महिलालाई पुनर्विवाह गर्न किन गाह्रो छ ?

महिलालाई पुनर्विवाह गर्न किन गाह्रो छ ?

बालकुमारीस्थित केएफसीको एउटा ठूलै क्याबिनमा मुनाले पर्खन थालेको आधा घण्टा बितेपछि उनीहरूको जम्बो टोली आइपुग्यो । टोली जम्बो हुने भएकैले होला, ठूलै क्याबिन बुक गराएका रहेछन् । अघिल्लो दिन उनको साथीलाई फोन गरेर केटाको दाइले आफ्नो भाइमात्र लिएर आउने भनेका थिए । पछि टोली जम्बो हुनुको कारण थाहा भएन ।

उनीहरूसँगको भेटमा मुनालाई कुनै किसिमको हिच्किचाहट भएन । उनको पहिलो विवाहमा कुरा लिएर हुनेवाला ससुराबाको अनुहार हेर्न सकेकी थिइनन् उनले । पछि कतै बाटोमा ठोक्किएको भए पनि सायद चिन्ने थिइनन् । तर, यसपालि भने उनीहरू बसेको कोठाबाट ननिस्किएसम्म उनका आँखाले भुइँमा हैन, त्यहाँ आइपुगेका जम्बो टोलीका सबै सदस्यको अनुहार हेर्न भ्यायो ।

पालैपालो अनेकौं प्रश्न सोधियो मुनालाई । उनीहरूले जस्तोजस्तो प्रश्न गर्थे, उस्तै जवाफ दिन्थिन् उनी । घर, माइती, व्यवसाय, परिवारका सदस्य, शैक्षिक योग्यतालगायत सबै सोधेर भ्याए उनीहरूले । मुनाले भने केही पनि सोधिनन् । उनको साथीले केटो कृषि विकास बैंकको ऋण अधिकृत हो भनेर बताएकी थिइन् । मोटोमोटो शरीर, पुक्क पेट निस्किएको थियो केटो ।

painting-erina

केटाको दाइ जो मुनासँग सम्पर्कमा थिए । कुनै जिल्लाको स्थानीय विकास अधिकारी रहेछन् उनी । सम्पूर्ण कुराकानीको ‘लिड’ उनले नै गरिरहेका थिए । सोध्नुपर्ने र जान्नुपर्ने जति सकिएछ । केटाको दाइले आफ्नो भाइकी श्रीमतीले आत्महत्या गरेको र उनको ६ वर्षको छोरा मावलीको संरक्षणमा रहेको बताए । भाइको बिहेपछि छोरालाई फिर्ता ल्याउँछौंसम्म भन्न भ्याए । यो भेटको सुरुवातमात्र भएको भन्दै उनीहरू जर्‍याकजुरुक उठे र क्याबिनबाट बाहिरिए । मुना र मुनाको साथी मुखामुख गरेर पेट मिचिमिची हाँस्यौं ।

भोलिपल्ट उनै स्थानीय विकास अधिकारीले मुनालाई फोन गरे- ‘हामीलाई तपाईं मन पर्‍यौ नानी ।’ लेग्रो तानेर केही सम्झिए जस्तै गरी थपे - ‘अँ नानी साँच्ची विवाहपछि तपाईं आफ्नो छोरीलाई कहाँ राख्नुहुन्छ नि ? ’ उनको प्रश्न भुइँमा झर्न नपाउँदै मुनाले जवाफ दिइन्- ‘मेरो छोरी सधैं मैसँग रहन्छे ।’ फेरि कुरा गरौंला भनेर उनले फोन राखिन् । पछि तिनै व्यक्तिले मुनाको साथीलाई फोन गरेर छोरीलाई मामाघर अथवा अरू कसैको संरक्षणमा राख्ने हो भने त्यो परिवार मुनालाई बुहारी बनाएर भित्याउन तयार छ भन्ने खबर छोडेछन् ।

