिसा टावर
रोमबाट तीन सय पचास किलोमिटर टाढा द्रुत गतिको ट्रेन यात्राबाट पिसा सहरमा उत्रेपछि चर्को घामले स्वागत गर्यो । ट्रेन स्टेसनबाट करिब पच्चीस मिनेटको पैदल यात्रामा घाम र छहारीसँग लुकामारी खेल्दै पिसा टावरको फेदमा पुगेर पसिना पुछेँ । पिसा टावर रोम सहरमा भएको भए अझ कति भीड हुन्थ्यो होला ? चर्को घाममा पनि पिसा टावरअगाडि मानिसहरू झुत्तिएको देख्दा छक्क पर्छु ।
मध्ययुगका सात आश्चर्यमध्येको 'ग्रेटवाल अफ चाइना' र इटालीको 'कोलिसियम'को भ्रमणपश्चात् तेस्रो आश्चर्य 'पिसा टावर'अगाडि उभिन पाउँदा आफूलाई भाग्यमानी ठानेँ । इटालीको पिसा सहरमा अवस्थित लिनिङ टावरका रूपमा परिचित पिसा टावरलाई निकै बेर हेरेँ । विस्तारै चारैतिर नजर दौडाएँ । कस्तो अचम्म ! वरपरका सबै घर सीधा र दुरुस्त छन् । छहारी दिने हरिया रुख ठिंग उभिएका छन् । तर, कमर ढल्काएर फोटो सेसन गर्न उभिएकी कुनै बैंसालु मोडेलजस्तै ढल्किएको छ पिसा टावर ।
लड्ला लड्लाजस्तो देखिए पनि आठ सय वर्षदेखि सकुशल रहेको पिसा टावर के कारणले ढल्केको होला ? कैयौं प्राकृतिक उथलपुथल आउँदा पनि त्यति लामो समयदेखि कसरी सुरक्षित रहन सकेको होला ? पिसा टावरको फेदैमा उभिएर यस्तै सोच्दासोच्दै घोर आश्चर्यमा पर्छु । बर्सेनि दसौं लाख पर्यटकको मन जित्न सफल त्यस विशाल संरचना देखेपछि मनमा अनेकौं प्रश्नले तरंग उठाए । जिज्ञासु मनलाई शान्त बनाउन वरिपरि चक्कर लगाउन थालेँ । घरि आइफोन अन गरेर वेब पेजमा पिसा टावर खोज्छु, घरि गाइडका कुरा सुन्छु । जतिजति पिसा टावरबारे जानकारी प्राप्त हुँदै जान्छ, उतिउति आश्चर्यमा पर्दै जान थालेँ ।
सन् ११७३ मा बन्न सुरु भएको पिसा टावर निर्माण सम्पन्न हुन दुई सय वर्ष लागेको रहेछ । चाँडै निर्माण सम्पन्न गर्ने उद्देश्य रहे पनि युद्धका कारण पटकपटक निर्माणकार्य स्थगित भएको थियो । पिसा अहिले इटालीको एउटा सहर भए पनि एकीकरणपूर्व एउटा स्वतन्त्र सानो राज्य थियो । पिसा टावरको निर्माण सुरु भएको केही समयपछि नै पिसा राज्यको फ्लोरेन्स, जेनिओ र ल्युका राज्यसँग युद्ध सुरु भयो । छिमेकी राज्य फ्लोरेन्ससँग भने पहिलेदेखि नै शत्रुवत् सम्बन्ध थियो ।
