हिमालसम्बन्धी छुट्टै पाठ्यक्रम
काठमाडौं : नेपाल माउन्टेन एकेडेमीले नेपालमै पहिलोपटक हिमालसम्बन्धी छुट्टै पाठ्यक्रम पढाउने तयारी गरेको छ । एकेडेमीले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिई माउन्टनियरिङ स्टडीमा ब्याचलर तहको कक्षा (बिएमएस) सञ्चालन गर्न लागेको हो ।
पहिलो सेमेस्टरमा ३० जना विद्यार्थी अध्यापन गराउने तयारी थालेको एकेडेमीका कार्यकारी निर्देशक कृष्णकुमार निरौलाले बताए । कुनै पनि विषयमा ४५ प्रतिशतभन्दा माथि अंकसहित प्रमाणपत्र तह उत्तीर्ण गरेकाले हिमालसम्बन्धी अध्ययन गर्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए । दुई वर्षयता तयारी गरिरहेको एकेडेमीले माघमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । एकेडेमीले ललितपुरको सातदोबाटोमा कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । भदौ २२ सम्म आवेदन लिने र २७ गते सेन्ट्रल म्यानेजमेन्ट एड्मिसन टेस्ट (सीम्याट) परीक्षा उत्तीर्ण हुने ३० जना विद्यार्थी भर्ना लिएर तत्काल अध्यापन थाल्ने तयारी एकेडेमीले गरिरहेको छ ।
चारबर्से पाठ्यक्रम पूरा गर्न नेपालीलाई ६ लाख, सार्क देशका बासिन्दाका लागि ८ लाख र त्यसबाहेक अन्य देशका लागि १२ लाख रुपैयाँ शैक्षिक शुल्क प्रस्ताव गरेको छ । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका महासचिव फूर्वानाम्गेल शेर्पाले हिमाल भएका विश्वका २५ देश र अन्य देशबाट समेत पठनपाठनका लागि आउन इच्छुक भएको बताए । एकेडेमीका अनुसार पाकिस्तान, भारत, भुटान, स्विजरल्यान्ड, फ्रान्सका इच्छुक विद्यार्थीले आवेदन दिएका छन् ।
८ सेमेस्टरमा पूरा गर्नुपर्ने पाठ्यक्रममा सैद्धान्तिक र प्रयोगात्मक दुवै कक्षा हुनेछन् । पाँचौं सेमेस्टरमा फ्रान्सेली भाषा, हिमाल, वातावरण र पर्यटन क्षेत्रको अध्ययन, आरोहणमा सुरक्षा, हिमालको आधारभूत आरोहण छन् । छैटौं सेमेस्टरपछि पर्यटन कानुन, आरोहण व्यवस्थापन, मानवीय स्रोत व्यवस्थापनदेखि ६-७ हजार मिटर अग्ला हिमालको सफल आरोहणसमेत गर्नु पर्नेछ ।
पाठ्यक्रमका विशेषता
- बीएमएस अध्ययन पूरा गर्न ६-७ हजार मिटर अग्ला हिमाल आरोहण गर्नुपर्ने ।
- प्रत्येक सेमेस्टरमा पैदलयात्रा र फिल्ड रिपोर्टिङ गर्नुपर्ने ।
- वालक्लाइम्बिङ र साना हिमाल आरोहण गर्नुपर्ने ।
- हाइअल्टिच्युड व्यवस्थापन र मानवीय व्यवस्थापन गर्नुपर्ने ।