वोक्सोको आरोपमा मानव मलमुत्र खुवाइयो
नुवाकोट : नुवाकोटको पुर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिकामा एक वृद्धलाई वोक्सोको आरोप लगाउंदै मानव मलमुत्र खुवाइएको छ । प्रहरीले कुटपिट गरी मलमुत्र खुवाउने पिडक फरार रहेकोले खोजी गरिरहेको छ ।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको पञ्चकन्या गापा वडा नं.–२ कविलासस्थित कालिकाथानमा ‘बोक्सो’को आरोप लगाएर एक पुरुषलाई निर्घात कुटपिट गर्दैै मानव मलमूत्र खुवाइएको कारण पिडक धनवहादुर घलेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । वषौंदखि धामीझांक्री गर्दै आएका स्थानीय ५८ वर्षीय गंगालाल श्रेष्ठलाई बोक्सोको आरोप लगाउँदै छिमेकी धनबहादुर घलेले सार्वजनिक स्थलमा निर्घात कुटपिट गरी मानव मलमूत्र खुवाएको पाइएपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए ।
पिडक धनबहादुरकी छोरी बिरामी भएकाले गंगालाललाई झारफुक गरी निको बनाउन आग्रह गरिएको र निको नभएपछि कुटपिट र मानब मलमूत्रसमेत खुवाइएको स्थानीयको भनाई उद्धृत गर्दै वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिए ।
घटना पिडकको दबाबमा एक सातापछि मात्र बाहिर आएको प्रहरीको दावी छ । प्रहरीले पीडितको उद्धार र पिडकलाई कारबाहीको दायरामा ल्याउन शुरु गरेको छ ।
घटना यही भदौ २ गते शुक्रवार भए पनि पिडक धनबहादुरको दबाबमा पीडित गंगालाल न्यायका लागि पहल नगरी घरमा नै बसेको सूचना पाएपछि शुक्रवार इलाका प्रहरी कार्यालय खरानीटारबाट प्रहरी निरीक्षक कृष्णबहादुर विष्टको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर पीडितलाई उद्धार गरी घटनाको अनुसन्धान सुरु गरेको हो ।
घटनाको प्रत्यक्षदर्शी, स्थानीय बासिन्दासँगको सोधपुछपछि गंगालालमाथि अमानवीय व्यवहार भएको पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लागिएको प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए । “घटनाका पीडितले न्यायको अपिल गरेका छन् ”, भट्टराइले भने,–“प्रहरीको टोली देखेपछि पिडक धनबहादुरसमेत फरार रहेकाले उनलाई पक्राउ गर्ने प्रयास भइरहेको छ ।”
कुटपिटबाट पीडित गंगालालको टाउको र शरीरका विभिन्न अंगमा चोट लागे पनि पीडितले घरमा उपचार गराउँदै आएकाले उपचारको समेत आवश्यकता रहेको प्रहरीले जनाएको छ । घटनाका प्रत्यक्षदर्शी श्यामबहादुर श्रेष्ठका अनुसार पिडकले अमानवीय व्यवहार गर्दै पीडितलाई घटना बाहिर नल्याउन दबाब दिएका थिए ।