रेमिट्यान्स कल्चरको विपक्षमा
मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको योगदानको चर्चा अब नयाँ विषय रहेन । विदेशका नेपाली कामदारले बगाएको रगत, पसिना र आँसुको उपज हो- रेमिट्यान्स । मुख्यत:गोर्खा भर्तीसँगै अघि बढेको वैदेशिक रोजगारी अहिलेसम्मको अवस्थासम्म आइपुगेको छ । वैदेशिक रोजगारीका पक्ष-विपक्षमा मतमतान्तर रहे पनि यसलाई सरकारले नै प्रोत्साहन गरिरहेको देखिन्छ । बढ्दो वैदेशिक रोजगारीको क्रमले युवा जनशक्ति पलायनमात्र भइरहेको मात्रै छैन कि यसले हाम्रो सामाजिक तथा सांस्कृतिक संरचनामै दीर्घकालीन रूपमा ठूलो असर गरिरहेको छ । रेमिट्यान्स भित्रिनु त राम्रै पक्ष हो तर सामाजिक, सांस्कृतिक संरचनामा पर्ने नकारात्मक असरलाई त्यससँग तुलना गर्न मिल्दैन।
यही विषयमा आख्यानात्मक तथा गैरआख्यानात्क कृति प्रकाशनको क्रम पनि चलिरहेकै छ । लेखक÷सर्जकहरूको नजर यो विषयमा परेकै छ । पछिल्लो समय पत्रकार, साहित्यकार डा. देवी क्षेत्री दुलालले वैदेशिक रोजगारीका विभिन्न पाटोलाई केलाउँदै उपन्यास 'घर फर्क' प्रकाशनमा ल्याएका छन् । उपन्यासको विषयवस्तुका विषयमा भन्नुपर्दा, यसको नाम नै काफी लाग्छ । नामले नै धेरै कुरा बोलिरहेको छ भन्ने मेरो पाठकीय बुझाइ छ ।
उपन्यासकारले विदेशमा रहेका नेपाली कामदारलाई स्वदेशको माटोमा पाखुरी बजाउन आह्वान गरेका रहेछन् भनेर सजिलै अड्कल काट्न सकिन्छ । नाम सुने÷हेरेपछिको अड्कल उपन्यास पढेपछि सही पनि लाग्छ । यद्यपि, त्योभन्दा पनि पर अरू केही सन्देश दिन्छ यो किताबले । त्यो भनेको गाउँलाई 'माया नमारौं' भन्ने नै हो । विदेश मात्र होइन, गाउँबाट सहर, सहरबाट त्योभन्दा ठूलो सहर हुँदै गाउँलाई माया मार्ने चलन अन्त्य गरौं भन्छ उपन्यासले ।
उपन्यासको विषयवस्तु ताप्लेजुङको गाउँमा पुगेर टुंगिनुले गाउँको मायालाई स्पष्ट रूपमा झल्काएको छ । खासगरी कालु अर्थात् कालुमान नामक पात्रको सेरोफेरोमा घुमेको छ यो किताब । वैदेशिक रोजगारीबाट फर्केपछि स्वदेशमै बस्ने टुंगोमा पुगी विदेशमा रगत, पसिना बगाउने नेपाली युवायुवतीलाई फर्काउने अभियानमा लागेका उनी राजधानीमा घरघडेरी जोडे पनि गाउँ पुगेपछि उपन्यास टुंगिएको छ ।
