सञ्चालनमा आयो उरुतोरा रेस्टुरेन्ट
काठमाडौं : काठमाडौंको बालुवाटारमा जापानी चेन रेस्टुरेन्ट उरुतोरा रेस्टुरेन्ट सञ्चालनमा आएको छ । तीन करोड रुपैयाँ लागतमा आइतबारदेखि सञ्चालनमा आएको रेस्टुरेन्टले नेपालीमाझ जापानी परिकारको स्वाद पस्किनेछ ।
नेपालीका साथै जापानी लगानीकर्ताको संयुक्त लगानीमा रेस्टुरेन्ट सञ्चालनमा आएको हो । जापानमा १२ वटा शाखा विस्तार गरिसकेको रेस्टुरेन्टले यसलाई नेपालभरि विस्तार गरेको हो । जापानमा ग्राहकलाई दिँदै आएको सेवासुविधा एवं परिकार नेपाली ग्राहकमाझ पनि प्रस्तुत गरिने रेस्टुरेन्टले जनाएको छ । रेस्टुरेन्टमा माछाको आइटम ‘सुसी’ तेरियाकी चिकेन, राइस पउल, सेफ पेसललगायत जापानी परिकार उपलब्ध हुनेछन् ।
रेस्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सय जनालाई एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेस्टुरेन्टमा जापानी खानाका अतिरिक्त नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए ।
जापानमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन रेस्टुरेन्टमा लगानी गरेको बताए । जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिने यस रेस्टुरेन्टमा जापानिजले पनि सेवा दिनेछन् ।
नेपालमा घुम्न आउने जापानिजले उताकै स्वाद रुचाउने र जापानमा बसेर फर्किएका तथा जापानिज खानाका पारखीलाई यस रेस्टुरेन्टले थोरै भए पनि सहयोग पुग्ने विश्वास प्रबन्ध निर्देशक केन्जी मिजुगुचीको छ । रेस्टुरेन्टले नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेस्टुरेन्टको शाखा खोल्ने योजना बनाएको उरुतोरा नेपालका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।