नेताका खल्तीमा डनको ‘डेरा’

नेताका खल्तीमा डनको ‘डेरा’

कानमा कुण्डल, कमिजका टाँक खुला राखेका रवाफिला एक हुल युवा विशेष अदालत छिरेपछि प्रहरीहरू सतर्क भए । ती युवाहरू छरिए । चनाखो मुद्रामा चारैतिर हेरे । लगत्तै फिल्मी शैलीमा कालो चश्मा लगाएका चक्रे मिलन प्रवेश गरे । सेतो टिसर्ट र कालो जिन्स पाइन्टका साथ दुई वटा मोबाइल खेलाउँदै उनी अदालत परिसर छिरेर सबैको ध्यान खिचे । ५ भदौ मध्याह्न विशेष अदालतमा देखिएको दृश्य हो, यो । चक्रे मिलनलाई देखेपछि सहकर्मी अशोक दुलालले क्यामरा क्लिक गर्न लाग्दा उनले मुख बिगारे । दायाँ हातले मुख छोप्दै बोले, ‘लौ, फोटो खिच्छ, यार !’

 

अवैध रूपमा सात करोड कमाएको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दा पेसीमा चढेपछि उनी सुनुवाइका लागि अदालत पुगेका थिए । काठमाडौंमा अकुत धन कमाएका ‘डन’मध्येका शक्तिशाली पात्र हुन्, चक्रे मिलन । अघिल्लो दिन ४ भदौमा उनका प्रतिद्वन्द्वी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतले सफाइ दिएको थियो । चक्रे पनि सफाइ पाउने अभिलाषामा छन् । विशेष अदालतका न्यायाधीशहरू पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको संयुक्त इजलासले आरोप पुष्टि हुन नसकेको भन्दै मनाङेलाई सफाइ दियो ।

आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले चार वर्ष लगाएर डनहरूको सम्पत्ति खोजविन गरी मुद्दा दायर गरेपछि धेरैको टाउको दुखाइ भएको छ । कहलिएका गुण्डाहरूको सम्पत्ति अवैध रहेको दाबीसहित विभागले मुद्दा दायर गरेपछि उदाउन लागेका अन्य गुण्डाहरू पनि तनावमा छन् । सबेैको सम्पत्ति एकीकृत गर्ने हो भने करिब ६३ करोड अवैध ढंगले कमाएको देखिने अनुसन्धानमा संलग्न अधिकृतको दाबी छ । ‘डन’हरूको प्रमुख दलका शीर्ष नेतृत्वसँग ‘कनेक्सन’ छ ।

गणेश–गच्छदार कनेक्सन

गुण्डागर्दीबाट १७ करोडभन्दा बढी अकुत सम्पत्ति कमाउने गणेश लामा काभ्रेली समूहका नाइके हुन् । ठमेललाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका गणेश काठमाडौंमा शुरुमा सोल्टी क्यासिनोका बाउन्सर थिए । गुण्डानाइके दीपक मनाङेसँग सहकार्य गरेपछि उनको आर्थिक हैसियतको ग्राफ उकालियो । चक्रे मिलनका प्रतिद्वन्द्वी ठानिएका उनले नक्सालमा चक्रेमाथि खुकुरी नै प्रहार गरेका थिए । मनाङेसँग उनले सहकार्य गरी डान्सबारमा लगानीसमेत गरेका थिए । उनले कमाएकामध्ये करिब १७ करोड रुपैयाँ अवैध भएको दाबी विभागको छ । उनको काभ्रेमा ३६ रोपनी र भक्तपुरमा सात आना जग्गा छ । काठमाडौंमा पत्नीका नाममा उनको करिब चार आनामा बनेको भव्य घर छ । उनले भाइका नाममा १५ रोपनी जग्गा राखेका छन् ।

लामाले आफ्नो नाममा भने सवारी साधन मात्र राखेका छन् । प्राडो, मारुती कार, लोडर, स्काभेटरलगायत आठ वटा सवारी साधन छन् । उनले १७ करोड एक लाख बिगो जफत गरी त्यही परिमाणको जरिवाना गर्नुपर्ने अभियोग दाबी विभागको छ । उनले आफन्तको नाममा पनि सम्पत्ति जोडेको पाइएको छ । उनले बाबु पासाङ लामा, आमा रञ्जु लामा र भाइलाई समेत गरी पाँच जनालाई प्रतिवादी गराइएको छ । अकुत सम्पत्ति आर्जन गरेका गणेश लामालाई २० पुस २०६७ मा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले केन्द्रीय सदस्य बनायो ।

सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेपछि थुनामा रहेका लामा १८ असोज ०७० मा तीन करोड धरौटी बुझाएर कारागारमुक्त भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नं. २ मा फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दिएपछि उनी धरौटीमा छुटेका थिए । उनी समायानुकूल दल बदल्न माहिर मानिन्छन् । कुनै समय उनी कांग्रेसनिकट थिए । त्यस्तै, सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला राष्ट्रिय जनशक्ति पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत चहारिसकेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरमको छहारीमा उनी गुण्डागर्दीबाट अब राजनीतिमा छान मार्दैछन् । गृहमन्त्री एवं भौतिक योजना मन्त्री भइरहने गच्छदार र सिरुवा कन्स्ट्रक्सनका मालिक लामाबीच ‘ठेक्कापट्टा’ले प्रगाढ सम्बन्ध बनाउन सहयोग गरेको थियो ।

मनाङे–राप्रपा नाता

दीपक मनाङे (राजीव गुरुङ) पनि पुराना डन हुन् । उनको आधार क्षेत्र ठमेल हो । गोंगबुमा बालुवाखानी सञ्चालन गर्न खोज्दा चक्रे समूहले अवरोध गरेपछि खुकुरी र गोली हानाहान भयो । चक्रेसँग दुश्मनी रह्यो । मनाङे कूटनीतिक छन् । अरूलाई उक्साउँछन् । कराँते खेलाडी राकेश लिम्बूलाई ढाल बनाएर आक्रमण गर्न उक्साउँथे । तिनै लिम्बूको हत्या राजु गोर्खालीको ग्याङले गरेको थियो । तीन पत्नीका पति मनाङेसँग अमेरिकी डलरसमेत रहेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । मनाङेले जेठी पत्नी पासाङ डोमा शेर्पासँग भने सम्बन्धविच्छेद गरिसकेका छन् । पकनाजोल, ककनीमा जग्गा खरिद गरेका मनाङेले दोहोरी रेस्टुराँसमेत सञ्चालन गरेका छन् ।

गण्डकी रोधी क्लब, नीरमाया रोधी क्लब, ओएसीस इन्जिनियर्स एन्ड विल्डर्स प्रालि, ट्रान्सपोर्ट प्रालि रहेका छन् । दुई वटा त ढुंगारोडा उद्योग छन् । उनले आफ्नो सम्पत्ति पैतृक, बेलायत र अमेरिकाको आर्जन भएको दाबी अदालतको बयानमा गरेका थिए । अदालतले सफाइ दिएको थाहा पाउने बित्तिकै उनले साथीभाइहरूलाई भोज दिएका थिए । विभागले उनलाई अकुत सम्पत्ति कमाएको भन्दै १४ करोड ७३ लाख ३१ हजार रकम अवैध आर्जन गरेको मागदाबीसहित अभियोगपत्र अदालतमा दायर गरेको थियो ।

gopalkrisna.dhimire उद्दण्डतालाई प्रहरीले बीचैमा रोक्न सक्ने हो भने अपराधको स्वरूप ग्रहण गर्न पाउँदैन। गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता

१६ असार २०७३ मा उनलाई काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख एसएसपी विक्रम सिंह थापाले ठमेल सञ्चालित अवैध धन्दामा संलग्नता देखिएको भन्दै पक्राउ गरेका थिए । पूर्वएसएसपी थापा भन्छन, ‘व्यापारीलाई धम्क्याएर पैसा असुलेको उजुरी परेपछि पक्राउ गरिएको हो ।’