‘म आमा हुँ, म आफ्नो सन्तानलाई केही समयको लागि पनि आफूबाट अलग गर्न सक्दिनथेँ । मेरा त आमाबुवा दाजुभाइ दिदीबहिनी छन् । तर, मेरो छोरीको मबाहेक यो संसारमा कोही पनि छैन ।’ प्रस्ताव सुनेर मुनाको मनमा यस्तै विचार खेले । अन्ततः पुनर्विवाह गर्ने रहर सकियो । त्यसपछि मुनाले योबारे कल्पना पनि गरिन् । आज मुनाकी छोरी १६ वर्षकी भइसकेकी छन् । आमा-छोरी खुसी छन् । पुनर्विवाह गर्न चलाएको त्यो कुराकानीबाट उनले एउटा पाठ सिकेको बताउँछिन् । भन्छिन्, ‘मैले मलाई माया गर्ने श्रीमान् पाउन सक्ने रहेछु । तर, मेरो छोरीको लागि पिताको दायित्व बहन गर्ने लोग्नेमान्छे पाउन गाह्रो रहेछ ।’

मुनाको भोगाइजस्तै सपनाको यथार्थ पनि कम पीडादायी छैन । सपनाको विवाह भएको तेस्रो वर्षमै उनको श्रीमान्को मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । श्रीमान्को मृत्युपश्चात् श्रीमान्को भोगको पैतृक सम्पत्ति लिएर मेहनत गरेर खान थालेकी सपनालाई विवाहका प्रस्ताव धेरै आए । तर, उनीसँग आएर बस्न चाहने कोही आएनन् । उनले आफ्नो घरलाई घर बनाउन धेरै मेहनत गरेकी छिन् । उनी आफ्नो दुःखले बनाएको घर छोडेर कतै जान चाहन्नन् । उनको प्रस्तावलाई स्वीकारेर सँगै बस्ने मनले खाएको मान्छे नभेटिएपछि सपनाको पनि दोस्रो विवाह हुन सकेन ।

मेरै एकजना छिमेकीले श्रीमती बितेको ६ महिना पनि नपुग्दै श्रीमान्सँग पारपाचुके गरेर बसेकी जागिरे महिलासँग विवाह गर्नुभयो । विवाहपछिका दिनमा उहाँले आफ्ना दुईवटा छोराछोरीको हेरविचार राम्रोसँग होओस् भनेर एउटा महिलाको उद्धार गरिदिएको नत्र आफूले कन्या केटी पाउन्न थिएँ र ? भन्दै हिँडेको पनि सुनियो । म उहाँको सोचसँग पटक्कै सहमत हुन सकिनँ । मेरो विचारमा ती महिलाले मेरो छिमेकीको उद्धार गरेकी थिइन् । उनका सानासाना छोराछोरीको आमा बनेर उनीहरूको लालनपालन गर्नु ठूलो चुनौती थियो ।

के एकल महिलाले विवाह नै नगरी जीवन गुजार्ने ? के यौनिक आवश्यकता र त्यसको अभावका कारण उत्पन्न मानसिक तनाव, कुण्ठा र जैविक आवश्यकतालाई दबाएर जीवन गुजार्ने ?

उनले त्यो चुनौती स्वीकारेकोमा महान् मान्थेँ म उनलाई, किनभने उनका आफ्ना छोराछोरी हुर्किइसकेका थिए । एक आमाको रूपमा सन्तान हुर्काउन भोग्नुपर्ने दुःख फेरि भोग्न तयार हुने उनको समर्पणको कदर हुनु पर्दैनथियो र ?

