दाङमा पाँच जना डेंगु रोगी भेटिए
दाङ : दाङमा पाँच जना डेंगु रोगका बिरामी भेटिएका छन् । दाङको तुलसीपुरमा रहेको एक निजी अस्पतालमा उपचार गराउन आएका बिरामीमा डेंगुको लक्षण देखिएको हो । अस्पतालका प्रबन्ध निर्देशक सुबोध कुमार शर्माले नियमित ज्वरो आएर तुलसीपुर सिटी अस्पतालमा उपचारका लागि आएका पाँच जना बिरामीमा डेंगु रोगको लक्षण देखिएको बताए । डेंगुको लक्षण देखिएका मध्य तुलसीपुर उपमहानगरपालिकाक तीनजना र शान्तिनगका दुईजना रहेको अस्पतालले जनाएको छ ।
ती मध्ये एक जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । भने अन्यलाई अस्पतालमै उपचार भइरहेको उनले जानकारी दिए । बिरामीमा सामान्य ज्वरो आउने, रुघाखोकी, हातखुट्टा दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण देखिएका थिए । लक्ष्ण देखिनासाथ डेंगु परिक्षण किटले उनीहरुलाई परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको शर्माको भनाई छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङले अहिले सम्म डेंगुको पुष्टि नभएको बताएको छ । डेंगु तथा मलेरिया रोग फोकल पर्सन कमल चन्दका अनुसार जनस्वास्थ्य कार्यालयमा डेंगु रोगको संक्रमण भएका बिरामी नआएको र पुष्टी पनि नभएको बताए । एजिज जातको लामखुट्टेले टोक्दा उक्त रोगले संक्रमण हुने भएकाले विगतमा पनि जिल्लामा यसको लक्षण देखिएको उनको भनाई छ । गत वर्ष पनि जिल्लामा १० जनालाई डेंगुको लक्षण देखिएको थियो । एडिज जातको लामखुट्टेको टोकाईबाट डेङ्गु रोग मानिसमा सर्ने गर्दछ ।
चिकित्सकका अनुसार डेंगु अति तीव्र खाले विषाणुजन्य रोग हो । यो रोग लागेमा एक्कासी तीनदेखि पाँचदिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरू दुख्ने, आँखाको गेडी दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने गर्दछ । केही बिरामीको शरीरमा सुरुमै रातो बिमिरा आउँछन् । त्यस्तै, शरीरमा डन्डिफोर जस्ता डाबर देखिन्छन् ।
ज्वरो आइरहेका अवस्थामा नाक तथा गिजाबाट रगत बग्ने र छालामुनि रक्तश्राव हुन्छ । तर, डेंगु हिमोराजिक फिभर बाहेक अन्य ज्वरोमा मृत्युदर ज्यादै न्यून हुने गर्दछ । यस्ता बिरामीलाई विशेष हेरचाह गर्न अस्पताल भर्ना गर्नुपर्छ । यो रोगका बिरामी सामान्यतया वैशाखदेखि मंसिर महिनासम्म देखिने गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दका अनुसार लामखुट्टेले दिउँसोको समयमा टोक्छ । एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने उक्त लामखुट्टे अन्य लामखुट्टेभन्दा अलि ठूलो आकारको र कालो-सेतो छिर्केमिर्के रङको हुन्छ । सहर तथा नगरोन्मुख बस्तीमा पाइने यस्ता लामखुट्टे बस्ने स्थान नष्ट गर्नु नै रोगबाट बच्ने प्रमुख उपाय भएको चन्दको भनाई छ ।
त्यसैले खुला स्थानमा राखिएका मोटरगाडीका टायर, प्लास्टिकका बोतल, चिया खाएर फालेका प्लाष्टिकका गिलास, प्लेटसहितको गमला, फुटेका भाँडाकुँडा तथा खपटा, सिमेन्ट पोतिएका पानी जम्ने साना स्थान र विविध प्रयोजनका लागि जम्मा गरेर राखिएका पानीका भाँडाहरूमा पनि लामखुट्टेको बढी प्रभाव रहन्छ । डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसको टोकाइबाट बच्नु नै मुख्य उपाय हो । त्यसैले पूरा शरीर छोपिने लुगा लगाउने र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नुपर्छ । हातखुट्टामा लामखुट्टे भगाउने क्रिम लगाउनाले पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।