चक्रे र पर्शुरामको ओली चक्र

महाराजगञ्ज, चुनदेवीका चक्रे मिलनका बुवा ब्रिटिस आर्मीमा सेवानिवृत्त हुन् । चक्रपथ र चाबहिललाई आधार क्षेत्र बनाउँदै चक्रे दुई दशकदेखि डनका रूपमा चिनिँदै आएका छन् । उनले कपन र गोंगबुमा बालुवाखानीसमेत सञ्चालन गरेका छन् । गोंगबुको बालुवाखानी सञ्चालन सम्बन्धमा उनी र मनाङे समूहबीच धरै पटक झडप भयो । दुई समूहबीच गोली हानाहान पनि भयो । यो समूहको अघि मनाङे समूह निरीह बन्नुपरेपछि त्यहीँ रिस फेर्न मनाङेले काभ्रेली समूहसँग सहकार्यसमेत गरेका थिए । नक्सालमा चक्रेलाई खुकुरीले हानेपछि रिसाएका तेजेन्द्र गुरुङ (चक्रे मिलनका भाइ)ले जय नेपाल हलमा फिल्म हेरेर फर्कदै गरेका मनाङेलाई आक्रमण गरेका थिए । तर, मनाङे उम्किए ।

काठमाडौंमा धेरै गुण्डाहरू जन्माउनेमा चक्रे अग्रपंक्तिमा छन् । कुमार घैंटे, दिनेश अधिकारी ‘चरी’ उनका चेला हुन् । तर, पछि उनीहरू नै चक्रेको विरोधी बने । यी सबैको साथ पाएपछि चक्रेले सुन्धारा क्षेत्रमा पनि राज जमाएका थिए । तर, पछि आम्दानीलाई लिएर विवाद भएपछि घैंटे र चरीले चक्रेसँग सम्बन्धविच्छेद गरे । सामाखुशी क्षेत्रलाई आधार बनाए । एमाले नेताहरूको आशीर्वाद पाएका चरी २२ असार ०७० मा गृहजिल्ला धादिङ फर्कंदै गर्दा भीमढुंगामा प्रहरीको इन्काउन्टरमा मारिए । उनी धादिङ क्षेत्र नं १ का एमाले पूर्वउपाध्यक्ष थिए । चरीको गैरन्यायिक हत्याको दाबी गर्दै एमाले सांसद राजेन्द्र पाण्डेलगायतले संसद्मा विशेष समय लिएर छानबिन गर्न माग गरेका थिए ।

२१ साउन २०७२ मा घैंटे काठमाडौंको कपुरधारामा प्रहरीको इन्काउण्टरमा मारिए । प्रहरी इन्काउन्टरपछि घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल पु र्‍याइएका घैंटेलाई भेट्न कांग्रेस सभासद्द्वय भीमसेनदास प्रधान र धनराज गुरुङ अस्पताल पुगेका थिए । कांग्रेस सभासद् जगदीशश्वरनरसिंह केसीले त आफ्नो कार्यकर्तालाई प्रहरीले फर्जी मुडभेटमा मारेको दाबी गरेका थिए । यो घटनामा कांग्रेस नेता अर्जुननरसिंह केसी र गगन थापा पनि मुछिएका थिए । चक्रेले आफ्नो सम्पत्ति जापान, चीन र हङकङमा काम गरेर आर्जन गरेको दाबी गर्दै आएका छन् । उनले कपनको बालुवाखानीबाट पनि आम्दानी गरेको दाबी गरेका छन् । सुनका सौखिन चक्रेले घाँटीमा मोटो सुनको सिक्री लगाउने गरेका छन् ।

उनीसँग ३० तोला सुन छ । जसमध्ये, आठ तोला उनले किनेका हुन् । बाँकी २२ तोला सुन दिदीले उपहार दिएको उनले बयानमा उल्लेख गरेका छन् । उनकी पत्नी इन्दिरा घलेसँग पनि २० तोला सुन रहेको छ । जुन माइतीले दिएको दाकी गरेका छन् । विभागले औल्याएको सात करोड सात लाख रुपैयाँ वैध रहेको जिकिर गरेका छन् । उनी हातहतियार र लागूपदार्थ कारोबारको अभियोगमा समेत पटक–पटक पक्राउ परी धरौटीमा छुट्दै आएका छन् । उनी आफूलाई एमाले नेता प्रदीप नेपालसँग निकट सम्बन्ध रहेको बताउँछन् ।