अर्काको छोराछोरीसहितका श्रीमतीसँग कुनै विवाहित पुरुषले नै गरेको पुनर्विवाहलाई स्वीकार्दै समाजले मर्दका दसवटी भन्छ । तर, एउटा अविवाहित पुरुष, श्रीमतीसँग पारपाचुके गरेको पुरुष वा श्रीमतीको मृत्यु भइसकेको पुरुषले एकल महिला वा बलात्कारमा परेकी महिलासँग विवाह गर्दा उसलाई नामर्दको संज्ञा दिने हाम्रै समाज हो ।

 

विवाह दुई अविवाहित विपरीत लिंगी आत्मिकरूपले आपसमा आबद्ध गर्ने कार्य व्यवहार हो । तर, आज आएर प्रश्न के खडा भएको छ भने यदि विवाहपश्चात पुरुष वा महिलाको मृत्यु भएमा पुनः पुरुषको जस्तो सजिलैसँग महिलाको विवाह किन हुँदैन ? यो प्रश्नको निकास आफैंमा जटिल छ । केही एकल महिलाले पतिको मृत्यु वा पारपाचुकेपश्चात पुनर्विवाह गरेका पनि छन् । एकल महिलाको विवाहमा अनेक बाधा अड्चन पहिले पनि थिए र आजसम्म पनि रहेकै छन् ।

पुनर्विवाह पछाडिको यो जटिलता पछाडिको अर्को मुख्य कारण हो - विवाह एक संस्था पनि हो । विवाहले सामाजिकमात्र नभएर आर्थिक संस्थाको रूपसमेत धारण गर्दछ । जीविकोपार्जन, सम्पत्तिमाथिको अधिकार, वंश परम्परा, भविष्यप्रतिको सुनिश्चितता आदि यसका रूपहरू हुन् । नेपाली समाज आज पनि पुरातन सोचमै सीमित छ । कानुनले पैतृक सम्पत्तिमा समान अधिकार दिए पनि महिलालाई सन्तान उत्पादन गर्ने उपकरण र भोग्याको रूपमा लिने चिन्तन जीवित नै छ । ‘खुट्टा भए जुत्ता कति, मर्दका दसओटी’ भन्ने मान्यताले आजसम्म पनि समाजमा जरा गाडेर बसेको छ ।

परोक्षरूपमा यसको प्रभाव पतिको मृत्युपश्चात महिलाहरू आजीवन घरको सतित्वमा रहनुपर्ने तर, पतिले भने पत्नी बितेको तेह्रौं दिनको कर्मपश्चात कन्या खोज्न हिँडेका दृश्य नयाँ होइनन् । एकल महिलाको विवाहसँग अन्य केही ज्वलन्त प्रश्नहरू पनि तेर्सिएका छन् । विवाह एक पारिवारिक समझदारी पनि हो । यो समझदारी कसैको परिवार र त्यो परिवारले अँगाल्दै आएको सांस्कृतिक मान्यतासँग जोडिएको हुन्छ । एक पटक विवाह भइसकेकी महिला, त्यसमा पनि पतिको मृत्युको कारणसमेत महिलाको भाग्यसँग जोडिएको पुरातन मान्यताले पनि एकल महिलाको विवाहले प्रोत्साहन पाउन नसकेको हो । शिक्षा र सीपको कमी तथा परनिर्भरताले पनि एकल महिलाहरू आफंै पुनर्विवाहको सिँढी उक्लन अप्ठ्यारो भएको हो ।

एकल महिलाको पुनर्विवाहसँग केही जातीय तथा भावनात्मक विषयसमेत जोडिएका छन् । जातीय सामाजिक मान्यताको कारणले सजातीय जीवन साथीको अप्राप्यता निकै ठूलो चुनौती हो । आज पनि विवाह सम्बन्धमा जातीय घेरा तोड्ने अवस्था नेपाली समाजले निर्माण गर्न सकेको छैन ।

भातपानीभन्दा तल जानु भनेको घरपरिवार, समाज तथा कुटुम्बबाट अलग भएर जानु हो । यी सामाजिक कुरीति समाजमा नहुँदा हुन् त एकल महिलालाई पुनर्विवाह केही सजिलो हुने थियो । यस्तो समाजमा पुनर्विवाह गर्नु भनेको आफैंले आफ्नो भविष्य निर्धारण गर्नु पनि हो । कथंकदाचित माइती पक्षले तदनुसारको पुरुषको खोजी गरी छोरीको विवाहको चाँजो मिलाए पनि अधिकांशमा घरपक्ष नकारात्मक देखिन्छन् ।

