सडक नबन्दा सास्ती
बर्दिबास : ‘न खान ठेगान छ न त बस्न नै, हाम्रो यात्रा अनिश्चित छ हजुर', ट्रक चालक जीवन मगरले भने, ‘दिनहुँ जाम पर्छ । कहिले पानी खानै पाइन्न ।' महोत्तरी र धनुषा जोड्ने रातु खोलाको पुल भासिएपछि मालवाहक सवारी साधनका चालकको भोगाइ जीवनको भन्दा फरक छैन । साउन २८ गते मुसलधारे वर्षापछिको बाढीले पिलर भासिएपछि पुलबाट मालवाहक गाडी सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । यात्रुवाहक सवारी साधन मात्र पुलबाट चल्छ । त्यो पनि घन्टौं जाम झेल्नुपर्छ ।
खोलामा वैकल्पिक बाटो बनाइएको छ तर बाढीले दिनहुँ बगाउँछ । यो क्रम एक दिन होइन, दुई दिन होइन, १५ दिनदेखि लगातार चलेको छ । यही कारण महोत्तरीको बर्दिबास र धनुषाको लालगढमा दिनभर सयौं सवारी साधनको लाम लाग्छ । शुक्रबार साँझ नारायणघाटबाट ३० क्विन्टल चाउचाउको भारी लिएर ट्रक चालक भरत मगर विराटनगरतर्फ हिँडेका थिए । उनी शनिबार बिहान ८ बजे बर्दिबास आएर जाममा फसे । दिउँसो ४ बज्दा पनि उनी लाम लागेको ट्रकको स्टेयरिङ समाएरै बसिरहेका भेटिए । कति बेला बाटो खुल्ला अनि गन्तव्यमा जाऊँला भनेर प्रतीक्षामा थिए, उनी । खोलामा बाढीका कारण वैकल्पिक बाटो भने अवरुद्ध थियो ।
रातु खोलामा वैकल्पिक बाटो बनाइएको छ तर बाढीले दिनहुँ बगाउँछ । यो क्रम एक दिन होइन, दुई दिन होइन, १५ दिनदेखि लगातार चलेको छ ।
‘हामी नारायणघाटबाट सामान लिएर विराटनगर दुई दिनमा पुग्थ्यौं', उनले भने, ‘अहिले चार दिनमा पनि भनेको ठाउँमा पुगिँदैन ।' दिनभर सडकमै रोकिनुपर्दा खर्च दोब्बर हुने गरेको अर्का ट्रक चालक दिलीप शर्माले बताए ।
‘बाढी आयो भने खोलाबाट गाडी जाँदैन । बाटोमै अलपत्र परिन्छ । खर्च पनि धेरै हुन्छ,' उनले भने, ‘१५ दिनदेखि यस्तो समस्याले हामी गाडी चालकलाई सताइरहेको छ । कमाएर घर लैजानुपर्ने रकम बाटोमै सकिन्छ । जाममा परेपछि पसलेले खाजा र खानाको भाउसमेत महँगो बनाउने गरेका छन् ।'
दुई साताअघि भासिएको पुलका कारण मालवाहक सवारी साधनका चालक मर्कामा परेका छन् । ट्रकधनी प्रेम थापाले पुल भासिएर सवारी साधन गन्तव्यमा पुग्ने समय लम्बिएको सुनाए । ‘सवारीधनीको मूल आयस्रोत भनेको गाडीबाट आउने भाडा नै हो । पुल भासिएर यात्रा लम्बियो । आम्दानीचैं दुई गुणाले घट्यो । हामीलाई त घाटै घाटा छ नि, के गर्ने', उनले भने, ‘एक दिन हो र ? १५ दिनदेखि हामीले दुःख भोगिरहेका छौं ।'
बर्दिबास इलाका प्रहरीका डीएसपी प्रवीण पोखरेलले खोलाको वैकल्पिक बाटो बाढीले पटक-पटक बगाउने गरेको जानकारी दिए । ‘बाढी घट्छ, बाटो बनाइन्छ', डीएसपी पोखरेलले भने, ‘फेरि बाढीले बाटो बगाउँछ । प्रहरीको अधिकांश समय सवारी साधनको लाम व्यवस्थापनमै जान्छ ।'