don2_1

विशेष अदालत जाँदै चक्रे मिलन (बाँ‌या) । तस्बिर : अशाेक दुलाल

मोरङ, विराटनगरका पर्शुराम बस्नेत भने पूर्वी क्षेत्रमा कहलिएका गुण्डा हुन् । पत्रकार खिलनाथ ढकाललाई कुटपिट गरेपछि उनी एकाएक चर्चामा आएका थिए । उनले आफू र पत्नी अञ्जु सिंहको नाममा ११ कित्ता जग्गा राखेका छन् । विभिन्न बैंकमा सेयर पनि छ । नौ करोड ६६ लाखभन्दा बढीको बैंकिङ कारोबार गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीले बताए । हुण्डाई, टक्सनलगायत सवारी साधन खरिद गर्दाको रकम आर्जनको स्रोत खुलेको छैन । उनी सीमापार तस्करीमा पनि संलग्न भएको पाइएको छ । उनले एडभरटाइजिङ एजेन्सी, हार्डवेयर र सेयर किनबेच गरेर कमाएको दाबी गरेका छन् । उनको ११ करोड ४१ लाख रुपैयाँको स्रोत अवैध भएको अभियोगपत्रमा उल्लेख छ । उनी एमालेनिकट युवा संघको केन्द्रीय सदस्य एवं पूर्वाञ्चल इन्चार्ज हुन् । एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र हुन् ।

एमालेनिकट युवा संघ नेपालले केही अघिमात्र ‘डन’ पर्शुराम बस्नेतलाई प्रदेश नम्बर १ को संयोजक तोक्यो । आउँदो केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै संघले पार्टी नेताको गुटगत धारको विवादमा परेको संघको समस्या किनारा लगाउने प्रयासस्वरूप नै केपी ओलीनिकटका बस्नेतले नयाँ जिम्मेवारी पाए । बुटबल महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका उनले भागवण्डाका क्रममा संघको केन्द्रीय सचिवको जिम्मेवारी पनि पाएका थिए । संघको सम्मेलन विगत पाँच वर्षदेखि हुन सकेको छैन ।

आफूइतर र भितरका कार्यकर्ता मिलाउने क्रममा एमाले नेताले यस पटक बस्नेतको पोल्टामा प्रदेश १ संयोजकको पद हालिदिए । बस्नेत एमाले मोरङको जिल्ला अधिवेशन होस् वा स्थानीय तहको निर्वाचन सबैमा सक्रिय हुँदै पार्टीमा आफ्नो ‘स्पेस’बनाउने ध्याउन्नमा छन् । यद्यपि, उनको आफ्नो प्रदेश र गृहनगर विराटनगरमा ‘छिन्नभिन्न र मक्किएको’ अवस्थामा पुगेको युवा संघमा आफ्नै पत्नी र आफ्ना पछुवाको साथ लिएर राजनीति गर्ने सपना साँधिरहेका छन । बलियो जनाधार नहुँदा ‘अपराधको सत्य’लाई राजनीतिको आवरणले ढाकछोप गर्न बस्नेत समाजसेवाको ‘नाटक’ पनि गरिरहेका छन् । 
महानगरको निर्वाचनमा विराटनगरमा एउटा फेसबुक स्टाटस निकै भाइरल बनेको थियो ।

‘डनगिरी र ठेक्कापट्टालाई जिताउने कि शैक्षिक प्रगतिको वाहक बन्ने ।’ महानगरमा एमालेका मेयरका उम्मेदवारको अघिपछि र प्रचार कार्यक्रममा बस्नेतकै हालिमुहाली देखिएपछि उनलाई कटाक्ष गर्दै कांग्रेसका भीम पराजुलीको समर्थनमा स्टाटस भाइरल बनेको थियो । बस्नेतसँगै राजनीतिमा होमिएका एक जना एमालेका युवा नेताले भने, ‘बस्नेत राजनीतिमा सक्रिय हुन खोज्नु आफ्नो विगतको धुमिलिएको चरित्रलाई ढाकछोप गर्ने प्रयास मात्र हो ।’ उनले बस्नेतको धन्दामा अहिले पनि कुनै कमी नआएको दाबी गरे ।