केही अपवाद नभएको होइनन्, सासूससुराले केटा खोजेर कन्यादान गरेको पनि सुनिएको छ । तर, अधिकांशमा छोराको मृत्युपश्चात पनि बुहारी घरमै बसिदिए सामाजिक प्रतिष्ठा वृद्धिको भ्रम पाल्ने परम्परा कायम छ । आफैंले अग्रसर भएर पुनर्विवाह गर्दा केटा पक्षको पारिवारिक स्वीकार्यता एकल महिलाको विवाहपूर्वको गहन प्रश्न हो । सन्तान रहेनछन् भने त केही सहज पनि होला, तर साथमा छोराछोरी पनि छन् भने उनीहरूको उचित लालनपालनको बन्दोबस्त कसरी गर्ने ? यो भावनात्मक विषय हो, यो महिलाहरूको ममतासँग जोडिन्छ । त्यसैगरी महिलाले आफ्ना छोराछोरीलाई कस्को जिम्मामा छोडेर जाने ? हुँदै गरेको पतिसमेत विधुर रहेछन् र उनका पनि सन्तान रहेछन् भने कसरी मिलाएर लैजाने ? यी पनि पुनर्विवाहसँग जोडिन आउने ज्वलन्त समस्या हुन् । प्रचलित कानुनले यसलाई व्यवस्थित गरेको भए पनि अव्यावहारिक कठिनाइले थिचिएका छन् ।

प्रकृतिले महिलालाई सन्तानोत्पादनको गहन जिम्मेवारी सुम्पिएको छ । महिला महिलामात्र नभएर एक आमासमेत हुन् । यो एक भावनात्मक सम्बन्ध पनि होे । सामाजिक मान्यता तथा सोच आजसम्म के रहेको छ भने पुरुषहरू चारो बटुल्ने हुन् र त्यस चारोलाई तयार गरेर छोराछोरीको आँतसम्म पुर्‍याउने जिम्मा महिलाको हो । यो मान्यता यतिसम्म जीवन्त बनेको छ, श्रीमान्को शेषपछि पनि छोराछोरीको स्याहार गर्ने जिम्मेवारी आमाको नै हो । पतिको मृत्यु भएपछि महिलालाई छोराछोरीको मुख हेरेर बस्न सम्झाउने समाज पत्नी बितेको पुरुषलाई सन्तान स्याहार्नकै लागि भए पनि अर्को विवाह गर्न दबाब दिन्छ । समाज जहिले पनि महिलाहरूसित बलिदानको माग गरिरहेको हुन्छ । यो अघोषित अपेक्षा पुनर्विवाहको अर्को तगारो हो ।

के त्यसो भए एकल महिलाले विवाह नै नगरी जीवन गुजार्ने त ? के भावनात्मक माया सद्भावको परिधिबाट जीवनभर बञ्चित रहने त ? के यौनिक आवश्यकता र त्यसको अभावका कारण उत्पन्न मानसिक तनाव, कुण्ठा र जैविक आवश्यकतालाई दबाएर जीवन गुजार्ने त ? वा नयाँ तरिकाले जीवनको सुरुवात गर्न पाउनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्ने ? निःसन्देह दोस्रो मान्यतालाई विकास गर्नु परेको छ । तर, यो मान्यतालाई कसरी स्थापित गर्ने ? यो अर्को गहन र चुनौतीपूर्ण प्रश्न बनेको छ । यस निम्ति सामाजिक मनोविज्ञानको पुनर्संरचना जरुरी छ ।

कानुनी व्यवस्थाले मात्र विभेदपूर्ण मान्यता परिवर्तन हुन नसक्दो रहेछ । यसका लागि त मानवीय सोचको खाँचो पर्छ । सुधार हुँदै नभएको पनि होइन, तर त्यो आंैसीको रातमा जुनकिरीको उज्यालोजस्तै भइदिएको छ । अब यही पिलपिले उज्यालोलाई एकल महिलामाथि हुने विभेद अन्त्य गर्ने ज्योति बनाइनु पर्दछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.