उति बेला पिसा राज्य आर्थिक रूपले सम्पन्न थियो । धनीमानीहरूको बसोबास भएको त्यस राज्यका मानिसहरू कुशल नाविक र सफल व्यापारी थिए । तिनीहरू व्यापारका लागि स्पेन, बेल्जियम, अफ्रिका, नर्वेदेखि जेरुसेलमसम्म पुग्थे । उनीहरूले धन तथा शक्तिको सामथ्र्य देखाउन र फ्लोरेन्स राज्यलाई होच्याउनका लागि अग्लो र विशाल पिसा टावरको निर्माण गरेका रहेछन् । त्यति बेला भेनिस सहरमा पनि निकै प्रसिद्ध सुन्दर र अग्लो घन्टाघर थियो । त्योभन्दा पनि आकर्षक र अग्लो टावर बनाएर भेनिसमा समेत आफ्नो प्रभाव देखाउन खोजेका रहेछन् । हुन त यस्तै खाले स्वस्थ प्रतिस्पर्धा र ईखले विकासनिर्माण, सम्पन्नता र सफलता हासिल गर्नमा ऊर्जा दिन्छ । प्रतिस्पर्धाका फूर्ति छाँट्ने यस्ता गुण व्यक्तिमा पनि लागू हुन्छन्।
अमेरिकी सेनाले शत्रु पक्ष जर्मनी र इटालीका सेना पिसा टावरमा लुकेर घातक आक्रमण गर्न सक्छन् भनेर बम खसाल्न आँटेका रहेछन् । कसोकसो दोस्रो विश्वयुद्ध टुंगिहालेछ र पिसा टावर बँचेछ ।
रोमन डिजाइनको पिसा टावर वास्तवमा घन्टाघरका रूपमा बनाउन सुरु गरिएको थियो । टावरको सबैभन्दा माथि सातवटा विशाल घन्ट राखिएको छ । अहिले पनि सुरक्षित रहेका ती घन्टको विशेषता भनेको प्रत्येक घन्टले संगीतका सातवटा स्वरमा एकएकवटा स्वर निकाल्दा रहेछन् । उति बेला कुन विज्ञान र कला प्रयोग गरेर संगीतका सात स्वर निकाल्ने घन्ट निर्माण गरेका होलान् भनेर सोच्न थालेँ । कुशल संगीतकारहरूले ती सातवटै घन्ट बजाउन पाए भने कस्तो खालको संगीतको सिर्जना गर्छन् होलान् ? ती घन्टका स्वर कुनै संगीतमा राखिएका छन् कि ? थाहा पाउने खुल्दुली लागिरह्यो ।
आर्किटेक्ट बोनानो पिसानोले निर्माण थालेको बाह्र वर्षपछि मात्र पिसा टावर बांगो भएको थाहा भएछ । त्यति बेला आठ तलामध्ये तीन तलाको निर्माण सम्पन्न भइसकेको थियो । ढल्केको टावरलाई सीधा पार्न उति बेला इन्जिनियरहरूले धेरै कोसिस गरे तर सफल हुन सकेनन् । नढल्कनु पथ्र्यो तर ढल्किएपछि त्यसैलाई निरन्तरता दिएर निर्माण सम्पन्न गरेछन् । अहिले पनि पिसा टावरको टुप्पाबाट फेदमा हेर्दा चार मिटर फरक देखिँदो रहेछ । ज्यामितीको भाषामा भन्नुपर्दा पिसा टावर चार डिग्री ढल्केको रहेछ । त्यति धेरै ढल्केर पनि अहिलेसम्म सुरक्षित रहनुले हरकोहीलाई आश्चर्यमा पार्छ ।
