समय अर्थात् काल-मृत्यु

समय अर्थात् काल-मृत्यु

समयलाई च्याप्प समातेर आफूसितै राख्नसक्ने सचेत र सफल मानिस साहित्यकार नै हो । समय अवश्य नै गतिशील हुन्छ र अत्याधुनिक भौतिक विज्ञानका अन्वेषणहरूका आधारमा यो भौतिक वस्तु पनि हो भन्ने प्रमाणित भइसकेको छ । समयलाई थुन्न, समाउन र फेरि चलाउन सकिँदो रहेछ । यता दार्शनिक दृष्टिकोणले चाहिँ समयलाई सदा चलायमान देखेर यसलाई काल वा मृत्युको समेत प्रतीक ठानेर स्वीकार गर्दागर्दै पनि अनादि र अनन्त मानिएको छ ।

Taranath-sharma_1140जे होस्, समयका रूपमा काललाई हेर्दा यो गतिशील छ, कहिल्यै रोकिँदैन । प्रतिभासम्पन्न साहित्यिक स्रष्टाहरूमात्र त्यस्ता व्यक्ति हुन् जसले समयलाई च्याप्प समातेर, कँज्याएर र आफ्ना रचनामा थुनेर त्यसलाई मर्नबाट जोगाउँछन् । समय अर्थात् काल मृत्यु हो, तर साहित्य संगीत र कलामा त्यसलाई मुन्ट्याएर ल्याई कँज्याएपछि त्यो सधैँका लागि चम्किन्छ, बाँचिरहन्छ, अमर हुन्छ ।

कालिदासको 'मेघदूत' कहिल्यै मर्दैन, शेक्सपियरको 'ह्याम्लेट' अमर छ तथा लियोनार्दाे दा भिन्चीको 'मोनालिसा' अनन्त मुस्कानमा रमाइरहन्छ । जसरी चाइकोभस्की, बीथोभन र मोत्सार्टका सांगीतिक रचनाहरू तथा लता मंगेश्कर, एल्भिस प्रेस्ली र बच्चु कैलाशका स्वरलहरीहरू अनन्तसम्म गुन्जिरहलान् उसरी नै मिकल्यान्डोलोले चित्रण गरेका सिस्टिन गिर्जाको भित्री छानाका भित्ती चित्रहरू, मि श्र देशका पिरामिडहरू र पेइचिङ (चीन) स्थित हाम्रा अनिको (अर्थात् बढी प्रचलित नाम 'अरनिको') कृत 'श्वेतपगोडा' पनि मृत्युलाई हाँक दिँदै कलाको श्रेष्ठलाई प्रमाणित गरिरहेका छन् ।

हाम्रो मातृभूमि नेपालमा मनुष्यनिर्मित पिरामिडहरू नभए पनि प्रकृतिका अनुपम र अद्वितीय कृतिस्वरूप सर्वोच्च पहाडहरू छन् । भित्ती चित्रहरूमा हामी सिस्टिन गिर्जाघरका छानासँग दाँजिन नसकौंला तर हाम्रा काठमाडौं, भक्तपुर र ललितपुरजस्ता नगरहरू मनै हर्ने पगोडा शैलीका (अर्थात् नेपालीमा 'पाग्री शैली'का) अद्वितीय मन्दिरैमन्दिरहरूले भरिएका छन् र सजिएका छन् । हाम्रा प्रस्तर, धातु र काष्ठका प्राचीन मूर्तिहरू विश्वकलाका विशिष्टतम् नमुना मानिन्छन् । हो, यसै देशमा क्राइस्टाब्द तेह्रैाँ शताब्दीतिर अनिको (अर्थात् अर्निको) जस्ता स्वनामधन्य कलाकार जन्मेका थिए जसको विलक्षण प्रतिभाले समस्त पूर्वी एसिया सिँगारियो । उनले नै पहिला तिब्बतमा र त्यसपछि सम्पूर्ण चीनको राजधानीमा 'श्वेतपगोडा' उभ्याएका हुन् जो आजसम्म पनि यी हाम्रा महान् कलास्रष्टाको सम्मानमा गर्वसाथ उभिएको छ ।

जुन कलाकार 'अर्निको'लाई मान्यता दिँदै र श्रद्धा गर्दै उनको ढलोटको सुन्दर प्रतिमा पेइचिङसम्म पुर्‍याइयो, त्यस प्रतिनिधि टोलीमा त्यस मूर्तिका स्रष्टालाई भने सामेल गरिएन । कहाँसम्म भने चारपाँच महिना निरन्तर पसिना चुहाएर आफ्ना प्रतिभाको प्रदर्शन गर्दै सिर्जना गर्ने कलाकारको नामसम्म पनि समाचारमा उल्लेख गरिएन ।

चीनका सम्राट्ले सुयोग्य मूर्तिकार र वास्तुविद्को एक टोली नेपालका तत्कालीन राजासँग पठाइमागे बमोजिम तेह्रौं शताब्दीमा ८० जना नेपाली कलाकारको समूह युवा कलाकार 'अनिको' (अर्थात् अर्निको)का नेतृत्वमा तिब्बत हुँदै चीनको राजधानीतर्फ गएको थियो । विदेशमा पुगेर 'अनिको'का निर्देशनमा ती कलाकारहरूले राम्राराम्रा बौद्ध मन्दिर र मूर्तिहरू निर्माण गरेका थिए । त्यस घटनालाई हामीले भुसुक्कै बिर्से पनि चिनियाँ मित्रहरूले भने बिर्सेका थिएनन् । चीनका ऐतिहासिक लेखोटहरूमा 'अनिको'का कलात्मक योगदानहरूको चर्चा भेटिएपछि नै हामीले पनि थाहा पायौं र आज हामीले हाम्रा 'अनिको'लाई विभूतिका रूपमा स्थापित गरेका छौं ।

