क्रान्तिकारीको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु
काठमाडौँ: नेकपा (माओवादी केन्द्र) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ।
बुधबारदेखि सुरु क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि आइतबारदेखि निर्वाचन प्रक्रिया सुरु गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए। उनका अनुसार आइतबार मतदाता नामावली प्रकाशन र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ। निर्वाचन मनोनयन भएपछि मंगलबार ३३ पदाधिकारीसहित २३४ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ।
आइतबार निर्वाचन गर्ने भनिएता पनि समय अभावका कारणले मंगलबारका लागि सारिएको हो। क्रान्तिकारीमा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन हुँदैछ। अध्यक्षका लागि रञ्जीत तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत र मदन चुँडालले दाबी गरेका छन्। निर्वाचन प्रक्रियामा दुई हजार ३४ प्रतिनिधिले सहभागिता जनाउनेछन्। रासस