हत्याको निष्पक्ष छानबिनको माग गर्दै र्याली
दाङ : झुण्डिएको अवस्थामा फेला परेका घोराही निवासी प्रमोद बर्माको हत्या भएको भन्दै परिवारसहित विभिन्न क्षेत्रका व्यक्तिले निष्पक्ष छानबिनको माग गर्दै शनिबार दबाब र्याली निकालेका छन्।
नेपाल बैंक लिमिटेड बर्दिया शाखाका प्रबन्धक घोराही निवासी बर्मा साउन २३ गते बाँकेको अगैया जंगलमा रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए। बर्मा रेडियो स्वर्गद्वारीमा कार्यरत पत्रकार पार्वती बस्नेतका श्रीमान् हुन्।
बर्माको परिवारले उक्त घटनालाई आत्महत्या नभएको र हत्या गरेर झुण्ड्याइएको भन्दै निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। शनिबार पीडित परिवारले दबाब र्याली निकालेर दोषीलाई काबाही गर्न माग गरेका हुन्।
र्यालीमा नेपाल पत्रकार महासंघसहित विभिन्न क्षेत्रमा क्रियाशिल संस्थाका प्रतिनिधि, व्यवसायी, विद्यार्थी तथा युवाको सहभागिता रहेको थियो। तुलसीपुर चोकबाट सुरु गरिएको दबाब र्याली जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन, अदालत, शहिद गेट, दामोदर चोकबाट न्यूरोड हुदै तुलसीपुर चोकमा पुगेको थियो।
र्यालीमा सहभागी भएकाले हामीलाई न्याय चाहियो, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। कोणसभामा बोल्दै प्रमोदकी श्रीमती पार्वतीले आफ्ना श्रीमानको आत्महत्या नभई हत्या भएको तर पोष्टमार्टम रिपोर्टमा पीडितलाई थप पीडा दिने नियत देखिएको भन्दै दुःख व्यक्त गर्नुभयो। शवको प्रकृति हेर्दा र शरीर भरी निलडाम रहेकाले प्रमोदको हत्या नै भएको परिवारको दाबी छ।