बाढीपीडितमा झाडापखाला र रोकथामका उपाय

बाढीपीडितमा झाडापखाला  र रोकथामका उपाय

अविरल वर्षापश्चात् तराईका सबै र पहाडका केही जिल्ला बाढीको चपेटामा परेका छन् । कैयन् मानिसले ज्यान गुमाएका छन् भने अरू बेपत्ता भएका छन् । मानिसहरू स्वास्थ्य समस्या र संक्रमणबाट जोखिममा परेका छन् ।

सफा र शुद्ध खाना, पिउने पानी, र राम्रो शौचालय नहुँदा बाढीपीडित समस्यामा परेका छन् । गर्मी र वर्षामा समस्यामा पार्ने किटजन्य, पानीजन्य रोगले बाढीपहिरोका बेला झन् बढी फैलिन्छन् ।

बाढीका बेला टाइफाइड, हैजा, आउँ, विषाक्त खाना, झाडापखाला, भाइरल फ्लु, पेटको दुखाइ, रुघाखोकी, बान्ता हुने, जन्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा हुने, चिलाउने, धागोजस्ता चिरा आउने, एलर्जी कन्जङटिभाइटिस तथा आँखाको संक्रमणका बिरामी बढ्ने गर्छन् । सर्पदंश, उच्च ज्वरो, छालाको रोग पनि बढी लाग्ने सम्भावना हुन्छ । काँचो, नपाकेको, वासी र चिल्लो खानाले 'फुड प्वाइजनिङ' हुन्छ । दिसाबाट जुका र चुर्ना सर्न सक्छ । अहिले नेपालका बाढी प्रभावित क्षेत्रमा यी रोग देखिन थालिसकेका छन् ।

पखाला के हो त ?

13_prakashhhhएक दिनमा तीन वा सोभन्दा बढी पटक पानीजस्तो पातलो दिसा लाग्नु झाडापखाला हो । झाडापखाला विषाणु, जीवाणु र परजीविका कारणबाट लाग्छ । आँखाले देख्न नसकिने कीटाणुका कारण खाना, पानी संक्रमित भएर पखाला लाग्छ । भाइरसभन्दा ब्याक्टेरिया र ब्याक्टेरियाभन्दा परजीवीबाट हुने झाडापखाला लामो समयसम्म रहने र उपयुक्त औषधि प्रयोग नगरुन्जेल निको नहुने हुन्छ । एक्कासि हुने झाडापखाला रोटा भाइरल, भी कोलेरी, सालमोनेला, क्लोस्ट्रोडियम आदि ब्याक्टेरिया, ई. हिस्टोलाइटीका, जियारडिया लाम्बलिया आदि प्रोटोजोबल र विषाक्त खानाबाट हुने गर्छ । पखाला संक्रमण एकैपटकमा धेरै जनामा हुने गर्छ ।

झाडापखाला हुँदा कुपोषणबाट जोगाउन सकेसम्म साविककै जस्तो खानेकुरा खान दिनुपर्छ । प्रशस्त मात्रामा घरेलु झोल कुरा खुवाउनुपर्छ र झाडापखालाबाट खेर गएका लवण, पोषकतत्वहरू र पानी क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर खुवाउनुपर्छ ।

धेरै नेपाली अस्पताल धाउन बाध्य पार्ने झाडापखाला आफैंमा रोग नभई अन्य रोगको लक्षण मात्र हो तथापि आजसम्म रोग पहिचान गर्ने चलन छैन । घरमै उपचार गरी अस्पताल नपुग्ने पनि धेरै हुन्छन् । सामान्यतः बालबालिकालाई पखाला बोतलमा हालेको दूध, फोहोर पानी, हात नधोइ खुवाउनाले र जंकफुडलगायत घरबाहिरका खानाले हुने गर्छ । बाढीपहिरोको बेलामा भने दूषित पानी पखालाको प्रमुख कारक बन्छ ।

 

 

कसरी थाहा पाउने ?

प्रायः सबै उमेरकालाई यो रोग लाग्ने भए पनि दीर्घरोगी, प्रतिरोधात्मक क्षमता कमजोर भएका, बालबालिका र वृद्धवृद्धालाई बढी सताउने गर्दछ । पटकपटक पानीजस्तो पातलो दिसा लाग्छ । आन्द्राको शोषण शक्ति घट्छ । दिसा बस्दा तेजीले उत्सर्जित हुन्छ । बान्ता हुन्छ र दिसामा नपचेको भोजनका टुक्रा आउँछन् र साह्रै गनाउने हुन्छ । पेट गड्याङगुडुङ गर्छ, दुख्छ । हातखुट्टा र मांसपेसी दुख्छन्, बाउँडिन्छन् र गल्छन् । रिँगटा लाग्छ, कमजोरीको महसुस हुन्छ, मुख र जिब्रो सुक्खा र फोहोर हुन्छन् ।