अभिषेक : देउवा दाहिना

विराटनगरका अभिषेक गिरी पनि गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाउने डनमा सूचीकृत छन् । उनी जेल पर्दै राजनीतिक संरक्षणमा छुट्ने गरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलाई ब्याकमेल र अपहरणको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा परेका छन् । २० साउन ०७१ मा जेल पुगेपछि उनी अहिले विराटनगर जेलभित्रै रवाफ देखाइरहेका छन् । तरुण दलको जिल्ला सदस्य अभिषेक कांगे्रसको कोइराला र देउवा दुवै क्याम्पनिकट मानिन्छन् । उनले काठमाडौंको तीनकुनेमा चार आनामा घर बनाएका छन् । जय माँ काली निर्माण सेवा व्यापारिक फर्म सञ्चालन गरेका छन् । उनले आफ्नो र पत्नीको नाममा करोडौंको बैंकिङ कारोबार गरेको देखिएको छ ।

उनको मोरङमा आफ्नो र श्रीमतीको नाममा जग्गा छ । जेलबाहिर रहँदा ‘डनगिरी’ गरेर चर्चा कमाएका अभिषेक गिरीको पल्ला अहिले पनि भारी नै छ । उनको रवाफ, दबाब र प्रभावमा कुनै कमी आएको छैन । खुला आकाशमुनि ‘धन्दा’ चलाएको गिरीको रवाफको फरक यत्ति मात्र हो, अहिले पर्खालका चौघेराभित्रै ‘शासन’ जमाएका छन् । तर, ‘डनको दबदबा’मा कुनै कमी आएको छैन । स्वभावअनुसारको ‘धन्दा’ चलाउन खप्पिस गिरीलाई जेल प्रशासनले चौकीदारको जिम्मेवारी दिएको छ । कैदीबन्दीको चाप र भूगोलको हिसाबले पनि महत्वपूर्ण मानिने विराटनगर जेल प्रशासनले केही समयअघि मात्र अभिषेकलाई चौकीदारको जिम्मेवारी दिएको हो ।

किन गिरीलाई नै चौकिदार त ? झोक्किँदै विराटनगर जेलका जेलर प्रेम सापकोटाले भने, ‘तपाईंलाई किन चाहियो ? के गर्न हो ? यो जेल प्रशासनको आन्तरिक मामिला हो । हो हामीले नै बनाएका हौँ ।’ जेलर सापकोटा निकै झर्कोफर्को गर्दै तर्किए । चौकीदार जेलभित्रका कैदीहरूका नेता हुन् । उनले कैदीका समस्याबारे जेलरसँग समन्वय गर्ने कामसमेत गर्छन् । प्रहरीको निगरानी र रेखदेखमा चौकीदार जेलबाहिरसमेत निस्कन पाउँछन् । शृंखलाबद्ध अपराधमा संलग्न हुनुपूर्व गिरी विराटनगरमा कांग्रेसको भ्रातृसंगठन तरुण दलको प्रारम्भिक राजनीतिमा थिए ।

मोरङ जिल्ला सदस्यसम्म भएर उनले काम गरेको आफूलाई स्मरण भएको बताउँदै तरुण दल विराटनगरका सभापति सन्तोष न्यौपाने भन्छन्, ‘उनको पोलिटिकल पोर्टफोलियो त्यस्तो ठूलो वजनदार थिएन । अरू नै कारण चर्चामा रहे ।’ कांग्रेस जिल्ला सचिव नागेश कोइराला अध्यक्ष भएका बेला मनोनयन प्रक्रियाबाट गिरी जिल्ला सदस्य बनेका थिए । तर, अपराधमा संलग्न भएसँगै उनको तरुण दलको राजनीति धरापमा परेको थियो ।

उम्काउन चाहन्छन्, दल

अदालतमा मुद्दा विचाराधीन रहेका कारण सम्पत्ति के हुने हो भन्ने चिन्तामा गुण्डाहरू रहेका छन् । परिवारका सदस्यलाई पनि प्रतिवादी बनाइएका कारण उनीहरूको तनाव बढेको छ । सम्पत्तिमाथि अनुसन्धान हुँदै गर्दा दलका नेतासँग दह्रो नेक्सस भएका कारण उनीहरूले बीचैमा सेटिङ मिलाउन खोजेका थिए । अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘दलका नेता सरकारमा बसेका बेला मुद्दा दायर गर्न सकिँदैनथ्यो । त्यही भएर छिटो–छिटो अनुसन्धान गरी मुद्दा दायर गरिएको थियो ।’ तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका बेला मुद्दा दायर गरिएको थियो । अनुसन्धान कार्यलाई तुहाउन एमाले र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेताहरूले प्रयास गरेको स्रोतले बतायो । विभागले पाँच वर्ष लगाएर सम्पत्तिको अनुसन्धान गरेको थियो ।

