झारफुकतिर लाग्दा मृत्युको मुखमा
जाजरकोट : रक्तअल्पता भएर जिल्ला अस्पतालमा जीवनमरणको दोसाँधमा छटपटाइरहेकी एक सुत्केरीलाई चिकित्सक, सेना र प्रहरीले रगत दिएर बचाएका छन् । रक्तदानपछि जाजरकोट छेडागाड नगरपलिका ११ झाप्रा औलाकाटियाकी २२ वर्षीया लक्ष्मी चदाराको ज्यान जोगिएको हो । जिल्ला अस्पतालमा कार्यरत डा. भूपेन्द्रप्रकाश मल्ल, नेपाली सेनामा कार्यरत सैनिक जवान श्रीकृष्ण गैरे र नेपाल प्रहरीका प्रहरी जवान लोकबहादुर मल्लले एकएक पिन्ट रगत दिएका हुन्।
रक्तदानपछि महिलाको स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको अस्पतालले जनाएको छ । डा. मल्ल भन्छन्, ‘जिल्लामा ब्लड बैंक छैन । रगत नदिएको भए उनको अवस्था झन् खराब हुँदै जाने देखेपछि रक्तदान गरेको हुँ । सुरक्षा निकायसँग पनि रक्तदानका लागि समन्वय गरें । उनलाई बचाउन सकें, त्यो नै ठूलो धर्म हो ।' लक्ष्मीको घरनजिकै स्वास्थ्यचौकी छ । स्वास्थ्यचौकी नजिकै भएर पनि उनले तीन सन्तान घरमै असुरिक्षत तरिकाले जन्मिाइन् । स्वास्थ्यचौकी गइनन् । १५ वर्षको उमेरमै बिहे गरेकी लक्ष्मीले केही दिनअघि तेस्रो बच्चा घरमै जन्माइन् ।
लक्ष्मीको घरनजिकै स्वास्थ्यचौकी छ । स्वास्थ्यचौकी नजिकै भएर पनि उनले तीन सन्तान घरमै असुरिक्षत तरिकाले जन्मिाइन् । स्वास्थ्यचौकी गइनन् । १५ वर्षको उमेरमै बिहे गरेकी लक्ष्मीले केही दिनअघि तेस्रो बच्चा घरमै जन्माइन् ।
असुरक्षित तरिकाले घरमै सुत्केरी भएका कारण धेरै रगत खेर गयो । उनी बिरामी परिन् । शरीर पहेंलो हुँदै गयो । स्वास्थ्य संस्था लैजानुको सट्टा घरपरिवारले उनलाई धामीझाँक्री कहाँ लगे । प्रेत लागेको भन्दै बोका काटियो तर उनलाई निको भएन । उनी झन्झन् गम्भीर बिरामी हुन थालिन् । त्यसपछि बल्ल थलह बजारमा रहेको निजी क्लिनिकमा लगियो । त्यहाँका स्वास्थ्यकर्मीले तत्काल बिरामीलाई जिल्ला अस्पताल रिफर गरिदिए । ‘जिल्ला अस्पताल पुर्याउँदा लक्ष्मीको स्वास्थ्य अवस्था निकै नाजुक थियो', अस्पतालका डा. धर्मराज रेग्मीले भने, ‘सामान्यतया मानिसको शरीरमा १२ पिन्टभन्दा बढी रगत हुनुपर्छ तर लक्ष्मीको शरीरमा ५ पिन्ट मात्र रगत थियो ।'
‘नजिकै स्वास्थ्यचौकी भएर पनि गर्भ जाँच नगराएको पाइयो । गर्भवती भएको बेला आइरन चक्की नखाएको, पौष्टिक आहारको कमी आदि कारणले उनको शरीरमा हेमोग्लोबिनको मात्रा निकै कम पाइयो', डा. रेग्मीले भने, ‘साथीहरूले रक्तदान नगरेको भए रक्तअल्पताकै कारण उनको ज्यान जान सक्थ्यो । अझै दुई पिन्ट रगत कमी छ । विस्तारै रिकभर होला ।' सुरुमै स्वास्थ्य संस्था नल्याउने, झारफुक तिर लाग्ने र अन्तिम अवस्थामा मात्र बिरामीलाई अस्पताल ल्याउँदा उपचारमा निकै समस्या हुने डा. रेग्मीको भनाइ छ ।
‘मेरी श्रीमती रगतको कमी भएर पहेंली भएकी रहिछे तर पहेंले रोग लागेको हो । झारफुक गरे निको हुन्छे भनेर बूढापाकाले भनेपछि झारफुतिर लागें', श्रीमान् बुद्धिबहादुर लुहारले भने, ‘ढिलै भए पनि अस्पताल ल्याएकाले श्रीमतीको ज्यान बच्यो । अब आइन्दा यस्तो गल्ती कहिल्यै गर्दिनँ ।' उनले श्रीमतीको ज्यान जोगाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।