त्यसपछि आँखा गाडिने, गालाभित्र धसिन्ने हुन्छ । जलविनियोजन बढी भएमा पिसाब कम लाग्छ, रुँदा आँसु आउँदैन, बच्चाहरूको तालु धसिन्छ । आँखा सुक्खा हुन्छ, शरीर चिसो हुन्छ, पेटको छाला तन्काएर छोड्दा मुजा परिराख्छ र विस्तारै फर्कन्छ, नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुन्छ, रक्तचाप कम हुन्छ, श्वासप्रश्वास तीव्र हुन्छ । कडा खालको जलविनियोजनले खान, पिउन नसक्ने, लोलाउने, पिसाब बन्द हुने, बालबालिकाको तालु भासिने, रक्तसञ्चार रोकिने, फोक्सो र मुटुले काम नगर्ने, बेहोस् हुने साथै मृत्युसमेत हुन सक्छ ।

घरेलु उपचार

झाडापखाला हुँदा कुपोषणबाट जोगाउन सकेसम्म साविककै जस्तो खानेकुरा खान दिनुपर्छ । प्रशस्त मात्रामा घरेलु झोल कुरा खुवाउनुपर्छ र झाडापखालाबाट खेर गएका लवण, पोषकतत्वहरू र पानी क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर खुवाउनुपर्छ । तयार पारिएको पुनर्जलीय झोल जतिपटक पखाला लाग्छ, त्यति नै पटक खुवाउँदै जानुपर्छ । प्रयोग नभएको बेला पुनर्जलीय झोल राखेको भाँडो सफा बिर्कोले छोप्नुपर्छ । यसरी तयार पारेको जीवनजल २४ घन्टासम्म मात्र प्रयोग गर्न सकिन्छ ।

घरेलु उपचारबाट सामान्यतः तीनचार दिनमा झाडापखालाको अवस्था सुध्रिँदै जान्छ र ठीक हुन्छ । तीन दिनसम्म सुधारोन्मुख नभएमा, धेरै पातलो दिसा, तारन्तार बान्ता, ज्यादै तिर्खा, खान पिउन नसकेमा, ज्वरो, कम्पन, मुख खुट्टा सुन्निएमा, नाडी कमजोर र छिटोछिटो चलिरहेमा, रक्तचाप कम भएमा दिसामा रगत देखिएमा तथा मुखबाट पुनर्जलीय उपचार गर्न नसकिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लगि चिकित्सकीय उपचार लिनुपर्छ ।

रोकथाम

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । खानेपानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गर्नुपर्छ । धमिलो पानी भए पहिला फिटकिरी सफा पानीमा घोलेर त्यसका थोपाथोपा फोहोर पानीमा हाल्दा हिलो, माटो र फोहोर थिग्रिएर पानी सफा हुन्छ । धमिलो हटाउन नसके १५ मिनेट उमाले माटो थेग्रिएर पानी सङ्लो र शुद्ध हुन्छ ।

पानी शुद्धीकरण गर्न सबैभन्दा उत्तम र सरल उपाय उमाल्ने नै हो तथापि उमाल्न सम्भव नभए धमिलोपना हटाएपछि एक लिटर पानीमा दुईतीन थोपा क्लोरिन झोल वा ट्याब्लेट राखेर वा आधा घन्टा त्यत्तिकै छाडे शुद्ध हुन्छ । पानीलाई प्लास्टिकको सेतो बोतलमा राखी सूर्य प्रकाशसँग ४५ डिग्रीमा चर्काे घाममा ६ घन्टा तथा बादल लागेका बेला दुई दिन राख्ने-सोडिस विधिबाट पनि पानी ९० प्रतिशत शुद्धीकरण गरी पिउन र खाना, तरकारी पखाल्न सकिन्छ ।

सकेसम्म शौचालयमा मात्र दिसापिसाब गर्नुपर्छ । घर र पानीको मुहानदेखि शौचालय निश्चित दूरीमा हुनुपर्छ । खाना खानुअघि र दिसापिसाब धोएपछि साबुन पानीले मिचिमिची हात धुने गर्नुपर्छ । वासी र झिँगा भन्केका खानेकुरा नखाई माटोमुनि गाड्नुपर्छ । दीर्घरोगीहरूले नियमित औषधी सेवन गर्न जरुरी छ । सरुवा रोगबाट बच्न सकेसम्म भीडभाडमा नबस्ने र बस्नैपरेमा कम्तीमा एक मिटरको दूरी कायम गर्नुपर्छ । व्यक्तिगत सरसफाइ र वरिपरिको वातावरण सफा राखी रोगमुक्त हुन जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.