डा. देवी आफैं पनि राजधानीबाट कर्मथलो इलाम फर्किएका स्रष्टा हुन् । पाँचथरमा जन्मिएका उनी लामो समयदेखि पत्रकारितासँगै लेखनमा क्रियाशील छन् । मैले यो उपन्यासका लेखकलाई विद्यार्थी नेताका रूपमा चिनेको थिएँ । उपन्यास पढ्दै गर्दा यस्तो लाग्यो- कतै-कतै लेखक आफैं पनि झल्किएका छन् । हुन त लेखन भनेकै अनुभव, अनुसन्धान र अन्वेषणका माध्यमबाट हुने हो । तर, आख्यानमा लेखकले म होइन भन्न पाउने अर्थात् पन्छिन मिल्ने छुट पनि छ भन्ने लाग्छ । यसो भन्दैमा आख्यानमा जे मन लाग्यो त्यही लेख्न पाउने भन्ने अवश्य होइन । लेखक जिम्मेवार त बन्नैपर्छ । लेखकले सामाजिक जिम्मेवारीबोध गरेन भने उसको सिर्जना 'स्वान्त सुखाय'बाहेक केही बन्दैन ।
मैले यो प्रसंग उप्काउनुको ध्येय उपन्यास र उपन्यासकारबीचको सम्बन्धलाई देखाउनु हो । लेखक र पात्रहरूबीचको अन्तरसम्बन्ध केलाउनु पनि हो । लेखक आफैं भन्छन्- 'कल्पनाको उडानभन्दा पनि पात्रको दुखाइलाई सत्यापित गर्ने कोसिस गरेको छु । सबै शीर्षक छुट्टाछुट्टै कथाजस्तो छ, फेरि एउटै सिक्रीमा उनिएको शृंखलाबद्ध मालाजस्तो शब्दको निरन्तरता जोडिएर आउँछन् । यसरी हेर्दा पृथक्झैं लाग्ने कथोपन्यासजस्तो पनि ।' लाग्छ- कथा-कथा जोडेर किताब तयार पारेजस्तो ।
कथासंग्रह नै भनूँ तर त्यसो पनि होइन । उपन्यासभित्र विभिन्न शीर्षकमा लेखकले पात्रहरूलाई उपस्थित गराएका छन् । दक्षिण कोरियाबाट फर्केका कालु÷काले÷कालुमानको दिनचर्याबाट सुरु हुने उपन्यास बिदेसिएका नेपाली 'यसकारण घर फर्किनुपर्छ' भन्ने आह्वान गरेर टुंगिन्छ । लेखकले कालुमानमार्फत् राजनीतिलाई सेवा बनाउने, नेपाली ढंगको समाजवाद ल्याउने, कृषिमा क्रान्ति गर्ने, नेपालीलाई उज्यालो दिने, छोराछोरीलाई गरिखाने शिक्षा बाँड्ने, पर्यटनलाई व्यवस्थित बनाउने, नेपालीलाई निरोगी बनाउने, भोकै मर्नु नपर्ने अवस्थाको सिर्जना गर्ने, यातायातको सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
किताब पढ्दा एउटा घोषणापत्रजस्तो पनि लाग्छ । कुनै नेताले निर्वाचन प्रतिबद्धता जनाएजस्तो तर त्योभन्दा अगाडि उपन्यासमा यस्तो लेखिएको छ- 'आज हाम्रो गाउँघरमा मर्दाका मलामी पर्दाका जन्ती छैनन् । हो, आमा म यस्तो अवस्थाको अन्त्य यसरी गर्छु । आफ्नै घरगाउँमा श्रमबजार सिर्जना गरेर बिदेसिएका नेपालीलाई स्वदेश फर्काउँछु । नेपाल फर्क भन्छु । गाउँ फर्क भन्छु । घर फर्क भन्छु' (पृष्ठ १९९) । वैदेशिक रोजगारीबाट फर्केका युवाले आमाको आत्मासँग गरेको अठोट हो यो।
लेखकले वैदेशिक रोजगारीका कारण उत्पन्न विभिन्न सामाजिक समस्यालाई गम्भीर ढंगले नियालेका छन् । मुख्य पात्रसँग जोडिएका अन्य घटना र विषयवस्तु पनि उपन्यासमा समेटिएका छन् नै । यति मात्र होइन, उपन्यासमार्फत घर फर्कन आह्वान गरिएका नेपालीहरूको वर्गीकरणसमेत गरिएको छ।
