क्यानभासबाहिरको कला
कम्युनिस्ट नेता वासु शाक्य केही समयअघि दिवंगत भए । पूर्वी पहाडको यात्रामा उनले एकपटक मलाई भनेका थिए, ‘मानिस भनेको राजनीतिक चिन्तनशील प्राणी हो, चेतनशीलमात्रै होइन । चेतनशील त गोरु पनि हो, पछाडिबाट त्यसको पुच्छर बटारिदियो भने आफूमाथि आक्रमण भएको चेतना प्राप्त गर्छ र भाग्छ । तर, मान्छेलाई कसैले त्यत्तिकै मुक्का हान्यो भने ऊ भाग्दैन, बरु प्रतिकार गर्छ । त्यो भनेको उसले बिनासित्ति मलाई किन मुक्का हानिस् भनेर चिन्तन गरेको हो ।’
नेता शाक्यको व्याख्यापश्चात् सरल रूपमा अरू सबै प्राणीभन्दा मानिस किन फरक छ ? भन्ने बुझियो । र, आजकाल चिन्तन गर्नमा सर्जक पनि दार्शनिकजत्तिकै हुन्छन् भन्ने लाग्छ । कतिपय कलाकार वा लेखकले आफ्नो सिर्जनामार्फत व्यक्त गरेका यथार्थपरक कल्पनाले निकै चकित पारेको छ । यसपालि कलाकार राजकुमार राईको मातृसंस्कृतिमा आधारित कलाले त्यस्तै बनायो ।
क्यानभासबाहिर
कला (चित्र÷पेन्टिङ) भनेपछि हाम्रो मस्तिष्कमा फ्रेम, रङ, नाइफ÷ब्रस वा खाली क्यानभासको लथालिंग चित्र र फोहोर कोठामा रंगहरूको अव्यवस्थित कोलाज वा मदिराका गन्ध र चुरोटका धूवाँले बनेका अनेक आकृतियुक्त बन्द कोठाको इमेज आउँछ । तर, कलाकारले पेन्टिङका लागि क्यानभास नै प्रयोग गरिरहनुपर्छ भन्ने परम्परागत मान्यता र यी सब इमेजलाई भत्काएर राजकुमार राई क्यानभासबाहिर देखिए, उत्कृष्ट पेन्टिङका साथ ।
राजकुमार काठमाडौं युनिभर्सिटीमा अध्ययनरत ‘बीएफए’का विद्यार्थी हुन् । उनले आफ्नो ब्याचको ‘बीएफए एक्जिबिसन प्रोजेक्ट २०१७’ अन्तर्गतको पाँचदिने प्रदर्शनीमा ‘वास सिल’ शिर्षक दिएर आफ्नो कला प्रदर्शन गरे । प्रायः सबै विद्यार्थी प्रचारको साटो काममा बढी ध्यान दिने भएकाले उनको ब्याचले ‘साइलेन्स ब्याच’को उपमा पाएको छ, युनिभर्सिटीमा । सम्भवतः यसैकारण हुन सक्छ, धेरै तामझाम नगरी उनीहरूले आर्ट काउन्सिलमा आफ्ना सिर्जनाहरूलाई प्रदर्शन गरे र युनिभर्सिटीको इतिहासमै सबभन्दा बढी अवलोकन गरिएको प्रदर्शनी यही नै बन्यो ।
‘वास सिल’ किरात खालिङ राईहरूले वासमा प्रदर्शन गर्ने नृत्यकला हो । यो नृत्यमात्र होइन, यसमा उनीहरूको सभ्यता र मिथक जोडिएको छ । यसमा उनीहरू सिकारी युगदेखि प्रकृतिसँग संघर्ष गर्दै कृषि युगसम्म आइपुग्दाको क्रियाकलापलाई अभिनयद्वारा व्यक्त गर्छन् । हिमाली जिल्ला सोलुखुम्बुको उत्तरी क्षेत्रमा बसोबास गर्ने खालिङ राईहरूको सोही सिल (नृत्य)लाई राजकुमारले चित्रमा उतारे ।
सुरुमा राजकुमारले मातृ सभ्यताको कथालाई चित्रमार्फत व्यक्त गर्ने कोसिस गरे । तर, उनका लागि आफ्नो संस्कृतिलाई पेन्टिङमा उतार्न क्यानभासको खालीपनामा रङ पोतेर चित्त बुझेन र उनी आफ्नै प्रयोगमा लागे । अन्तिममा उनले निर्णय गरे, ‘ढाकाको कपडामा वास सिल उतार्छु ।’ यसमा उनले उतार्न खोजेको संस्कृतिको प्याटर्न स्वयं कपडामै छ ।
वास सिल’ किरात खालिङ राईहरूले वासमा प्रदर्शन गर्ने नृत्यकला हो । यो नृत्यमात्र होइन, यसमा उनीहरूको सभ्यता र मिथक जोडिएको छ ।
