राजपामा मेयरको टिकटका लागि झडप

राजपामा मेयरको टिकटका लागि झडप

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मेयर पदका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मुख्य दाबेदार विमल श्रीवास्तव र राजेशमान सिंह पक्षका कार्यकर्ताबीच शुक्रबार बैठक सुरु नहुँदै झडप भएको छ । झडपपछि बैठक नै स्थगित गर्नुपरेको छ । वीरगन्ज असोज २ गते चुनाव हुन लागेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका हो ।

राजपा नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयलाई लिएर विवाद चर्किएको छ । पार्टीले आसन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको भोलिपल्टै वीरगन्जमा मेयरको उम्मेदवारको विषयमा विवाद भई कार्यकर्ताबीच झडप भएको हो ।

वीरगन्जको मेयरका उम्मेदवार छनोट गर्न केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कुमु प्यालेस होटेलमा राजपाको बैठक बस्ने कार्यक्रम तय गरिएको थियो । बैठकमा केन्द्रीय पर्यवेक्षक विजय गुप्ता, जिल्लामा रहेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष मण्डलका सदस्य र मेयरका आकांक्षी नेतालाई मात्रै बोलाइएको थियो । तर, मेयरका आकांक्षी श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ताहरू बैठक सुरु नहुँदै झन्डा र ब्यनार बोकेर दलबलसहित बैठक हुने भनिएको होटेलमा आआफ्ना नेताको पक्षमा नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

नाराबाजीका क्रममा श्रीवास्तवका समर्थक श्यामबाबु चौरसियाले श्रीवास्तवको पक्षमा नारा लगाउँदा सिंहका समर्थकले उनलाई धकेलेपछि दुवै समूहका समर्थक कार्यकर्ताबीच हात हालाहाल भएको हो । बैठक हुने हलमा दुवै नेताका समर्थक कार्यकर्ताले एकअर्कालाई लक्षित गरी कुर्सी प्रहार गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो ।

 

कार्यकर्ताको प्रदर्शन र नाराबाजीका कारण स्थिति तनावग्रस्त बनेपछि केन्द्रीय पर्यवेक्षक गुप्ता बैठक सुरु नै नगरी होटेल मकालुमा गएर बसेका थिए । होटेल कुमु प्यालेसमा शुक्रबार उम्मेदवार छनोट र चुनावी रणनीतिका विषयमा छलफल गर्न बैठक बस्ने कार्यक्रम रहेको भए पनि बैठकस्थलमा कार्यकर्ता र समर्थक ठूलो संख्यामा आएपछि बैठक स्थगित गर्नु परेको राजपाका केन्द्रीय महासचिव शिव पटेलले बताए ।

‘वीरगन्ज माहानगरपालिका, पोखरियासहितका तीन नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारका लागि आकांक्षीहरूको पहिचान गर्न होटेल कुमु प्यालेसमा भेला राखिएको थियो', राजपाका महासचिव पटेलले भने, ‘तर भेला सुरु नहुँदै कार्यकर्ताको भीड बढ्यो, दुई समूहबीच चर्को नाराबाजी भएर स्थिति असहज भएपछि भेला स्थगित गर्नुपर्‍यो ।' राजपाले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्नुभन्दा पहिलेदेखि नै वीरगन्ज महानगरको मेयरका आकांक्षी श्रीवास्तव र सिंहबीच टिकटका लागि द्वन्द्व चल्दै आएको छ ।

उनीहरूका समर्थक कार्यकर्ताले सामाजिक सञ्जालमा आआफ्ना नेतालाई मेयरको उम्मेदवार बताएर भोट माग्न पनि सुरु गरिसकेका छन् । राजपा गठन गर्नुअघि श्रीवास्तव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का केन्द्रीय कोषाध्यक्ष एवं केन्द्रीय प्रवक्ता थिए । मेयरका अर्का आकांक्षी सिंह भने शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का केन्द्रीय महामन्त्री थिए । दोस्रो संविधानसभाको निर्वाचनमा श्रीवास्तव तत्कालीन तमलोपाबाट र सिंह तत्कालीन रामसपाबाट पर्सा क्षेत्र नम्बर १ मै प्रत्यक्षमा लडेका थिए । उक्त निर्वाचनमा श्रीवास्तव दोस्रो र सिंह तेस्रो स्थानमा रहँदै पारजित भएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनभन्दा पहिले सिंह तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका श्रीवास्तवकै राजनीतिक सहयोगीका रूपमा थिए । दोस्रो संविधानसभा निर्वाचनका बेला श्रीवास्तव तमलोपमा प्रवेश गरेपछि सिंह पनि उनलाई छाडेर रामसपामा लागेका थिए । असोज २ मा हुने स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरको मेयरका लागि राजपाबाट दुईमध्ये टिकट नपाउने नेताले अरू दलबाट वा स्वतन्त्र भए पनि चुनाव लड्ने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.