हामीले पाठकलाई बुझ्ने कोसिस गरेनौं

हामीले पाठकलाई बुझ्ने कोसिस गरेनौं

'उत्तरवर्ती सोच'का अभियन्ता राज माङलाकको नयाँ कवितासंग्रह 'लिम्बुनी गाउँ' प्रकाशित छ । लिम्बू समाज, मुन्धुमी संस्कृति उनका कविताका कन्टेन्ट हुन् । कविताको विषयमा केन्द्रित भएर उनीसँग गरिएको कुराकानी ः

किताबबाट कत्तिको आशावादी हुनुहुन्छ ?

-एउटा कविलाई आफ्नो उपभोग नगरिएको समाजिक सौन्दर्य लेख्न पाउँदा जुन खुसी मिल्छ, त्यस्तो हर्ष मलाई पनि भएको छ । पूर्वी नेपालको लिम्बू जनजीवनको सौन्दर्यलाई कवितामा उन्ने प्रयत्न गरेको छु । नेपाली साहित्यमा यसरी इतर साहित्य लेखनलाई स्वीकार गर्न निक्कै हम्मे परेको साँचो हो । तर, अब 'भिन्न'हरूलाई पनि स्पेस छ भन्ने स्वीकार गर्दै लगिएको छ भन्ने लाग्छ । यसकारण किताब आशावादी छु ।

कवितामा निकै प्रयोग गर्नुभएको रहेछ । कवितामा चित्र बनाउनुभएको छ । आजभन्दा पहिलेका कविले पनि यस्ता प्रयोग गरेकै हुन् । यस्ता प्रयोगको आवश्यकता किन पर्‍यो ?

-मलाई नवीन प्रयोगले खुब तान्ने गर्छ । कलेजको कोर्समा भएका अंग्रेजी चित्र-कविता बडो आनन्ददायक लाग्थे । कवितामा प्रयोग गर्ने जाँगर यिनै अंग्रेजी चित्र कविताबाट प्राप्त भएको हो । त्यसो त प्रयोगमा नै हो अर्थ सम्भावनाको क्षितिज खुल्ला रहने पनि । यसले रूढ भइसकेको विषयलाई पनि नवीनता प्रदान गर्ने सामथ्र्य राख्छ । कविता विकासको गति पक्रन प्रयोग आवश्यक छ । जस्तै :कलामा अति प्रयोग भएकै हो । गीत र संगीतमा पनि अनेकन प्रयोग भएकै हुन् । यसकारण आज अग्रणी छन् यिनीहरू । सिद्धान्त निर्माणमा यिनीहरूले लिड गरिरहेका छन् । अत:कवितामा पनि विकासको गति पक्रन विभिन्न प्रयोगका नयाँ जुक्ति जायज हुन्छ भन्ने नै लाग्छ ।

 

 

'लिम्बुनी गाउँ' भित्रका चित्र कविता हेर्ने र पढ्ने दुवै आयामका कविता हुन् । धैर्य गर्न सकियो भने यसले आफ्नो सौन्दर्य बोध गराउँछ । अंग्रेजी साहित्यमा यस्तो चित्र कविताको परम्परा लामो छ । संस्कृत, हिन्दी, कोरियन, लिम्बू कविताहरूमा पनि यस्ता कविता लेखिएका छन् । त्यसो त नेपाली कविताहरूमा पनि छिटफुट नदेखिएका होइनन् । चित्रकवितामा आफ्नै प्रकृतिको सौन्दर्य छ ।

तपाईंका कविताका कन्टेन्ट के हुन् ?

-मेरा कविताका कन्टेन्ट आदिवासी, जनजातीय सौन्दर्य र सीमान्तकृत मनको उद्वेलन नै हो । सवाल्टर्न आवाज र घरेलु उपनिवेशविरुद्धको लेखनमा पनि मेरो रुचि छ । अब तामाङले भोगेको जीवन वा लिम्बूको मुन्धुम कुनै मिथक वा विम्बको रूपमा नभएर उसकै भोगाइमा उनिएर साहित्यमा आउनुपर्छ । उसको समग्र जीवन नै लेखिनुपर्छ ।

किताबको ब्याकपेपरमा 'नेपालको पूर्वी भेगको लिम्बू समाज र मुन्धुमी सांस्कृतिक सौन्दर्यको बोध तपाईंका कवितामा पाइन्छ' भनेर लेखिएको छ । हाम्रो संस्कृति र साहित्यको सम्बन्ध के छ ?