फरक विकल्पका साथ काम सुरु गर्नु उनलाई उत्तिकै चुनौती थियो । कपडामा गरिएको पेन्टिङ बिक्री भइहालेमा रोल होला ? कलर बढी सोस्ने हो कि ? ब्रस र नाइफले राम्ररी काम नगर्ला कि ? तर, उनले ढाकाको कपडामा रङ भर्दै गए र पेन्टिङले आफैंमा सांस्कृतिक पेन्टिङको रूप लिँदै गयो । उनले जब यसमा काम सुरु गरे, बेग्लै आनन्द अनुभव गरे । त्यसपछि राजकुमारसँग एउटा अठोट पलायो, ‘एसेप्ट नभए पनि म यसैमा काम गर्छु ।’ दुई विकल्प ‘च्यालेन्ज अर कम्फर्ट’मध्ये उनले ‘च्यालेन्ज’ रोजेका थिए, काम सुरु गर्नुअघि । सायद उनको रोजाइले पनि यो प्रयोगमा सहयोग गरेको हुनुपर्छ ।
राजकुमारलाई यो प्रयोग गर्न प्रेरित गर्ने अर्को एउटा कारण छ, उनका सहोदर दाइ अर्जुन खालिङ (२०३२–२०७३) । त्रिभुवन विश्वविद्यालयका ‘गोल्ड मेडलिस्ट’ अर्जुन खालिङ एक प्रयोगवादी कलाकार र सांस्कृतिक अभियन्ता थिए । राजकुमारले जति काम गरे, उनलाई प्रतिक्रिया आयो, ‘दाइको जस्तो देखियो, चेन्ज गर ।’ त्यसपछि आफूलाई फरक देखाउन उनले यस्तो प्रयोग गरे ।
तर, आफू दाइकै मार्गनिर्देशमा रहेको राजकुमारको स्वीकारोक्ति छ । ‘उहाँ (अर्जुन खालिङ)ले नै मलाई बाटो देखाउनुभएको हो । ममा उहाँको एकदमै ठूलो प्रभाव छ । म प्लस टु पढ्दै गर्दा उहाँले कल्चरमा गर भन्नुहुन्थ्यो । तर, म गर्दिनँ भन्थे । उहाँले दबाब पनि दिनुभएन । बीएफए थर्ड सेमेस्टरतिर आएपछि चाहिँ दाइले भन्नुभएको कल्चरमा म फर्किएँ’, राजकुमारले भने, ‘आर्टचाहिँ आफू के हो ? आफू कहाँबाट आएको हो ? भन्ने कुराको रिफ्लेक्सन रहेछ भन्ने मैले बुझेँ । त्यसैले आफूलाई सर्च गर्ने क्रममा म फेरि कल्चरमा फर्किएको हुँ ।’
लामो समयको अन्तरालमा आफ्नो जन्मभूमि पुगेपछि राजकुमारलाई संस्कृतिमाथि काम गर्ने जाँगर झन् बढेर गयो । राजकुमारले सम्झना गरे, ‘केही वर्षअघि म आफ्नो गाउँ गएँ, त्यहीँ गाउँबाट म अनेक सपना बोकेर यहाँ (काठमाडौं) आएको थिएँ । र, म फेरि गाउँबाट फर्किएँ । तर, यसपालि मसँग पहिलेजस्तो अनेक सपनाहरू थिएनन्, गाउँमा रहेका आफ्ना ओरिजिनल कल्चरलाई कसरी युनिभर्सल बनाउन सकिन्छ ? भन्नेमात्रै थियो । त्यसपछि मैले आर्टको माध्यमबाट आफ्नो संस्कृतिमा बढी गहिरिएर अध्ययन र काम गर्न थालेको छु ।’
ढाकाको कपडामा उतारिएका तीन पेन्टिङहरूको केन्द्रमा राजकुमारले ‘वास सिल’लाई राखे । यसमा हात र शरीरको चाल र हावभावलाई अझ बढी केन्द्रित गरी रङ र ब्रस खेलाए । उनको पेन्टिङमा नाचिरहेका खालिङ महिलाहरूको मुहार पूर्ण रूपमा एब्स्ट्र्याक्ट थिए । ‘उनीहरूको अनुहार किन नदेखाएको ? ’ राजकुमारले जवाफ दिए, ‘मेरो सब्जेक्टका लागि फेस इम्पोर्टेन्ट थिएन । कल्चरलाई हाम्रो आइडेन्टिटीका रूपमा प्रस्तुत गरेको हुनाले बडी मुभमेन्टमा फोकस भएको हुँ ।’
झ्याम्टाको तरंग र इन्स्टलेसन
