निर्माण सम्पन्न नहुँदै भत्कियो सडक (फोटो फिचर)
गाईघाटः निर्माण कार्य सम्पन्न नभई सडक भत्कन थालेपछि उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित जलजले-चुहाडे-भाण्टावारी सडकखण्डको सडक निर्माण कार्यमा स्थानीयले रोक लगाएका छन्। जुन राख्नै पर्दछ। निर्माणको बिषयमा डिटियल स्टिमेट माग्दा ठेकेदारका प्रतिनिधिले आफूसँग नरहेको र धेरै बिषयमा जानकारी नभएको भन्दै पन्छिए। यसबाट के प्रष्ट हुन्छ भने डिभिजनकै मिलेमतोमा हिनामिना भई गुणस्तरहिन सामग्री प्रयोग भएको छ।
ठेकेदार र सडक डिभिजनको मिलेमतोमा गुणस्तरहिन काम भएको भन्दै स्थानीयले सडक निर्माणमा अवरोध पुर्याएका हुन्। १ सय मिटर सडक बनाउन बाँकी नै छँदा ठाउँ ठाउँमा भत्किन गई ठुला ठुला खाल्डो बन्न थालेको छ।
५ मिटर चौडाइ र ८ सय ८० मिटर लम्बाई रहेको उक्त सडक हालसम्म ७ सय ८० मिटर निर्माण कार्य सम्पन्न भईसकेको ठेकेदार कम्पनीले जनाएको छ।निर्माणाधिन सडकमा ठेकेदार कम्पनीले स्टिमेटभन्दा कम सिमेण्ट र बालु, गिटी नचाली खोलामा स्काईभेटर प्रयोग गरी माटोसरीको बालु र गिटी लगाएको स्थानीयको भनाई छ।
निर्माण कार्य सम्पन्न नै नभई सडक भत्किन थालेपछि स्थानीयले अनुगमनको जिम्मा पाएको लाहान सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको चरम लापरवाही भएको बताएका छन्। स्थानीय महेश्वर काफ्लेले भने, 'कामको सुरुवातीमै गुणस्तरीयता नभएको डिभिजन प्रमुख र साईड इन्र्चाजलाई जानकारी गरायौ तर त्यसको वेवास्ता गरियो जसकोकारण सडकको यो दुर्दशा भयो।'
'जानकारी दिँदा दिँदै पनि प्राविधिकले वेवास्ता गरे, उनले भन्नुभयो, ‘काम राम्रो गर्न सुझाब दिनु पर्नेमा उल्टै राम्रो छ भनियो यसको मतलव आर्थिक चलखेल ठुलो देखिन्छ।' ४० टन भार भएको गाडी गुडने गरी निर्माण गरिएको उक्त सडक हाल आएर १० टनको गाडीसमेत चल्न सक्ने अबश्थामा नरहेको स्थानीय बाशु गुरागाईको भनाई छ।
निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी विकास निर्माण सेवा र जाल्पा कन्स्ट्रक्सनका प्रतिनिधि केशव आचार्यले भने कमजोरी नभएको बताए। उनले निश्चित समयसम्म नराखी सवारी साधन चलाउदा खाल्डाखुल्डी भएकोल मर्मत कार्य थालिएको बताए।
सिमेण्टको ढलान गरी पक्की सडक बनाइएको उक्त सडक दुई निर्माण सेवाले २ करोड ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा लिएको निर्माण कम्पनीका प्रतिनिधि आचार्याले बताए। ३ करोड वजेट रहेको उक्त सडकमा ठेकेदार कम्पनीले वोलपत्रमा ४० प्रतिशत कम मुल्य लगाएर निर्माणको जिम्मा लिएका थिए।
यसविषयमा बुझ्न खोज्दा योजनाका साडई इन्र्चाज इन्जिनियर चित्रजन यादवले आफु घरमा रहेको र कार्यालयमा नपुगि केहि कुरापनि बताउन नसक्ने भन्दै पन्छिए।त्यसैगरी डिभिजन कार्यालयका प्रमुख डिई रामकुमार देवलाई सम्पर्क गर्दा फोन नै उठाउनु भएन।