‘विपत्तिमा सरकारले हेरेन'
मोरङ : विराटनगर महानगरपालिकाको राधाकृष्ण मन्दिरबाट पूर्वतर्फ केही बेर पैदल हिँड्दा सिंघिया खोला पुगिन्छ । यही खोलाको बाढीले धेरै स्थानीयलाई घरबारविहीन बनाएको छ । खोलाको वल्लो किनार महानगरपालिका र पारि कटहरी गाउँपालिका दुवैतिरका बासिन्दालाई बाढीले सतायो । तर, अहिले महानगरपालिकाका बाढीपीडितले दिनहुँ राहत पाउँछन् भने गाउँपालिकामा रहेकाहरू राहत लिएर कोही आउलान् कि भनेर आस गर्दै बस्छन् ।
कटहरी र विराटनगर जोड्ने पुलमा बाढीले नराम्ररी क्षति पुर्याएको छ । आउजाउ गर्न कठिन छ । राहत लिएर जानेहरू उक्त पुल कट्दैनन् । शुक्रबार कटहरी बस्ती पुग्दा पीडितले एकै स्वरमा भने, ‘हामीलाई राहतका नाममा दुई किलो चामल र एउटा त्रिपाल मात्र दिइयो, विपत्तिमा सरकारले हेरेन ।'
बस्तीका करिब एक सय घर बालुवाले पुरेका छन् ।
शरीरको एकसरो लुगाबाहेक केही बचाउन नसकेका पीडितले सरकारले गाँसको व्यवस्था नगरिदिएको दुखेसो पोखे । पीडित धु्रवकला कर्णले अरूले दिएको खाद्य सामग्रीसमेत पकाएर खान नसकेको सुनाइन् । अत्यावश्यक सामानको जोहो सरकारले गरिदिनुपर्ने उनको माग छ । ‘मान्छे हेरेर दुई/दुई किलो चामल र एउटा त्रिपाल दिए, त्यो पनि सबैलाई पुगेन', उनले भनिन्, ‘त्यसपछि सरकारका कुनै मान्छे यहाँ आएनन्, आपत् पर्दा सहयोग त गर्नुपर्ने हो नि!'
–महानगरपालिकाका बाढीपीडितलाई दिनहुँ राहत
–गाउँमा दुई किलो चामल र त्रिपाल मात्र वितरण
–अत्यावश्यक सामानको जोहो गरिदिन माग
उनीहरूले बाढी गएको धेरै दिन बिते पनि आवश्यक राहत नपाएकोमा दुःख लागेको बताए । निर्वाचनका बेला सुकुम्बासी समस्या समाधान गर्ने बताउने नेताहरू विपत्तिमा नआएको उनीहरूको भनाइ छ । ‘आपत् पर्दा ठूलाबडाले हेर्छन् भनेर भोट हालियो, अहिले ती मान्छे कतै देखिँदैनन्', स्थानीय दीपा सहनीले भनिन् ।
अर्की चम्पा देवले पनि अन्य ठाउँमा राहतको ओइरो लाग्ने गरेको देखेको तर आफ्नो टोलमा दुई किलो चामलबाहेक केही नपाएको सुनाइन् । ‘कोही आउँलान् कि भन्यो, उज्यालो हुन्जेल बाटो हेर्दै समय बित्छ तर कोही आउँदैनन्', उनले भनिन् ।
बाढीपीडित बालबालिका धमिलो पानीमा खेलिरहेका भेटिए । किताब र पोसाक अभावमा विद्यालय नगएका उनीहरू माछा मार्दै थिए ।बस्तीमा भएको ट्युबेल बाढीले पुरिएको छ । उनीहरूले स्वच्छ खानेपानी अभाव झेलिरहेका छन् । खुला ठाउँमा दिसा–पिसाबका कारण बस्ती दुर्गन्धित छ । जुनसुकै बेला बस्तीमा महामारी फैलिने खतरा छ । तर, अहिलेसम्म कतैबाट स्वास्थ्य शिविर तथा औषधोपचारको व्यवस्था भएको रहेनछ । ‘खानेकुराको समस्या त आफ्नो ठाउँमा छ, बस्तीको दुर्गन्धले बसिनसक्नु छ', स्थानीय युवा अजीव पौदारले भने, ‘कसैले हेल्थ क्याम्प राखिदिए हुन्थ्यो ।' धेरै बालबालिका र वृद्धवृद्धा रुघाखोकी तथा ज्वरोले थलिन थालेको उनले जानकारी दिए ।