आयुलाई मात्र जीवन भनिदैन

आयुलाई मात्र जीवन भनिदैन

व्यस्त र व्यावसायिक बुक डिजाइनर हुन्- सुवर्ण हुमागाईं । हुमागाईंको पहिलो उपन्यास 'जीवन' प्रकाशित छ । पर्यावरणीय चिन्ता र चासो उनको किताबको मूल विषय हो । किताबमाथि केन्द्रित भएर हुमागाईंसँग शंकर तिवारीले गरेको कुराकानी ः

एक व्यावसायिक बुक डिजाइनर एक्कासि राइटिङमा कसरी ?

-नयाँ पुस्तकको डिजाइन बनाउनुपूर्व उक्त पुस्तकमा कुन विषयवस्तुको बारेमा लेखिएको छ भन्ने जान्न अति आवश्यक छ । सर्वप्रथम लेखक तथा सम्पादकले पुस्तकको सारांश बताउँछन् । विषयवस्तु बुझेपछि पुस्तकको आवरण ढाँचा तयार पार्न सकिन्छ । मैले नेपाली लेखकका दुई सयभन्दा बढी पुस्तकको डिजाइन बनाइसकेको छु । पुस्तक पढ्दा मनमा विभिन्न कल्पना उत्पन्न हुन्छन् । विभिन्न विधामा लेखेका पुस्तक पढ्दा मनमा विभिन्न कल्पना उत्पन्न हुन थाले । यस्ता पुस्तकले उत्पन्न गरेका जिज्ञासा तथा कल्पनालाई व्यवहारमा उतार्ने क्रममा कसैले चित्रकला विधि, कसैले हस्तकला विधि, कसैले तथ्यांक आदि विधिलाई प्रयोगमा ल्याउने गर्छन् । तर, मचाहिँ लेखनविधि प्रणालीबाट अहिले तपाईंहरूमाझ उपस्थित छु ।

किताबको नाम 'जीवन' किन छनोट गर्नुभयो ?

-जीवन भन्नेबित्तिकै श्वासप्रश्वास क्रिया भन्ने बुझिन्छ । श्वासप्रश्वास क्रियाको गतिअनुसार नै सारा जीवको आयु निर्धारण हुन्छ । जस्तो कछुवाले धिमा गतिमा श्वासन क्रिया गर्छ, उसको आयु सय वर्षको हुन्छ तर यस्तो आयुलाई मात्रै जीवन भनिँदैन । कछुवाले आफ्नो आयु अवधिभरि गरेको क्रियाकलापबाट उसको जीवन जानिन्छ । जगत्का सारा प्राणीभन्दा मानव चेतनशील प्राणी हो । उसले आफ्नो आयु अवधिभरि के-केस्ता कार्य गर्नुपर्छ, मानवले गरेको क्रियाकलापबाट अन्य प्राणी तथा ब्रह्माण्डलाई कस्तो असर पार्छ भनी किताबमा चित्रण गर्न खोजेको हुँ ।

पहिलो परिच्छेद 'आत्मशान्ति'मा करूणा हारेको देखाउनुभएको छ । करूणा हार्दा पनि आत्मशान्ति हुन्छ ?

-करूणा भनेकै सत्य र वास्तविक ज्ञान हो । करूणा जागृत भएका मानिसले हार र जितमा विश्वास राख्दैनन्, केवल उनीहरू सबैको भलो चाहन्छन् । करूणावान् व्यक्ति समाजबाट विलयन् हुँदा उनीहरूको संसर्गमा रहेका मानिस अवश्य हुन्छन् । आत्मशान्ति दुई भिन्न करूणावान् व्यक्तिको सम्झनामा बनाइएको एउटा चौताराको नाम हो ।

दोस्रो परिच्छेदमा बहुरूपी मायाको कुरा छ । पढ्दा विज्ञानको रिसर्चजस्तो देखिन्छ । आनुवंशकीय गुणहरूबाट मायाप्रेम सर्ने कुरामा कत्तिको आधिकारिकता छ ?

-माया र करूणा शब्दले भिन्नभिन्न अर्थ बोकेका छन् । मायाको अर्थ हाम्रो लोक व्यवहारमा उल्लिखित भएजस्तो लाग्दैन । माया भनेको भ्रमित ज्ञान हो, जुन इन्द्रिय ज्ञानबाट प्राप्त हुन्छ । हाम्रा लोकव्यवहारको चलनअनुसार इन्द्रिय वासनद्वारा स्त्री र पुरुषको कामोदीप आकर्षणलाई माया भन्यौं भने महामाया केलाई भन्ने ? त्यस्तो होइन, आमा र छोरासँग पनि मायाप्रेम हुन्छ ! बाबु र छोरीबीच पनि मायाप्रेम हुन्छ ! यस्तो प्रेममा कुनै लेनदेन हुँदैन्, यसमा कसैको पनि स्वार्थ समाहित हुँदैन ।