-नेपाल इन्द्रेणी संस्कृति र भाषिक विविधताले युक्त मुलुक हो भनिरहनै पर्दैन । सप्पैलाई थाहा छ । तर, ती संस्कृति तथा भाषिक सौन्दर्यसँग हाम्रो साहित्यलाई गाँस्न सकेकै छैनौं । गाँस्ने प्रयास गरिएको भए पनि एकतर्फी भयो होला । हामीभित्र भएका ती सुन्दर पक्षलाई साहित्यसँग जोड्ने मिलनबिन्दु पहिल्याउन सकेनौं । हामीले पाठकसँग संवाद गरेनौं वा पाठकलाई बुझ्ने कोसिसै गरेनौं कि ! हाम्रा कविताका पाठक भएनन् भनेर पुर्पुरो समायौं तर पाठकको अनेकन मनोविज्ञानलाई ठम्याउनै सकेनौं । नेपाली समाज संस्कृतिबिना एक क्षण पनि सास फेर्न नसक्ने परम्परासँग जोडिएको समाज हो । तर, त्यो अभिन्न सांस्कृतिक जीवनको घनिभूत प्रवेश साहित्यमा भएन ।

अबका कविताले सम्बोधन गर्नुपर्ने विषय के-के हुन सक्छन् ?

-नेपाली साहित्यमा लेखिन बाँकी धेरै विषय छन् । जनजातीय सौन्दर्यशास्त्र मिहिन रूपमा लेख्नै सकिएको छैन । यसलाई सैद्धान्तिक कलेवर दिन बाँकी छ । हिमाली जनजीवनलाई त छोइएकै छैन । तराईको सांस्कृतिक स्वरूप व्यापक समृद्ध छ । तर, हामीले साहित्यमा छिटफुटबाहेक ल्याउन नसकेकै हो । नेपालको पश्चिमलाई कहिले लेख्ने ? अबका कविताले यस्ता विषयलाई सम्बोधन गर्न जरुरी छ । अनि हाम्रो साहित्य बिक्छ र अझ समृद्ध बन्छ पनि । अब काठमान्डुको एउटा कोठामा आँखा चिम्म गर्दै घोरिएर लेखन गर्ने दिन समाप्त भइसक्यो । लेखक त्यहीँ पुगेर मात्र आफूले लेख्ने विषय देख्न सक्दछ । केन्द्रमा बसेर कल्पनाको उडानले हाम्रो साहित्य उठ्न सक्दैन ।

'लिम्बुनी गाउँ' कविताको रचनागर्भ बताइदिनुस् न !

-'लिम्बुनी गाउँ' कविता केही वर्षअघि नै लेखिएको हो । गाउँमा गाडी पुगिसकेको थिएन । पाँचथर सदरमुकाम फिदिमबाट घर फर्किंदा यासोकदेखि पारिको मेरो गाउँ हेर्थें । ओल्लो पहाडबाट पाल्लो पहाडमा देखिने गाउँ नै कविताजस्तो लाग्थ्यो । पारि हेर्दा आमाको यादसँगै गाउँ जोडिएर आउँथ्यो । तल सावाँखोला तरेर उकालो हिँड्दै गाउँ पुग्दा त्यहाँ पाहुना आएका तन्नेरीहरूसँग छोरीचेलीहरू धान नाच्दै हुन्थे त लिम्बू दाजुभाइहरू देशको राजनीतिको गफगाफ गरिरहेका हुन्थे ।

वल्लो घर पल्लो घरमा बूढापाकाहरू हाक्पारे गाउँदै हुन्थे भने फेदाङ्माहरू पूजा अनुष्ठानमा तल्लीन रहन्थे । यिनीहरूले उच्चारण गर्ने सुक्तिहरू आफैंमा कवितामय हुन्थ्यो नै । यी कुराहरूले मलाई छोयो । मैले कविता लेख्नलायक विषय यही हो भन्ने लाग्यो र कविता बन्यो ।

२०६० सालमा 'उत्तरवर्ती सोच' अभियान सुरु गर्नुभएको रहेछ । यस्तो अभियानको आवश्यकता किन पर्‍यो ?

-उत्तरवर्ती सोच' को अभियान भवानी तावा, सगुन सुसारा र म स्वयंले पाँचथरको फिदिमबाट सुरु गरेका हौं । अहिले यो सोचमा थुप्रै लेखक जोडिँदै आएका छन् । थाम्सुहाङ पुष्प सुब्बा हाम्रो सोचको व्याख्याता हुनुहुन्थ्यो । यो नेपाली साहित्यका लागि मोफसलबाट थालिएको आन्दोलन हो । यसले जनताको अधिकार प्राप्तिसँग पनि आफ्नो अभियानलाई जोडेको छ । नेपाली साहित्य सप्पै नेपालीको साहित्य बन्न नसेको साँचो हो भन्ने लागेपछि सम्पूर्ण नेपाली साहित्यको निर्माणका निम्ति उत्तरवर्ती सोचको जन्म भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.