प्रविधिको राम्ररी विकास नभएको त्यस समयमा चार फिट मोटाइको गारो र पचपन्न मिटर अग्लो त्यत्रो विशाल संरचना कसरी बनाए होलान् भनेर अनेक तर्क निकाल्छु । उसो त पिसा टावर मध्ययुगीन इन्जिनियरिङको चामत्कारिक नमुनाका रूपमा लिइन्छ । भन्न त पिसा टावरलाई भवन निर्माण इन्जिनियरिङको एक कुरूप संरचना पनि भनिन्छ । कुरूपतामा पनि आफ्नै खालको सौन्दर्य लुकेको हुन्छ । त्यसो भए पिसा टावर कुरूप हो कि सुन्दर ? अरूलाई जेजस्तो लागे पनि मलाई त त्यसले लट्ठ पारेर छाड्यो । कालिगढले बनाएको गलत संरचना हेरेर दंग पर्ने मजस्तै संसारभरका मानिसको ओइरो देख्दा छक्क पर्छु ।
हरेक वर्ष एकदेखि दुई सेन्टिमिटरसम्म ढल्किरहेको वास्तुशिल्पको त्यो अद्भुत नमूना ढल्कँदाढल्कँदै कतै धर्तीमै आरामले सुत्ने त होइन भनेर इटालीको सरकार पहिलेदेखि नै चिन्तित थियो । सुरुदेखि नै त्यसलाई सीधा पार्ने धेरैपटक प्रयास गरियो । मुसोलिनीको शासनकालमा भने निकै खर्च गरेर त्यसलाई सीधा पार्न खोजियो । उति बेला अहिलेजस्तो उच्चतम आधुनिक प्रविधि नभएकाले सफलता हात लागेन । केही वर्षअघि पिसा टावरलाई सीधा पार्न र त्यसको जग मजबुत बनाउन टावरको जगमुनि खनेर केही सेन्टिमिटरमात्र सीधा बनाए छन् । त्यसपछि पनि त्यो टावर हरेक वर्ष ढल्किरहेको छ तर पहिलेको तुलनामा साह्रै थोरै ।
यो थाहा पाएपछि मलाई लाग्यो— जमिनमुनि सुरुङमार्ग बनाउने, रेल र यातायातका साधन चलाउन सक्षम इन्जिनियर तथा वैज्ञानिकहरू अनि हजारौं मिटर जमिनमुनि पुगेर विभिन्न खनिज पदार्थ निकाल्नसक्ने प्रविधि र ज्ञान भएको अत्याधुनिक समयमा मुनिबाटै पिसा टावरलाई सीधा पार्न नसकिने होइनजस्तो लाग्छ । त्यसलाई यथास्थितिमै सुरक्षित राख्नु सायद उनीहरूको बाध्यता हुनुपर्छ । पिसा टावरलाई ठिंग सीधा उभ्याउने हो भने त्यसको कुनै महत्व हुनेछैन । पिसा टावरलाई पुूरै सीधा बनाइयो भने त्यसलाई हेर्न कति पर्यटक पो आउलान र ? त्यसैले पिसा सहरका नागरिकहरू भन्दा रहेछन्, 'यसलाई बरु भत्काउन मञ्जुर छौं तर सीधा पार्न दिदैनौं ।' त्यसको ढल्काइ नै पर्यटकको मुख्य आकर्षण हो भनेर उनीहरूले बुझेका छन् ।
हजारौं व्यक्तिको रोजीरोटी त्यही ढल्केको टावरमा अडिएको छ । पिसा टावरभन्दा आकर्षक र अग्ला टावरहरू संसारका धेरै देशमा भए पनि संसारका अग्ला टावरभन्दा यसैको ख्याति बढी छ । त्यही भएर पिसा टावरलाई सीधा पनि पार्दैनन् र ढल्न पनि दिँदैनन् । त्यो टावर ढल्यो भने वा सीधा बनाइयो भने कंक्रिटको राशको के काम ?