यस्तो प्रेम हाम्रो शरीरिक क्रियाबाट उत्पन्न हुन्छ । जब यस्तो प्रेममा व्यक्तिगत स्वार्थ पलाउँछ, तब हाम्रो शरीरभित्र भएको जीवनरसले कार्य गर्न छोड्दा अनि हामी माया-प्रेमबाट वञ्चित हुन पुग्छौं । बुवा-आमाअनुसारै आनुवंशीय गुणद्वारा माया, दया, करूणा हामीमा सरेको हुन्छ ।

 

यसको पनि आफ्नै विधिविधान छ । स्त्री र पुरुष शान्त प्रकृतिका छन् र उनीहरूले शान्त वातावरणमा रतिक्रियामा भाग लिएर बच्चा जन्माएका छन् भने उनीहरूका सन्तती पनि शान्त स्वाभावकै हुन्छन् । अशान्त वातावरणमा कुनै बच्चा जन्मिएको छ भने उनीहरू अलिब ढी हिंस्रक हुन्छन् । यसलाई पूर्वीय दर्शनमा कर्मअनुसारको फल भनिन्छ । जस्तो— सिंह हिंस्रक हुन्छ, उसले कदापि करूणवान् बच्चा जन्माउन सक्दैन । सिंहको गुण उसको सन्तानमा सर्‍यो भन्नलाई कुनै गाह्रो छ र !

पुस्तकमा राजनीतिक प्रसंग जोड्दै खराब राजनीतिले समाजलाई गरेको हानिको दृष्टान्त दिन खोज्नुभएको छ । त्यो व्यंग्यमात्रै हो कि त्यसले बदलिँदो समाजसँग सम्बन्ध पनि राख्छ ?

-राजनीतिको अर्थ प्रजाको शान्तिसुरक्षा कायम गर्ने, शासनव्यवस्थाको प्रणाली निर्धारण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति सन्तुलन गर्नेमात्र हो कि समाजसेवा पनि गर्नु हो ? हुन त माथिको कार्यले स्वतस्फूर्त समाजसेवा गरेको हो भनी वकालत गर्नेको संख्या धेरै हुनसक्छ । समाजसेवा राजनीतिकभन्दा अलग पाटो हो । राजनीतिज्ञ त्यति बेलामात्र समाजसेवी बन्न सक्छ, जति बेला उसको शरीरमा कारूणिक ग्रन्थी मौलाएको हुन्छ ।

उसले त्यो मेरो पार्टीको कार्यकर्ता, त्योचाहिँ फलानोको भनेर छुट्याएर भेदभाव गर्न थाल्छ भने त्यस बेला कसरी उसलाई समाजसेवी भन्न सकिन्छ ? जस्तो, मेरो बच्चालाई धेरै माया गर्छु भन्ने आमाले छोराछोरीलाई लागेको घाउको पीडा महसुस गर्न सक्छिन् । उनी मेरो छोरोलाई गहिरो चोट लागेको छ, उपचार गरिदेऊ भनेर रुन सक्छिन् । उनको पीडालाई कदापि महसुस गर्न भने सक्दिनँ तर करुणावान् व्यक्तिले अरूको दुःखलाई आत्मसात् गर्न सक्छन् ।

हामीले इतिहासमा पढेका थियौँ, 'सबैको घरमा चुल्हो बलेपछि मात्र भोजन गर्ने राजा'बारे । उनको शरीरमा करुणाको ऊर्जा जागृत नभएको भए सयौं दिनसम्म यस्तो स्वाङ बारम्बार गरिरहन सक्थे ? १५-२० वर्ष अगाडिको इतिहास हेर्ने हो भने पनि थाहा लाग्छ, नेपाली जनता आफूले उब्जाएका अन्नपात छिमेकी मुलुकमा बेचबिखन गर्थे । खाद्यसामग्री कम आयात गर्थे तर अहिले हामी धेरैजसो खाद्यसामग्री अरू देशबाट आयात गरेर बाँचिरहेका छौं ।

हिजोको परिस्थिति र आजको परिस्थिति बिल्कुलै फरक छ । हिजोको कुलो, पैनी आज खहरे खोलामा परिणत भएको छ । मानिस रोजीरोटीका लागि बेचिनु परेको छ । जब मानिसलाई खानाको अभाव हुन्छ, उसको शरीरले कसरी करूणाभाव जागृत गर्नसक्छ ? आफू बाँच्नका लागि मानवले केकस्ता हतकण्डा अपनाउँदा रहेछन् भनेर दर्शाउन खोजेको हुँ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.