अग्ला खेलाडीमाथि होचा कदका नेपालीको बहादुरी

अग्ला खेलाडीमाथि होचा कदका नेपालीको बहादुरी

काठमाडौं : लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा शनिबार नेपालको राष्ट्रिय टोली र डेनमार्कको भिलओभा क्लबबीच भएको मैत्रीपूर्ण भलिबल खेल सुरु हुनुअगाडि त्यहाँ पुगेका धेरै सर्मथकले नेपाली टोली सजिलै पराजित हुने आकलन गरेका थिए । शारीरिक रूपले नेपाली खेलाडीका तुलनामा भिलओभा क्लबका खेलाडी निकै अग्ला थिए । त्यसैले भिलओभा नेपाली टोलीमाथि हावी हुने अनुमान समर्थकको ठीकै थियो ।

तर, पहिलो सेट सुरु भएदेखि नै नेपाली टोलीको प्रदर्शन दमदार रह्यो । सुरुमा अग्रता बनाएको नेपाले पहिलो सेट गुमाए पनि त्यसपछिको तीनवटै सेट जित्न सफल भयो । पछिल्ला सेटमा नेपाल भिलओभाविरुद्ध हावी बन्यो । पहिलो सेट १७-२५ ले गुमाएको नेपालले त्यसपछिको तीनवटै सेन २५-१५, २५-२३, २५-२३ ले जितेको थियो । नेपाली टोलीले ३-१ को सेटमा खेल जितेलगत्तै मन्तव्य राखेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेलाडीको तारिफ गरे । राष्ट्रिय खेल घोषणासँगै भलिबलले उत्साहजनक नतिजा दिएको बताए । नेपाल भलिबल संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्ले मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।

 

नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले भिलओभा क्लबका खेलाडी कदमा अग्ला र शारीरिक रूपमा पनि बलिया भए पनि नेपाली खेलाडीले बहादुरीपूर्ण खेल खेलेको बताए । ‘डेनमार्कका खेलाडी हामीभन्दा शारीरिक रूपमा बलिया र अग्ला थिए । हाम्रा खेलाडीले उचाइ र शारीरिक बनावटमा भन्दा पनि खेलमा ध्यान केन्द्रित गरे र विजय हासिल गरे’, प्रशिक्षक भट्टले भने । उनले डेनमार्कका खेलाडीको सर्भिस र स्पाइक राम्रो भए पनि नेपाली टोलीले रिसिभ र एड्याटिङ खेलेर नतिजा आफ्नो पक्षमा बनाएको बताए ।

विपक्षी टोलीमा आफूभन्दा निकै अग्ला खेलाडी भए पनि ओपन स्पाइकर मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, नरेन्द्र गिरी र कुलबहादुर थापा तथा क्विक स्पाइकर महेन्द्र श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए । विगतका प्रतियोगिताको तुलनामा नेपालको डिफेन्स र रिसिभ कमजोर देखिएको थियो । नेपालका लिबेरो र सेटरले राम्रो खेल्न नसक्दा डिफेन्स र रिसिभ कमजोर देखिएको थियो । प्रशिक्षक भट्टले पनि रिसिभ, डिफेन्स र बल सेटिङ राम्रो नहुँदा बेला बेलामा दबाब खेप्नु परेको बताए ।

‘आजको खेलमा लिबेरोले शतप्रतिशत खेल खेल्न सकेन भने बल रिसिभ र सेटिङ पनि कमजोर हुँदा दबाब झेल्नु पर्‍यो’, प्रशिक्षक भट्टले भने, ‘हाम्रो तुलनामा डेनमार्क टोलीको सर्भिस र स्पाइक उत्कृष्ट रह्यो ।’भिलओभा क्लबका प्रशिक्षक मार्टिन ओलेसेनले आफ्ना खेलाडीको तुलनामा नेपालको खेल ‘फास्ट’ रहेको प्रतिक्रिया दिए ।

खेलपछि प्रतिक्रिया दिँदै प्रशिक्षक ओलेसेनले अभ्यासको कमी र नयाँ खेलाडीको समन्वय नमिल्दा पराजय बेहोर्नु परेको बताए । ‘हामीले नेपालमा अभ्यास गर्न पाएनौं जसले गर्दा नयाँ र पुराना खेलाडीबीच समन्वय भएन । कभर्ड हलको गर्मीका कारण पनि खेलाडीले स्वाभाविक खेल खेल्न सकेनन्’, प्रशिक्षक ओलेसेनले भने । उनले १२ सदस्यीय टोलीमा चार जना राष्ट्रिय टोली र चार जना नयाँ खेलाडी रहेको बताए ।

भिलओभा क्लब डेनमार्कको पहिलो श्रेणीको क्लब हो । धेरैपटक शीर्ष स्थानमा रहेको क्लब विगत दुई संस्करणमा तेस्रो स्थानमा रहेको प्रशिक्षक ओलेसेनले जानकारी दिए । उनले नेपाल र डेनमार्कबीच कूटनीटिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा सुरु भएको दुई देशबीचको मैत्रीपूर्ण खेललाई आगामी वर्षमा पनि निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । भिलओभा क्लबसँग नेपालले गत जेठमा प्रतिस्पर्धा गरेको थियो । जेठ ७ गते डेनमार्कमै भएको प्रतिस्पर्धामा नेपाली टोली ३-२ सेटले पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.