अधिकांश पर्यटकले पिसा टावरको वरिपरि थरीथरीका पोजमा फोटो लिएको देख्दा लाग्थ्यो— उनीहरू फोटो खिच्नैका लागि मात्र लागि त्यहाँ आएका हुन् । तर, उत्तिकै कलात्मक र ऐतिहासिक महत्व बोकेको पिसा टावरको छेउमै रहेका अन्य भवनहरूबारे बेखबर हुँदा रहेछन् । मलाई कुनै हतार थिएन, समय प्रशस्त भएकाले ती भवनहरूमा चक्कर लगाउन थालेँ ।
पिसा टावरको नजिकै रहेका डुओमो, क्याम्पोसान्तो र ब्याप्टिस्ट्री नामका ऐतिहासिक भवनका गाथा बेग्लै छ । पिसा टावरसहितका ती चारवटा संरचना भएको क्षेत्रलाई 'स्क्वायर अफ मिराकल' भनिँदो रहेछ । 'स्क्वायर अफ मिराकल'मा अवस्थित पिसा टावरलाई घन्टाघर पनि भनिँदो रहेछ । डुओमो रोमन साम्राज्यको पुरानो कैथेड्रल हो । त्यसको आर्टिटेक्ट अति सुन्दर र कलात्मक छ । ब्याप्टिस्ट्री भने गोथिक संरचना हो । त्यहाँ ढुंगाका सैयौं वर्ष पुराना संरचना र कलाको शानदार निर्माण शिल्प देखेर जोकोही दंग पर्छन् । ती सबै भवनको अवलोकनपश्चात् उति बेलाका कालिगढहरूको निर्माणकलाको तारिफ गर्दै फेरि पिसा टावरको फेदमा फर्कें ।
पिसा टावर नियमित झुकिरहेको थाहा पाउँदा हरेकलाई रहस्यमय लाग्छ । तर, वैज्ञानिकहरूले त्यस रहस्यलाई उहिल्यै खोतलिसकेका रहेछन् । पिसा टावरको सतहमुनिको माटो कमजोर र दलदले भएकाले अत्यधिक वजनका कारण उक्त टावर धसिएर ढल्केको रहेछ । थोरै मात्रामा हरेक वर्ष ढल्किरहनेछ भनेर वैज्ञानिकहरूले उहिल्यै पत्ता लगाएका रहेछन् । आठ सय वर्षदेखि ढल्किरहँदा पनि किन ढल्दैन त ? यो जिज्ञासाले मलाई थप आश्चर्यमा पार्यो । हाम्रो देशमा यसरी कुनै संरचना हरेक वर्ष ढल्किरहने हो भने त्यहाँ दैवी शक्ति छ भनेर सायद पूजाआजा गरिन्थ्यो होला ।
भगवान्सँग मनोकामना पूरा होस् भनेर ताँती लाग्नेका भीड बिहानबेलुकै देखिने थियो । त्यसलाई पैतालाले छोएमा पाप लाग्छ भनेर त्यसको वरपर जान पाइन्थ्यो होला । तर, पिसा टावर अत्यधिक ढल्किँदा पनि नलड्नुको वैज्ञानिक कारण रहेछ त्यसको गुरुत्व केन्द्र । गुरुत्व केन्द्र वस्तुको त्यो बिन्दु हो जहाँ त्यसको समस्त भार केन्द्रित हुन्छ । विज्ञानको सिद्धान्तअनुसार कुनै पनि वस्तु त्यति बेलासम्म स्थिर रहन्छ जबसम्म त्यसको गुरुत्व केन्द्रबाट खिचिएको भर्टिकल लाइन (उध्र्वाकार रेखा) वस्तुको आधारबाट अर्थात् तलबाट जान्छ ।
यो तथ्य थाहा पाएपछि अघिसम्म पिसा टावर अचानक लडेर कुन बेला मेरो टाउकोमा बजे्रला भनेर डरले त्राहिमाम भएको म बल्ल निस्फिक्री भएँ । अनि जोशिन थालेँ । ग्यालिलियोजस्ता महापुरुष चढेको पिसा टावर चढ्न सुरिएँ । पिसा टावरको सबैभन्दा माथि पुगेर आधुनिक विज्ञानका पिता, वैज्ञानिक तथा पिसा विश्वविद्यालयका गणितका प्राध्यापक ग्यालिलियोले एरिस्टोटलको सिद्धान्तलाई चुनौती दिएका थिए । एरिस्टोटलले गह्रुँगो वस्तु हलुका वस्तुको तुलनामा माथिबाट तल छिटो खस्छ भनेका थिए ।
