साफ च्याम्पीयनसीप फुटबल : नेपाल र भारतबीच उपाधि भिडन्त
काठमाडौं : हरेक फुटबल स्पर्धाको फाइनलमा भारत तगारो हुनै आएको दृष्टान्त यसपटक पनि दोहोरिएको छ। यू-१५ साफ च्याम्पियनसिप फुटबलको आइतबार हुने फाइनल भिडन्तमा पुन: परिचित प्रतिद्वन्द्वी नेपाल र भारत भिड्दैछन्। लिग चरणमा समूह ‘बी’बाट प्रतिस्पर्धा गरेका दुवै टोली समूह विजेता र उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेका थिए।
समूह चरणमा नेपालले भारतसँग २-१ गोलको हार खेपेको थियो। यद्यपि फाइनलमा उही प्रतिद्वन्द्वी पाएको नेपाललाई अघिल्लो खेलको गल्ती सच्याएर उपाधि घरमै राख्ने उचित मौका मिलेको छ। नेपालले सेमिफाइनलमा बंगलादेशलाई ४-२ गोलले हराएको थियो। भारतले भने भुटानलाई ३-० गोलले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो।
फाइनल खेलअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले उपाधि जितेर छाड्ने दाबी गरेका छन्। नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले समूह चरणमा गरेको गल्तीलाई सुधार गर्दै फाइनलमा राम्रो खेल्ने बताए। ‘हामीले तीन खेल खेलिसका छौं। खेलाडीको ‘मोलर रकन्फिडेन्स’ बढेको छ । समूह चरणमा भारतसँग गरेको गल्तीलाई करेक्सन गर्दै उपाधि जित्ने यो सुनौलो अवसर हो। हामी यस अवसरलाई छोप्ने प्रयासमा छौं’, श्रेष्ठले भने । प्रतियोगितामा भारत सबैभन्दा बलियो टोली भए पनि नेपाली युवा पनि कम नभएको श्रेष्ठले बताए।
भारतका प्रशिक्षक बिलियानो फर्नान्डेजले फाइनल खेल समूह चरणको भन्दा धेरै फरक र कठिन हुने बताए। ‘हामीले समूह चरणमा पनि नेपालसँग खेलिसक्यौं। तर, फाइनल धेरै गाह्रो हुनेछ। घरेलु मैदान र दर्शकको फाइदा नेपाललाई छ। नेपालले फरक तरिकाले खेल्ने हामीले सोचेका छौं। एउटै टोलीलाई लगातार हराउन कठिन हुन्छ। हामी मेहनतका साथ खेल्दै उपाधि जित्ने लक्ष्यमा छौं’, फर्नान्डेजले भने। नेपाल र भारतको फाइनल खेल एन्फा टेक्निकल मैदान सातदोबाटोमा हुनेछ। तेस्रो स्थानका लागि बंगलादेश र भुटान हल्चोकस्थित एपीएफ मैदानमा भिड्नेछन्। फाइनल खेलको प्रतक्ष प्रसारण एपीवान एचडी टेलिभिजनले गर्नेछ।