नागरिक प्रमाणित नभएको एउटा दलित नेपाली

 नागरिक प्रमाणित नभएको एउटा दलित नेपाली

गुल्मी : उनका वंशज जन्मिए नेपालमा । हुर्किए नेपालकै ग्रामीण वस्तीमा । तर, उनीहरुसँग नेपाली नागरिकता छैन । पिताको नागरिकता नबन्दै निधन भयो । पिताको नागरिकता नहुँदा आमाको बनेन । आमाको नागरिकता नहुँदा छोरा बुहारी र नाती नातिनीको नागरिकता पनि बनेन । तराई मधेसमा नागरिकता नपाएको मुद्दा राष्ट्रिय राजनीतिको केन्द्रमा बहस हुने गर्छ तर पश्चिम नेपालको गुल्मीमा एउटा यस्तो परिवार छ, जसको तीन पुस्तादेखि नागरिकता छैन । शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य सामाजिक सुरक्षाको सुविधा पाउने कुरै भएन ।

गुल्मी दरबार गाउँपालिमा १ का ५० वर्षीय गोपाल परियारका पिताको नागरिकता नबन्दै निधन भयो । आमा मंगली परियारको नागरिक बन्न पाएन । माता र पिताको नागरिकता नहुँदा गोपाल र उनकी श्रीमती सीताको नागरिकता बन्न सकेन । गोपाल र सीताका छोराछोरी नागरिकता बनाउने उमेरका भइसके तर उनीहरुको नागरिकता बन्ने उपाय भेटिएको छैन ।

 

‘अहिलेसम्म कसैको पनि नागरिकता बनेको छैन्’, ५० बर्षीय गोपाल परियारले भने,‘ बुवा बितिहाल्नुभयो । आमाको नबनेपछि दाजुभाइ कसैको पनि नागरिकता बनेन् ।’ नागरिकता नभएपछि राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा सेवाबाट यो दलित परिवार बञ्चित छ । श्रीमती सीताको समेत नागरिकता नभएको उनले बताए ।

‘बुबा बितेको १२ वर्ष भइसक्यो’, गोपालले भने, ‘बुबाको निधनपछि दुःखका दिन सुरु भए ।’ बुबाको काजक्रिया गर्दा लागेकै ऋण तिर्न नसक्दा भएको जग्गा जमिन साहुँले लगेको उनले बताए । वृद्ध आमा मंगली परियार धुर्कोट कोरापानीस्थित छोरीको घरमा पाँच वर्षदेखि बस्दै आएकी छिन् ।

नौ वर्षको अवधिमा आठ ठाउँमा सरेर बस्दै आएको श्रीमती सीता परियारले बताइन् । ‘आजभोलि धुर्कोट गाउँपालिकाको काभ्राबोटमा बसिरहेका छौँ’,उनले भनिन्, ‘नजिकै खोला छ । सुतिरहेको बेला बगाएर लैजान्छ कि भन्ने डर हुन्छ । दिनहुँजसो पानी परिरहेको छ । सिमसिमे पानी पर्नासाथ भान्सा र ओछ्यानसम्मै पानी पुग्छ ।’

यसअघि नगरपालिका भित्रका लप्ती, बालुवा, लामडाँडा, उर्लेनीलगायत ठाउँमा बसेको उनले सुनाइन् । ‘त्रिपालले जसोतसो झुपडीलाई ओते पनि ठूलो पानी भित्र पसिहाल्छ’, सीताले भनिन्, ‘धेरैपटक हावा चल्दा उडाएर लग्यो ।’ बर्षातका बेला दिन रात बिताउन धेरै कठिन हुने गरेको उनले बताइन् ।

घरमा भएको पुख्र्यौली सम्पतिजति ऋण तिर्दैमा सकिएपछि सुकुम्बासी बनेको गोपाले बिलौना गरे । दलिथुममा रहेको आफनो थाँतथलो छोडेर नौ वर्षदेखि घर छोडेर हिँडेका परियार जहाँ पुग्यो, त्यहीँ अस्थायी झुपडी बनाएर बस्दै आएका छन् । परियारका ६ जना छोराछोरी छन् । एक छोरा र पाँच छोरीमध्ये साथमा तीन छोरी रहेको उनले बताए । घरमा पालनपोषण गर्न समस्या भएपछि जेठो छोरा १८ वर्षीय सञ्जयलाई होटलमा काम गर्नका लागि काठमाडौं पठाएको उनले बताए । जेठी छोरी मंगली परियार र माइली छोरी गीता परियारले गाउँमै अरुको घरमा काम गर्दै जिविका चलाउँदै आएका छन् ।