स्थानीय व्यक्तिहरू, नातेदारसँग सोधपुछ गर्नुका साथै उनीहरूविरुद्ध परेका आपराधिक मुद्दा केलाउँदै अनुसन्धान गरिएको थियो । विभिन्न आर्थिक कारोबारमा लिएको अवैध कमिसन, व्यापारी धम्क्याएर असुलेको रकम तथा तस्करीबाट अवैध अकुत सम्पत्ति कमाएको दाबी सम्पत्ति शुद्धीकरण विभागको छ । सम्पत्ति शुद्धीकरण ऐन, ०६४ अनुसार मुद्दा दायर गरिएको हो । उनीहरूले ठेक्कापट्टालगायत अन्य व्यापारिक कारोबारबाट आर्जित आम्दानी वैध भएको दाबी गरे पनि गुण्डागर्दी र कमिसन नै प्रमुख स्रोत हो ।

मलेसियाबाट नेपालमा आतंक

बुटवलमा माओवादीको आशीर्वाद पाएका रूपन्देही देवदहका मनोज पुन (बुढामगर)ले मलेसियामा बसेर आतंक मच्चाइरहेका छन् । पुन विभिन्न आपराधिक गतिविधिमा संलग्न छन् । देशबाहिर रहेर टेलिफोनमार्फत् चन्दा आतंक फैलाउने उनी प्रहरीको ‘मस्ट वान्टेड’ हुन् । गत पुसमा युवा संघ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यापछि पुनलाई प्रहरीले मस्ट वान्टेड सूचीमा राखेको छ । प्रहरीले निरन्तर खोजी रहेको बताए पनि विदेशमा रहेर चन्दा उठाउने र नदिनेलाई सिध्याइदिने बताउँदै आएका छन् । रूपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पाका व्यवसायीहरूलाई चन्दाको माग गर्दै आतंक फैलाउने पुनको सहयोगीलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

गत महिनामात्रै मणिग्रामका व्यवसायी दीपक भण्डारीको पसलमा गोली प्रहार गर्दै पुनले ३० लाख नदिए सिध्याइदिने धम्की दिएका थिए । देवदह ८ मा घर रहेका पुन तीन वर्षअघिसम्म एमालेका कार्यकर्ता थिए । एमाले भातृ संगठन युवा संघको देवदहको नेतृत्वमा रहेका पुन त्यसपछि माओवादी केन्द्रको युवा संगठन वाईसीएलमा आबद्ध भए । वाईसीएलमा आबद्ध भएपछि तिवारीमाथि टसल परेको र सोही कारण हत्या गरेको प्रहरीको भनाइ छ । घरजग्गा र अवैध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गर्दै छाड्दै गरेको थियो । तिवारीको हत्यापछि गठन भएको पूर्वएआईजी विज्ञानराज शर्मा नेतृत्वको छानबिन समितिले मनोज पुनले नै हत्या गरेको निक्र्योल गरेको थियो ।

प्रहरीले मनोज पुनलाई सघाउने झण्डै १६ जनालाई नियन्त्रणमा लिएको छ । हालै रूपन्देही सरुवा भएका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले पुनको समूह कमजोर भएको भन्दै चन्दा माग्दैमा नदिन आग्रह गरेका छन् । ज्ञवालीले रूपन्देही पुगेको एक सातामै पाल्पाका एक सहयोगी सुशान्त लाकौललाई पक्राउ गरेका छन् । पुनले इन्टरनेट फोनमार्फत् चन्दा आतंक फैलाउने गरेको प्रहरीले जनाएको छ । आफूलाई मलेसिया रहेको बताउँदै आएका पुनसम्म प्रहरी पुग्न सकेको छैन । अदालतले कारबाही नतोकेकाले इन्टरपोलको सहयोग लिन नसकिएको प्रहरीले जनाएको छ ।