 

केही वर्षअघि उत्साही नेपालीहरूले तिब्बत क्षेत्रको राजधानी ल्हासामा लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक लगी स्थापित गरेका थिए । आफ्नो कालजयी कृति 'मुनामदन'मा मदन ल्हासा गएका वर्णनको सम्झनास्वरूप महाकवि देवकोटाको प्रतिमा त्यहाँ लगेर राखिएको हो, जसले चीन र नेपालका जनताबीचको मैत्रीलाई चिरस्थायी बनाउन सघाउ पुर्‍याउने छ ।

उसरी नै क्राइस्टाब्द २००२ को मई १ तारिखका दिन नेपालमा निर्माण गरी कलाकार 'अनिको' (अर्थात् लोकबोलीमा 'अर्निको')को मानवकदको ढलोटको प्रतिमा केही नेपालीले चीनको राजधानी पेइचिङमा लगेर उनले नै बनाएको श्वेत पगोडाको प्रांगणमा स्थापित गरेको समाचार हाम्रा पत्रपत्रिकाहरू र सञ्चारका अरू माध्यमहरूबाट हामीलाई थाहा भयो । काललाई कर्‍याप्प कँज्याउने कलाकार 'अनिको'जस्ता प्रातःस्मरणीय पुर्खाको प्रतिभा पेइचिङमा पुग्नु हाम्रा लागि ठूलो प्रतिष्ठाको विषय हो । यस्तो सह्रनीयोग्य कार्यले एकातिर दुई मित्रराष्ट्र बीचको स्नेहलाई अझ गहिरो र स्मरणीय बनाउँछ भने अर्काेतिर मानव सभ्यता र संस्कृतिको विकासमा कालजयी कलाका प्रतीक 'अरनिको'को कृतिहरूबाट हुन पुगेका अतुलनीय योगदानको समेत उपयुक्त इज्जत हुन पुग्छ ।

चीनका सम्राट्ले 'अनिको'का कलाको कदर गर्दै यथेष्ट पारि श्रमिक मात्र होइन, लोभलाग्दा पुरस्कार र पद पनि दिएका कुराहरू इतिहासमा लेखिएका छन् । त्यस्तो विकट सामन्ती युगमा पनि कलाकारको सम्मान हुनु अनुकरणीय मान्नुपर्छ । कला, साहित्य र संगीत एकै संस्कृतिरूपी दौलतका तीन हाँगा हुन् । यी तीन हाँगाका विकास र सम्वद्र्धनबिना कुनै राष्ट्र र जाति पनि सभ्य ठहरिँदैन । तर, आज आएर साहित्य, संगीत र कलाका स्रष्टा र साधकहरूलाई सभ्य भनाउँदो प्रजातान्त्रिक समाजले र सरकारले पनि प्रशस्त अनादर गरेका अनेकौं उदाहरण पाइन्छन् ।

जुन कलाकार 'अर्निको'लाई मान्यता दिँदै र श्रद्धा गर्दै उनको ढलोटको सुन्दर प्रतिमा पेइचिङसम्म पुर्‍याइयो, त्यस प्रतिनिधि टोलीमा त्यस मूर्तिका स्रष्टालाई भने सामेल गरिएन । कहाँसम्म भने चारपाँच महिना निरन्तर पसिना चुहाएर आफ्ना प्रतिभाको प्रदर्शन गर्दै सिर्जना गर्ने कलाकारको नामसम्म पनि समाचारमा उल्लेख गरिएन । दस÷बाह्र जना यस्ता मानिसहरू त्यस प्रतिनिधिमण्डलमा गए जो मित्रराष्ट्रका जनतालाई 'अनिको'को प्रतिमा देखाएर सेता दाँत टल्काउँदै हाँस्न त जान्दथे तर त्यस कलात्मक सालिकको व्याख्या गर्नसक्ने हुती तिनमा थिएन । स्रष्टालाई रुवाएर ती साखुल्ले हुँदै चीनको पर्खाल घुम्न र नसुहाउँदो स्याबासी थाप्न त्यता उडेका थिए ।

सो 'अनिको'को सालिक बागलुङनिवासी ओम केसीले निर्माण गरेका हुन् । नयाँदिल्लीमा कलाको उच्च अध्ययन गर्ने ओम केसी हाम्रा एक प्रतिभाशाली मूर्तिकार हुन् । गर्ने भन्ने हनुमान, पगरी गुत्ने ढेडु भनेको यही हो । जुन कलाकारले बुद्धि, श्रम र समय लगाएर प्रतिमा निर्माण गरे, उनैलाई चित्त दुखाएर र अपमान गरेर ती चीनतिर बुर्कुसी मार्ने नेपाली प्रतिनिधि भनाउँदाहरूले कसरी 'अनिको' को सम्मान गरे होलान् ? धेरैले प्रशंसा गरेको सुनेर लहैलहैमा इतिहासका कलाकारलाई सम्मान गरिटोपल्ने तर आँखै अगाडिका जिउँदाजाग्दा स्रष्टालाई चाहिँ फुटेका आँखाले पनि नहेर्ने कुसंस्कारको विकास आजको नेपालमा भइरहेछ ।

काल भनेको मृत्यु हो भने यस्तो ढाँट कृत्यले नै व्यक्तिको मृत्यु हुन्छ, अर्थात् साहित्य, संगीत र कलाको उचित मर्यादा गर्न नसक्ने र नजान्ने व्यक्ति जीवितै अवस्थामा पनि मृत भइसकेको हुन्छ । कला त अमर हुन्छ (साहित्य वा संगीत त अमर हुन्छ) र त्यसको साँचो साधक पनि कालजयी हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.