साथमा रहेका श्रीमती र तीन छोरीलाई बिहान बेलुका छाक टार्न मुस्किल हुने गरेको छ । ‘सिजनमा काम हुँदा त जसोतसो काममा जान्छु’,परियारले भने,‘काम नपाएपछि खाना जुटाउनै सकिन्न ।’ खुट्टामा पोलिएर घाउँ भएपछि अप्ठ्यारो काम गर्न समस्या हुने गरेको उनले बताए ।

बाँसले बारेको झुपडीलाई त्रिपालले बेरे पनि यसले न पानी छेक्छ, न त घाम नै । झुपडी नजिकै पनाहखोला उर्लिरहेको हुन्छ । पानी पर्दा रातभर निदाउँदैनन् उनीहरु । ‘जसोतसो झुपडी बनाएर जीवन चलेको छ’,गोपालले भने, ‘घरमा सम्पत्ति केही छैन् । दुःख, सुख गरी परिवारलाई दुई छाक जुटाएको छुँ ।’

बर्षातका बेला रोपाँइ हुँदा मेलामा गएर ज्याला मजदुरी गरी जिविकोपार्जन गरे पनि काम नपाउँदा कहिल्यकाँही भोकभोकै बस्नुपर्ने बाध्यतामा छ यो परिवार । ‘नागरिकता नै नभएपछि अरु के होस् र ?’,सीताले भनिन्, ‘घरमा भएजतिको सम्पत्ति ऋण तिर्दैमा सकियो । सुकुम्वासी भएर खोला किनारमा बस्नुपरेको छ ।’

सदरमुकाम तम्घास–धुर्कोट–पुर्कोटदह सडक नजिकै पनाह खोलाको तीरमा छाप्रो बनाएर बसेको धेरैले देख्छन् । जिल्लाको प्रशासनिक, राजनीतिक र सुरक्षाको जिम्मेवारी लिनेहरुले पनि तर यो दलित परिवारको अवस्थाका बारेमा कसैले एक शब्द सोध्दैनन् । ‘नागरिकता बनाउन पाएँ केही राहत पाइन्थ्यो कि भन्ने लागेको छ’, सीताले भनिन,‘भोट हाल्न पाउने भए नेता ज्यूँ पनि आउनुहुन्थ्यो होला । नपाउने भएपछि कसैले हेरेनन् ।’

नागरिकता नभएका कारण मतदाता सूचीमा उनीहरुको नाम पनि छैन । पञ्चायतदेखि नै मताधिकार प्रयोग गर्न सक्ने उमेरका गोपालले ०४६ र ०६३ मा भएका ठूला राजनीतिक परिवर्तन सुनेका छन् । तर उनको जीवनमा ती परिवर्तनले तात्विक भिन्नता ल्याउन सकेको छैन । मुलुकमा भएका संसदीय, स्थानीय, संविधानसभाका निर्वाचन गोपालका लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’जस्तै भएका छन् ।

दलित परियारलाई छाप्रो बनाएर निःशुल्क बस्नका लागि रेसुंगा नगरपालिका–६ निन्नीचौरका भोज बहादुर कुँवरले जमिन दिएका छन् । ‘परिवारसहित विचल्लीमा परेको देखेपछि बस्ने ठाउँको बन्दोबस्त मिलाएका हौँ’, स्थानीय खिम बहादुर कुँवरले भने, ‘यस्तो गरिब परिवारलाई सरकारले पनि हेरेको छैन् ।’ चुनाव जितेर आएका जनप्रतिनिधिले बिचल्लीमा परेको परिवारको राहत एवं पुर्नस्थापनाका लागि पहल गर्नुपर्ने उनको आग्रह छ । ‘धन सम्पति भएकालाई समस्या नै हुँदैन’,उनले भने,‘गरिब निमुखा जनताको सेवामा नगरपालिकाका मेयर उपमेयरको ध्यान गएको खोइ ?’ नगरपालिकाभित्रै यसरी जीवन बिताइरहेकाहरुको सेवामा कसैको पनि नजर नपुगेको उनले बताए । यो दलित परिवारलाई सुरुमा नागरिकता बनाउनेतर्फ सबैले चासो देखाउनुपर्ने कुँवरको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.