दरबारिया डन

पञ्चायतकालमा तत्कालीन राजपरिवारका सदस्य धीरेन्द्र शाहलाई ‘डन’का रूपमा हेर्ने गरिन्थ्यो । उनलाई दरबारले छहारी दिएको थियो । तर, ०४६ सालपछिको राजनीतिक परिवर्तनपछि भने काठमाडौंमा ‘नयाँ डन’ का रूपमा गुण्डाहरू उदाए । जसलाई विभिन्न राजनीतिक दलले छहारी दिए । संरक्षण गरे । काठमाडौंलाई केन्द्रका रूपमा लिँदै गुण्डागर्दी गर्नेहरू डनहरूले विभिन्न राजनीतिक दलका शीर्ष नेताको आशीर्वाद लिए । जुन काठमाडौंबाट बाहिरी जिल्लासम्म विस्तार भयो ।

त्यस्तै, दाङमा परिस्थितिअनुकूल पार्न कहिले कांग्रेस त कहिले माओवादीको आशीर्वाद थाप्दै बाबु पुन र विकास पुनले पिरोलेका छन् । नेपालगन्जमा ग्याङ बनाएर उद्दण्ड मच्चाउने कांग्रेसनिकट रिगल ढकाल आत्मसमर्पण गरेर जेलमा छन् । कुनै बेला गुण्डागर्दीमा संलग्न दोलखाका शुक्रे लामा यतिबेला कांग्रेसको राजनीति गरिरहेको आवरण देखाउन जिल्लामा प्रयासरत छन् । तथापि, भयरहित वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार भने बेला बखत गुण्डाहरूको सामु लाचार बन्ने गरेको छ ।

तैँ चुप, मै चुप

आपराधिक मुद्दामा थुनामा परे पनि गुण्डाहरूको कनेक्सनबारे दलका शीर्ष नेताहरू मात्र होइन प्रहरीका उच्च अधिकृतसमेत बोल्न चाहँदैनन् । छहारी दिएका दलका शीर्ष नेतृत्व मात्र होइन प्रहरी र मुद्दामा आफ्नो तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई समेत गुण्डाहरूले आर्थिक सहयोग गरेका छन् । फलस्वरूप, सबै तैं चुप मै चुप छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य काठमाडौंमा गुण्डागर्दी हराएको दाबी गर्छन् । भन्छन, ‘गुण्डाहरूलाई मिडियाले नै ‘डन’का रूपमा उल्लेख गरेर मनोबल बढाउने काम गरेका छन् ।’ उनले मिडियालाई दोष लगाए पनि कानुन व्यवसायीहरू भने प्रहरीको इमानदारीतामा प्रश्न उठाउँछन् ।

एक कानुन व्यवसायी भन्छन, ‘नेता, प्रहरीदेखि वकिलसम्मको चाडवाडको खर्च गुण्डाहरूले नै दिने गरेका छन् ।’ फौजदारी कानुनका जानकार एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रहरीको पेसागत ‘डिग्निटी’मा ह्रास आएको बताउँछन् । भन्छन्, ‘राजनीतिको प्रभाव एक हदसम्म होला तर त्यसलाई प्रहरी आफंैले नियन्त्रण गर्न सक्छ । त्यो कन्ट्रोल गर्न नसकेको देखियो । हरेक कुरामा सेटिङ देखियो ।’ लागूऔषध कारोबार, हत्यालगायत घटनामा संलग्न भन्दै प्रहरीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्छ । तर, उनीहरू धरौटीमा छुट्छन् । न्यायालय उदार भएको आरोप लगाउँछ । ‘घटनामा प्रहरीले जबर्जस्ती साबित गराउने हुँदा धरौटीमा छुट्ने गरेका छन्,’ वरिष्ठ अधिवक्ता घिमिरे भन्छन्, ‘उद्दण्डतालाई बीचैमा रोकिदिने हो भने अपराधको स्वरूप ग्रहण गर्न पाउँदैन ।’

विराटनगर/कुमार लुइँटेल, बुटवल/लक्ष्मण पोखरेल , नेपालगन्ज/सुरेन्द्र काफ्ले र दाङ/गोपाल शर्मा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.