आफ्नो मुलुकलाई गाली गरेर बाहिरिनेहरू फर्कन जरुरी छैन, जो विदेश गएर 'ठूला कुरा' गरिरहेका हुन्छन् । यस्तो पराजित मानसिकताले मुलुकको भलो गर्दैन । उनीहरू जतिसक्दो बढी मुलुकलाई चुसिखान उद्यत् हुन्छन् ।
यस्तै विषयवस्तुलाई थप रोचक बनाउन 'मामाघरमा कालुमान', 'कालुमान र सपनाको पुन:भेट', 'टिम्मुरको तेल, कोइराल्नी आमै र सपना', 'सानेको प्रेमकथा', 'एनआरएन मनहरू', 'रामारामको चिठी', 'सपना विप्रेषण विपना विप्रेषण', 'सुधाको कथा', 'बिदेसिनेको ताँती र फूल बेच्ने दिदी', 'धनमायाको धन्दा, मनमायाको उठीबास', 'विमलाको अमेरिकी सपना र सुँगुरको स्वर्ग', 'डङडङ राँती संग्राँती', 'न छोराको लास आयो न आमाको सास गयो ? ', 'घरगाउँको चुडेल्नी र मलेसियाको उराङपित्तु', 'त्रिशूली किनारको जाम, ट्रकभरि भैंसी र काठमाडौंको माइक्रोबस यात्री', 'मान्छीमा राम्रो पोथी ज्यान, पंक्षीमा राम्रो भाले ज्यान', 'ठेस, चेतना र उज्यालो', 'कालुमानको डायरी र कृति समीक्षा', 'आमाको मृत्यु चिन्तन', 'शिलुको विबन्धन कहानी'लगायत शीर्षकमा विस्तार गरिएको छ । उपन्यास जसरी अघि बढेको त्यसलाई हेर्दा पात्रभन्दा लेखक हावी भएजस्तो पनि लाग्छ । आदर्शका कुराजस्तो । वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको बेला गाउँघरमै पाखुरा बजारेर खान्छु भन्नेहरू त कति होलान् र ? तर, त्यसकै लागि पनि कालुमानजस्ता आदर्श पात्रहरूकै खाँचो छ गाउँघरलाई÷मुलुकलाई, जसका पाखुरीबाटै यो मुलुक बनोस् । श्रमशक्ति पराईभूमिमा नपोखिओस्, आफ्नै माटोमा खर्च होस् । नत्र परनिर्भरता बढ्दै जानेछ । दिगो विकास हुने छैन ।
कालुमानसँग जोडिएका प्रेम प्रसंग, बिछोडदेखि पुनर्मिलनका घटना 'यस्तो पनि हुन्छ र' भन्ने नलागेको पनि होइन । लेखकको चातुर्य पनि होला । हुन त प्रेमी-पे्रमिका संवाददेखि आदर्श प्रेमसम्म हाम्रो समाजमा कति हुन्छ ? मलाई थाहा छैन । कतै अनौठो पनि लागेर आएको हो । तर, यस्ता घटना नबेहोर्ने म हुँला भनेर चित्त बुझाउने ठाउँ त छ नै किनभने सबैको जीवन एकनासले अघि बढ्दैन । कही न कही कतै न कतै फरक त हुन्छ नै । देखेर÷सुनेर÷पढेर नै जानिने हो । समाजमा अपत्यारिला÷अनौठा घटना पनि थुप्रै भइरहेका हुन्छन् । कति तपाईं र मेरो कान÷आँखामात्र होइन, हृदयसम्मै ठोक्किन आइपुग्छन् । तब मात्र सत्यजस्तो लाग्छ ।
किताब :घर फर्क
विधा :उपन्यास
लेखक :डा.देवी क्षेत्री दुलाल
प्रकाशक :ब्रदर बुक्स प्रकाशन प्रालि
मूल्य :रु २३० ।-