उनको सिद्धान्तलाई करिब अठार सय वर्षसम्म सबैले पत्याइराखेछन् । तर, ग्यालिलियोले एरिस्टोटलको उक्त सिद्धान्त गलत भएको बताउँदा मानिसहरूले उनलाई पत्याएनछन् । ग्यालिलियोले त्यो तथ्य प्रमाणित गर्न एउटा सानो फलामको बल र अर्को त्योभन्दा दोब्बर बढी वजन भएको बल लिएर पिसा टावर भित्र रहेका २९४ वटा खुट्किला भएको ढुंगाको घुमाउरो भर्याङ उक्लिँदै सबैभन्दा माथि पुगेछन् । ती दुवै बललाई एकैसाथ माथिबाट खसाउँदा जमिनमा दुवै बल एकै समयमा आइपुगे।
पिसा टावरलाई एउटा प्रयोगशालाका रूपमा ग्यालिलियोले प्रयोग गरेर मानिसहरूका आँखा खोलिदिएकाले त्यो प्रसंग विज्ञानमा बारम्बर आउने गर्छ् । ग्यालिलियोजस्ता महापुरुषको पदचिह्न पछ्याउँदै माथि जाने मेरो तीव्र इच्छालाई टिकटले बाधा पुर्र्यायो । माथि चढ्न टिकट काट्नुपर्ने रहेछ । अहो, एकातिर टिकट काउन्टरमा मान्छेका अच्चकाली भीड ! अर्कोतर्फ पिसा टावरमाथि उक्लिनेको लामो लाम देखेपछि समय अभावका कारण पिसा टावरको आरोहण त्याग्नु पर्यो । अर्कोपटक फेरि आउने मौका जुर्यो भने अवश्य माथि चढौंला भनेर चित्त बुझाएँ ।
पिसा टावर आठ सय वर्षदेखि सुरक्षित रहनु र संसारभरका अवलोकनकर्ताको मन जितिरहनु कम आश्चर्यलाग्दो होइन । भूकम्प, आँधीबेरीलगायतका प्राकृतिक विपत्तिमा सुरक्षित पिसा टावरलाई दोस्रो विश्वयुद्धको समयमा अमेरिकी सेनाले झन्डै ढालेनछन् । अमेरिकी सेनाले शत्रु पक्ष जर्मनी र इटालीका सेनाले पिसा टावरमा लुकेर घातक आक्रमण गर्न सक्छन् भनेर बम खसाल्न आँटेका रहेछन् ।
कसोकसो दोस्रो विश्वयुद्ध टुंगिहालेछ र पिसा टावर बँचेछ । नत्र हामीले पिसा टावरको फोटोमात्र हेरेर चित्र बुझाउनुपर्ने थियो । पिसा टावर प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, गृहयुद्ध र कैयौं प्राकृतिक विपत्तिमा समेत सुरक्षित रहेकाले हत्तपत्त यसलाई केहीले पनि क्षति पुर्याउनै नसक्ने लामो आयु लिएर पो आएजस्तो लाग्यो ।
पिसा टावरलाई धीत मरुन्जेल निकै समय लगाएर नजिक, टाढा, दायाँबायाँ सबैतिरबाट घुमीघुमी हेरेँ । नजिकबाट भन्दा अलिक परबाट पो पिसा टावर आकर्षक लाग्यो । इटालीको प्रतीकका रूपमा उभिएको पिसा टावरलाई अन्तिम दर्शन गरेर फर्कन लागेको थिएँ । अचानक आफ्नै देशको धरहराको सम्झना आयो । पिसा टावर जत्तिकै संसारभर ख्याति नकमाए पनि विदेशी पर्यटकको आकर्षण धरहराप्रतिको मेरो प्रेम बयान गरिसाध्य छैन ।
धरहरासँग गाँसिएका मेरा धेरै प्रसंग एकपछि अर्को गर्दै आउन थाले । केही वर्षअघि आएको विनाशकारी क्रूर भूकम्पले मेरो प्रिय धरहरालाई धुलिसात पारिसकेको थियो । पिसा टावरमा रमाएको मन अचानक धरहराको सम्झनाले उदास भयो । दु:खी मन बोल्यो, 'मेरो प्यारो धरहरा, तिमी पुनर्जन्म लिएर उही रूपमा चाँडै उठ । तिमीलाई सरकारले उठाउँदैन भने हामी प्रवासी नेपालीहरू आर्थिक स्रोत जुटाएर उठाउन तयार छौं । तिम्रो आयु र ख्याति पिसा टावरको भन्दा पनि बढी होस् । तिमीलाई भेट्न म सात समुद्र पारिबाट चाँडै आउनेछु ।'