प्रदर्शनी अवधिभर अवलोकनकर्ताको सबैभन्दा बढी ध्यान खिचेको राजकुमारको इन्स्टलेसन (प्रतिस्थापन कला)ले हो । उनले प्रस्तुत गरेको इन्स्टलेसनले सबैको ध्यान त्यसरी खिच्न सफल हुनुमा तीन कारण छन् । पहिलो कलाकारको कल्पना, दोस्रो सचेतता र तेस्रो प्रस्तुति शैली ।
‘वास’ झ्याम्टाको सुर र तालमा नाचिने खालिङ राई (सम्पूर्ण किरात राई)हरूको महत्वपूर्ण नाच हो । प्रतिस्थापन कलामा उनले झ्याम्टाको अमूर्त तरंगलाई मूर्त वस्तुका रूपमा कल्पना गरे, जो सानोबाट घुम्दैघुम्दै ठूलो आकार बनेर (पोखरीमा ढुंगा फालिँदा निस्कने तरंगजस्तो) हराउँछ । उनले त्यसैलाई आकार दिएर इन्स्टलेसन तयार पारे, जसले सबैलाई ध्यान केन्द्रित गर्न बाध्य तुल्यायो ।
अर्को उनले चिन्डो (माटोबाट निर्मित)मा ‘वास सिल’ पेन्ट गरेर किराती सभ्यताको शृंखलालाई प्रस्तुत गरे । उनले यसमा पनि ढाकाको कपडालाई कोलाज गरेका छन् । सुरुमा उनले सिकारी युग हुँदै कृषियुगमा प्रवेश गरिएको ‘सिल’लाई हरियो रङको प्रयोगबाट खेतीपातीको विम्ब व्यक्त गरेका छन् । क्रमशः ग्रोम्य र लास्म्यले सर्वप्रथम विकास सीप हुँदै बिदाइ ‘सिल’को अवस्थालाई दर्शाइएको इन्स्टलेसनले किराती सभ्यतालाई प्रस्ट्याएको छ ।
त्यसैगरी उनको प्रस्तुतिशैलीले पनि किराती जीवनशैलीलाई दर्शाएको छ । मुन्दुमअनुसार ‘चिन्डो’लाई जीवनको प्रतीक मान्ने गरिन्छ । किरातीहरूले वृत्ताकार जीवनपद्धतिमा विश्वास गरेजस्तै ‘वास सिल’ पनि गोलो घेरा बनाएर बिनाभेदभाव नाच्ने गरिन्छ । यसअनुसार गोलो घेराका रूपमा इन्स्टलेसन प्रस्तुत गरेका छन्, राजकुमारले । यसले किराती समुदायको संस्कृति अझै जीवन्त रहेको र उनीहरू सरल रेखामा नभएर वृत्ताकार जीवनपद्धतिमा छन् भन्ने देखाउँछ ।
प्रत्येक अवलोकनकर्ताले आफ्नो इन्स्टलेसनबारे जिज्ञासा राख्दा राजकुमार सगर्व प्रस्ट्याउँथे, ‘चिन्डो हाम्रो लागि पवित्र फल हो, योबिना हाम्रो पितृ सम्पन्न हुँदैन ।’ त्यही वास सिल इन्स्टलेसन नजिक उभिएर हरेकले तस्बिर पनि खिचाउँथे, राजकुमारलाई त्यस बेला लाग्थ्यो— हाम्रो कल्चरलाई सबैले एसेप्ट गरे ।
क्यानभास कट
कञ्चन तामाङले पनि आफ्नो मातृसंस्कृतिमै आधारित कला प्रदर्शनीमा राखिन् । राजकुमारले ‘क्यानभास’ छोड्दा ‘कञ्चन’ले रंग छोडिन् । ‘रिफ्लेक्सन’ शीर्षकमा उनले आफ्नै समुदायमा आधारित गहनाहरूको विम्ब क्यानभासमा उतारिन्, ‘कट अन क्यानभास’को माध्यामबाट ।
तामाङ आमा र बुवाको कोखबाट जन्मिए पनि कञ्चनले तामाङ समुदाय र संस्कृतिमा हुर्किन पाइनन् । त्यही अभावले आफ्नो समुदायको संस्कृतिमाथि कला सिर्जना गर्ने हुटहुटी चलेको थियो उनमा ।
‘म तामाङ भएर मैले कहिल्यै पनि आफ्नो संस्कृतिमा हुर्किन पाइनँ, त्यसैले मलाई यसमा काम गर्ने इच्छा भयो’, कञ्चनले आफ्नो कलाका बारेमा इन्टरप्रेट गर्दै भनिन् ।उनले तामाङ समुदायमा प्रयोग हुने गहनालाई क्यानभास काटेर कलाका रूपमा प्रस्तुत गरिन् । क्यानभासमा रङ पोत्न छोडी क्यानभासलाई नै काटेर कला सिर्जना गर्नुमा उनको पनि कारण छ, ‘च्यालेन्ज’लाई रोज्नु ।
क्यानभासलाई काटेर प्रदर्शनीमा राखिएको यो सम्भवतः नेपालमा पहिलो प्रयोग हो ।