रातु पुल बगाएपछि सवारी आवागमनमा सास्ती
बर्दिबास: ‘न खान ठेगान छ। न बस्न निश्चित छ। हाम्रो यात्रा अनिश्चि छ हजुर,’ मालवाहक ट्रक चालक जीवन मगरले भने, ‘दिनहुँ जाम पर्छ। कहिले पानी खान समेत समस्या पर्छ।’ साउन २८ गते मुसलधारे बर्षाले महोत्तरी र धनुषाको साँधमा पर्ने रातु पुल भाँसिएपछि पुलबाट मालवाहक सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ। यात्रुवाहक सवारी साधन मात्र चल्ने भएपनि सहज आवागमन हुन सकेको छैन जसले गर्दा घण्टौंसम्म जाममा बस्नुपरेको चालकहरुको गुनासो छ।
हुन त पुलको सट्टा खोलामा वैकल्पिक बाटो बनाइएको छ। तर बैकल्पिक बाटो नदिले दिनहुँ बगाउने गरेकाले निकै शास्ती भोग्नुपरेको छ, मालवाहक गाडीका सवारी चालकहरुले। शुक्रबार साँझ नारायणघाटबाट तीस क्वीन्टल चाउचाउको भारी लिएर सवारी चालक भरत मगर ट्रक लिएर विराटनगरका लागि हिँडेका थिए । उनी शनिबार बिहान ८ बजे बर्दिबास आएर जाममा फसे। दिउँसो ४ बज्दा पनि उनी त्यही जाममै भेट्टिए।
‘हामी नारायणघाटबाट समान लिएर विराटनगर दुई दिनमा पुगिसक्थ्यौं,’ ट्रक चालक भरतले भने,‘दुई दिन लाग्ने ठाउँमा चार दिनमा पनि भनेको ठाउँमा पुगिदैन।’ पुल भाँसिएपछि यात्रा लम्बिदा चालकहरुको खर्च दोब्बर हुने गरेकोे ना.ख. ८४८८ नम्बरका ट्रक चालक दिलिप शर्माले बताए।
‘खोलामा बाढी आयो भने खोलाबाट गाडी जाँदैन । बाटोमै अलपत्र परिन्छ । खर्च पनि धेरै हुन्छ,’ उनले भने,‘ १५ दिनदेखि यस्तो समस्याले हामी गाडी चालकलाई सताइरेको छ। घरमा कमाएर दिनु पर्ने रुपैंया घर नपुग्दै बाटैमै सिद्धिन्छ। जाममा परेपछि हामीलाई खाजा र खाना पसलेले महँगो गरिदिएर समस्यामाथि समस्या थपिएका छन्।’
महोत्तरी र धनुषाको बीचमा पर्ने रातु खोलाको पुलले पूर्वी नेपालका जिल्लालाई राजधानीसंग जोड्ने गर्छ। यो पुललाई राजधानीसंग पूर्वी नेपाललाई जोड्ने मेरुदण्डको रुपमा लिइन्छ।
दुई साता अघि बाढीका कारण भाँसिएको पुलले मालवाहक सवारी धनीहरु मर्कामा परेका छन्। प्रहरीलाई पनि सवारी सञ्चालनलाई व्यवस्थि तगर्न हम्मेहम्मे पर्ने गरेको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रविण पोखरेलले बैकल्पिक बाटो पनि उपयुक्त नहुँदा सवारी आवागमनलाई सहज बनाउन कठिनाई भएको बताए।